२४ घण्टाभित्र पशुपतिका अतिक्रमित घरटहरा हटाउन सूचना जारी
सार्वजनिकस्थल अतिक्रमण गरी बनाएका घर टहरा हटाउने अभियान सुरु गरेको काठमाडौं महानगरपालिकाको ध्यान हिन्दूहरुका आरध्यदेव पशुपतिनाथ मन्दिरमा केन्द्रीत भएको छ ।
पशुपतिनाथ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचना २४ घन्टाभित्र हटाउन काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको छ ।
महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा निर्माण गरिएका संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशनसहितको अल्टिमेटम दिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले जानकारी दिए ।
पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक ५० हजार भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ ।
यसैगरी पशुपति क्षेत्रमा २० भन्दा धेरै सटर विना दर्ता सञ्चालन भइरहेको महानगरको निरीक्षणमा भेटिएको बताइएको छ ।
धर्मशालाले नक्सा पास विना नै संरचना निर्माण गरेको समेत पाएकाले त्यस्ता संरचना हटाउने महानगरले जनाएको छ । बुधबार कोषले महानगरलाई एक पत्र लेख्दै पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहा नदिइ अवैध रुपमा निर्माण गरिएका संरचना, सम्झौता विपरितका व्यवसाय र अतिक्रमित संरचना हटाउन अनुरोध गरेको थियो ।
सोही अनुसार महानगरले बिहीबार अनुगमन गर्दै २४ घण्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो ।