युएईमा नेपालको दोस्रो जित, पीएनजी ३ विकेटले पराजित
दुबई / आईसीसी विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत विदेशमा अन्तिम सिरिज खेलि रहेको नेपालले दोस्रो जित दर्ता गरेको छ । युएई र पपुवा न्युगिनी (पीएनजी)सँग खेलिरहेको नेपालले दुवै जित पीएनजीविरुद्ध निकालेको हो । अब नेपालले विदेशी भूमीमा एउटा खेल खेल्न बाँकी छ ।
नेपालले अन्तिम खेलको रुपमा युएईसँग खेल्ने छ । युएईसँग विहीबार भएको खेलमा भने नेपालले पराजय भोगेको थियो । तर, अघिल्लो दिनको पराजय भुल्दै शुक्रबार पीएनजीविरुद्ध ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । धरमराएको पारिलाई नेपालका आशिफ शेख र सन्दीप लामिछानेले सहज अवतरण गराउन सफल भए । यी दुईबीच कीर्तिमानी ७७ रनको नटआउट साझेदारी भएको थियो ।
पीएनजीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो ।
दुबई इन्टरनेसनल क्रिकेट मैदानमा पीएनजीले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । नेपाललाई १७९ रनको लक्ष्य दिँदै पीएनजी ४९.२ ओभरमा अल आउट भएको थियो ।
जवाफी ब्याटिङमा नेपालको सुरुआत भने राम्रो रहेन । ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए । अर्का ओपनर आशिफ शेखले भने अन्तिमसम्म मैदानमा टिके । उनको १३० बलमा अविजित ८६ रन बनाए ।
उनले एक छक्का र दुई चौका प्रहार गरे । ५० बल खेलेका सन्दीप लामिछानेले अविजत ३५ रन बनाए । २६ बल खेलेका कुशल मल्लले दुई चौकाको मद्दतमा २२ रन बनाए । नेपालका अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् । पीएनजीका असाद भालाले सर्वाधिक ३ विकेट लिए भने सेमो कामेएले र सेसे बाउले समान दुई दुई विकेट लिए ।
त्यस्तै, पीएनजीका ओपनर टोनी उराले सर्वाधिक ३९ रन बनाएका थिए । ५१ बल खेलेका टोनीले दुई चौका र एक छक्का प्रहरा गरे भने ४३ बल खेलेका अर्का ओपनर किप्लन डोरिगाले तीन चौकाको मद्दतमा २६ रन बनाए ।
नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिँदा सन्दीप लामिछाने, करन केसी, आरिफ शेख र कुशल मल्लले समान एक एक विकेट हात पारे ।