त्रिकोणात्मक सिरिजमा यूएईसँग नेपाल पराजित
काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल घरेलु टोली यूएईसँग पराजित भएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा नेपाल यूएईसंग ६८ रनले पराजित भएको हो ।
यूएईले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको नेपाल ३१ ओभर ५ बलमा अलआउट हुदै १ सय ३९ रनमै समेटियो । नेपालका कुशल मल्लले ५३ बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले भने सन्दीप लामिछा २६ रनमा अविजित रहे ।
त्यस्तै आसिफ शेखले १७ रन बनाए । नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यूएईका रोहन मुस्ताफा र कार्तिक मैयप्पनले समान ३÷३ तथा जुनेद सिद्धिकी २ तथा जाहोर खान र सबिर अलिले समान १÷१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७ रन बनायो । यूएईका लागि ओपनर आसिफ खानले ९९ बलमा ७२ रन बनाए । उनले ५ चौका र ३ छक्का प्रहार गरे । रोहन मुस्ताफले ७६ बलमा अविजित ५२ रनको अर्धशतकीय ईनिङ खेल्दा आर्यन लाक्राले २८ रन बनाए । कप्तान सीपी रिजवानले २२ तथा वृत्य अरबिन्द १८ रनमा आउट भए ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चिएर ३ विकेट लिए । करण केसी,कुशल मल्ल र आरिफ शेखको नाममा समान १÷१ विकेट रह्यो ।
जितपछि युएई ३० खेलमा १४ मा जित र १३ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ । पराजित नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित २८ अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ ।