राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि आचार संहिता लागू
काठमाडौं/ मार्च ९ तारिखमा नेपालमा हुन लागेको राष्ट्रपति पदको चुनावका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक विज्ञप्ति जारी गर्दै मार्च १९ तारिखसम्म आचार संहिता लागू हुने जनाएका छन् । मार्च ९ तारिख (फागुन २५) राष्ट्रपति र मार्च १७ तारिख (चैत ३) मा उपराष्ट्रपतिको चुनाव हुँदैछ ।
आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई लाग्नेछ ।
निर्वाचनका संघीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता छन् ।
राष्ट्रपति पदको चुनावका लागि उम्मेदवारले अधिकतम ४ लाख रुपैयाँ खर्च गर्न पाउने छन् । तर, त्यो खर्चविवरण भने अन्तिम नतिजा प्रकाशित भएको ३० दिन भित्र बुझाउनु पर्ने प्रावधान तोकिएको छ ।
उम्मेदवारले सवारी साधनमा र गोष्ठी तथा अन्तरक्रियामा एक एक लाख खर्च गर्न पाउने छन् भने सम्पर्क कार्यालय सञ्चालनमा ६० हजार, प्रतिनिधि परिचालनमा ४० हजार, विविधमा २४ हजार, सवारी इन्धन, प्रचार प्रसार सामग्री, अन्य प्रचार प्रसार, छापा एवम् विद्युतीय माध्यममा २०÷२० हजार, ढुवानीमा १५ हजार र मतदाता नामावली खरिदमा १ हजार खर्च गर्न पाइने व्यस्था रहेको छ ।
राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मंगलबार अन्तिम नामावली सार्बजनिक गरेको थियो । राष्ट्रपतिको चुनावमा नयाँ बनेको सत्तारुढ आठदलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेको समर्थनमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा रहेका छन् । मतदानस्थल भने संघीय संसद्को प्राङ्गन नयाँ वानेश्वरमा तय गरिएको छ ।