नेपाल यू–१९ क्रिकेट विश्वकपमा छनोट
काठमाडौं । नेपालले यू–१९ क्रिकेट विश्वकप खेल्न पाउने भएको छ ।
दिपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि बिहिबारको निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको हो ।
यो जितसँगै नेपालले आठ बर्षपछि उमेर समूहको विश्वकप खेल्न लागेको हो । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो।
यूएईको अजमानमा टस हारेर ब्याटिङ गरेको नेपालले देव खनालको अर्धशतक सहयोगमा १ सय ९१ रनको योगफल बनाएको थियो ।
एक सय ९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो । नेपालले ४८.५ ओभरमा अलआउट हुदैँ १ सय ९१ रन बनाएको थियो ।
नेपालका कप्तान देव खनालले ८४ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान खनालले ३ चौका र १ छक्का प्रहार गरेका थिए । देवले ७५ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए ।
विशाल विक्रम केसीले ५० बलमा ३८ रन बनाए । केसीले ५ चौका प्रहार गरेका थिए ।
उत्तम थापा ३६ रन बनाएर आउट भए । ६ ओभर १ बलमा ३ विकेट गुमाईसकेको नेपालका लागि थापा र कप्तान खनालले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।
दिपेश कँडेलले १५ तथा हेमन्त धामीले १३ रन बनाए ।