एनआरएनए अमेरिकाको सदस्यता खुलाउन अझै अन्यौल
पेन्सिलभेनिया,अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसीसी) अमेरिकाको नयाँ सदस्यता र नविकरणको कामकाज ठप्प भएको शुक्रवार दुई वर्ष दुई दिन पुरा भएको छ।
सन् २०२१ फेब्रुअरी १५ तारिकमा एनआरएनए अमेरिकाको सदस्यता वितरण रोकिएको थियो। त्यो समय सदस्यता वितरण समितिका संयोजक बुद्दि सुवेदी थिए।
संयोगवस उनै सुवेदीले अध्यक्षमा चुनाव जिते। उनको कार्यकाल अव किनारा तर्फ उन्मुख छ। विडम्वान, सदस्यता सम्वन्धी गतिविधि शुन्य अवस्थामा छन्।
एनआरएनएमा पछिल्ला वर्षहरुमा जे जति विवाद देखिएका छन्। ती मध्ये मुख्य कारण नै सदस्यता वितरण हो र त्यसको केन्द्रबिन्दु अमेरिका हो। त्यही अमेरिकाले अब नयाँ सदस्यता वितरण र नविकरण कहिले देखि गर्ने स्वयम अध्यक्ष बुद्दि सुवेदी सँग पनि ठोस जवाफ छैन्।
यस अगाडि डिसेम्बरमा समाज टाइम्स सँगको कुराकानीमा सुवेदीले नयाँ वर्षलागे सँगै सदस्यता खुलाउने बताएका थिए। (यहाँ हेर्नुहोस त्यस सम्वन्धि समाचार)
अध्यक्ष सुवेदीले गरेको दाबीले पनि ४५ दिन काटेको छ। तर अझै उनी सदस्यता कहिले देखि खुलाउने भनेर भन्न सक्ने अवस्थामा छैनन्।
आफुहरु भन्दा पनि आइसीसीकै कारण अन्यौल रहेको अध्यक्ष सुवेदीको भनाई छ। ‘एमआइएसमा जानका लागि जीडिपिआर कम्पलाइन्स दिनु भएको छैन। हामी आइसीसी सँग नियमित सम्पर्कमा छौ’ समाज टाइम्स सँग सुवेदीले भने।
उनले आइसीसीको सदस्यता बन्ने सिस्टममा एक पछि अर्को समस्या आएको दावी गरे।
‘हिजो बेलुका पनि राति ११ बजेर ४५ मिनेट सम्म आइसीसीको भेण्डर सँग हाम्रो आइटी टिमको बैठक भएको थियो’ सुवेदीले भने, ‘आजबाट सदस्यता खोल्ने भनेर तयारी गर्दै गर्दा त्यहाँ के लुपहोल भेटियो भने पेमेन्ट शुन्य हुदाँ पनि सदस्यता बन्न सक्ने देखियो,त्यस पछि हामी रोकियौ।’
आइसीसीको सिस्टममा अमेरिकाको सदस्य अन्यदेशबाट पनि बन्न मिल्ने भएकाले त्यसमा पनि काम गर्नु पर्ने भएको सुवेदीको भनाई छ।
‘हाम्रो आइटी टिमले सबै लुपहोलहरु हेर्दै आएको छ, अस्ति सरियाबाट पनि अमेरिकाको सदस्य बन्न खोजेको हामीले पायौं, हामीले अमेरिकाको ठेगना र अमेरिकी निकायबाट मान्यता प्राप्त डेविट वा क्रेडिट कार्ड बाहेक अन्यबाट सदस्य बन्न नपाउने भनेका छौ।’ उनले भने।
आफुहरुले जनवरी एक तारिकबाट नै सदस्यता खुलाउने भनेको तर खुलिसके पछि समस्या आउनु भन्दा अहिले नै परिपक्क हुन खोज्दा ढिलो भएको उनको भनाई छ।
‘हतारिएर विभिन्न लुपहोल छोडेर सदस्यता खुलाउदा भोलि अझ ठूलो समस्या आउन सक्छ, साथीहरुले काम गरिरहेका छन्।’ उनले भने।
सुवेदीले ठ्याक्कै यही दिनबाट सदस्यता खुलाउने भनेर अझै बन्न सक्ने अवस्थामा नरहेको बताए।
एनआरएनए अमेरिकाको विधानमा जुलाई तेस्रो साता भित्र निर्वाचन हुनु पर्ने भन्ने व्यवस्था छ। विधान अनुसार मे १८ भित्रमा सदस्यता बनाइ सक्नु पर्ने हुन्छ। त्यस पछि बनेका सदस्यले जुलाईमा हुने निर्वाचनमा मतदान गर्न पाउदैनन्।
यसै बीच एनआरएनए आइसीसीका कार्यकारी अध्यक्ष रबिना थापाले एमआइएस प्रणालीका बारेमा आइतवार एनसीसीका अध्यक्षहरु सँग विषेश बैठक आह्वान गरिएको बताइन।
‘अझै केही एनसीसीहरुमा आइसीसीको एमआइएस प्रणालीका बारेमा शंका देखिएको छ, त्यो भ्रम हटाउन फेब्रुअरी १९ तारिकमा सबै एनसीसी अध्यक्षहरुलाई बैठकमा बोलाएका छौ, त्यस पछि सदस्यता खुल्छ।’ समाज टाइम्स सँग रबिनाले भनिन्। यद्यपी १७ एनसीसीहरुले सदस्यता वितरण र नविकरण शुरु गरि सकेका छन्।
र यो पनि …
एनआरएनए अमेरिका : सुर्य लम्साल पक्षको सदस्यता खुल्यो, बुद्दि सुवेदीको टुङ्गो छैन्