नेविसंघ अध्यक्ष दुजाङलाई बर्खास्त गर्न माग (पत्रसहित)
काठमाडौं । पछिल्लो समय नेपाली कांग्रेसको नर्सरीको रुपमा रहेको नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्रको विवाद छताछुल्ल भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिएसँगै अन्य प्रतिस्पर्धा संगठनसँग कसरी प्रतिस्पर्धा गर्ने भन्ने विषयमा छलफल हुनुको साटो नेविसंघमा देखिएका गुट उपगुट भित्रै कुटाकुट भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले नेविसंघमा दुजाङ शेर्पालाई महाधिवेशन गराउने जिम्मेवारीसहित अध्यक्ष तोकेका थिए । महाधिवेशन गराउनुको साटो दुजाङले विभिन्न जिल्लाहरुमा मनोमानीरुपमा अध्यक्ष तोक्दै हिँडेका छन् ।
अहिले स्ववियु निर्वाचनमा संसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघलाई पनि सवैभन्दा धेरै ठाउँमा जिताउनु पर्ने चुनौती रहेको छ । तर, नेविसंघ भित्र पनि संस्थापन र संस्थापन इतर पक्ष रहेका छन् ।
जसका कारण संस्थापन पक्षका विद्यार्थी नेताहरुले इतर पक्षका नेता तथा नेविसंघका पूर्व कोषाध्यक्ष शिव रिमाललाई कीर्तिपुरमा कुटेर घाइते गराएका छन् । उनको उपचार भइरहेको छ ।पछिल्लो समय दुजाङले जिल्ला अध्यक्ष तोक्दा मनोमानी गरेपछि पार्टीका नेताहरुले नै विरोध गर्न थालेका छन् भने कतिपय ठाउँमा समानान्तर कमिटी नै गठन गरिएको छ ।
दुजाङले देउवा पक्षीय पार्टी सभापति भएका जिल्लामा उनैले सिफारिस गरेका व्यक्तिलाई अध्यक्ष तोकेका छन् भने इतरपक्षका सभापति भएका जिल्लामा जिल्ला सभापतिले गरेको सिफारिस विपरित मनोमानी ढंगले अध्यक्ष तोकेका हुन् ।
यसैक्रममा दुजाङले दोलखा जिल्लामा यसअघि कुनै पनि कमिटीमा नरहेका व्यक्तिलाई अध्यक्षको जिम्मेवारी दिएपछि त्यहाँका सभापति वर्मा लामाले नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङलाई नै बर्खास्त गर्न माग गरेका छन् ।
कांग्रेस दोलखाले नेविसंघ जिल्ला अध्यक्षका लागि सहमतिमा सौगात थापाको नाम पठाइए पनि नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले दोलखामा कुनै साधारण सदस्यसमेत नरहेको व्यक्तिलाई नेविसंघ जिल्ला अध्यक्ष तोकेको भन्दै सभापति लामाले राजीनामा माग गरेका हुन् ।गत पुस १४ गते नेविसंघ केन्द्रीय समितिले कांग्रेस दोलखालाई पत्र पठाएर जिल्ला सभापतिको नाम पठाउन भनिएको थियो । जसअनुसार माघ १० गते सौगातको नाम पठाइएको लामाले जानकारी दिए ।
पार्टीको जिल्ला तहले गरेको सर्वसम्मत निर्णय र सिफारिस लत्याई नेविसंघ अध्यक्ष शेर्पाले व्यक्तिगत स्वार्थ र काठमाडौंतिरको निकटताको आधारमा जिल्ला अध्यक्ष तोक्ने र प्रत्येक जिल्लामा विवाद सिर्जना गर्ने गरेको भन्दै दोलखा पार्टी सभापति वर्मा लामाले केन्द्रीय पार्टी सभापति शेरबहादुर देउवालाई पत्र लेख्नु लेखेका हुन् । साथै सभापति बर्माले जिल्ला कार्यसमितिले निर्णय गरेअनुसार नेविसंघ जिल्ला सभापति तोक्नसमेत माग पनि गरेका छन् ।
हेरौं पत्रमा के छ त ?