कांग्रेस महामन्त्री गगन थापाले किन रद्द गरे अमेरिका भ्रमण
पेन्सिलभेनिया,अमेरिका । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वनिर्धारित आफ्नो अमेरिका भ्रमण रद्द गरेको जनाएका छन्।
महामन्त्री थापा फेब्रुअरीमा २५ तारिक अमेरिको क्यालिफोर्नियामा हुने ‘तेस्रो युवा सम्मेलन’ मा प्रमुख अतिथिको रुपमा सहभागि हुन आउने कार्यक्रम झण्डै एक महिना अगाडि नै तय भएको थियो।
गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत युवा विभागले यो सम्मेलन आयोजना गर्न लागेको हो।
जनवरीको दोस्रो साता आयोजकले पत्रकार सम्मेलन गरि कांग्रेस महामन्त्री थापाको सहभागिता पक्का गरेको थियो।
तर कार्यक्रमको दुई साता अगाडि आइतवार (फेब्रुअरी १२ तारिक) महामन्त्री थापाले आफु युवा सम्मेलनमा सहभागि हुन नसक्ने जानकारी दिएका हुन्।
एनआरएनए अमेरिका र क्यानडा द्वारा संयुक्त रुपमा आयोजित ‘नेपालको समृद्धिमा गैरआवासीय नेपालीको भुमिका,नागरिकता निरन्तरता एवं सम्पत्ति अधिकार’ विषयक अन्तर्क्रियामा थापाले अमेरिका भ्रमण रद्दबारे खुलाएका हुन्।
कार्यक्रमलाई सम्बोधान गर्ने क्रममा थापाले भने,’नेपालमा राष्ट्रपतिको चुनावको समय एकै पटक परेको हुनाले आउन सकिन त्यसैले आजको फोरम मेरा लागि धेरै उपयुक्त र आवश्यक पनि रह्यो।’
महामन्त्री थापा निकट कांग्रेसका एक केन्द्रिय सदस्यका अनुसार यस अगाडि प्रधानमन्त्री चयनको समयमा महामन्त्रीद्वयको (गगन थापा र विश्वप्रकास शर्मा) भूमिकालाई लिएर पार्टी भित्र र बाहिर आलोचना भएपछि उनी यस पटक सजग भएका हुन्।
कांग्रेस सभापति तथा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले फोन नगरेको भन्दै महान्त्रीद्वय पोखरामा भएको पुस्तक मेलामा बक्ता हुन पुगेका थिए। दलहरु बीच कुरा नमिल्दा चुनाव तिरेर ठूलो पार्टी भएको कांग्रसले केन्द्र र प्रदेश दुबै तर्फ सरकारमा जाने अवसर खेर फालेको थियो।
यस पटक राष्ट्रपतिको निर्वाचनलाई दलहरुले जीवनमरणको सवाल बनाएका छन्। कांग्रेस र नेकपा एमाले दुबैले राष्ट्रपतिमा दावी गरेका छन्। सरकारको नेतृत्व गरेको माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अडान राखेको छ।
‘खासमा पहिला अमेरिका भ्रमण पक्का गर्दा नेपालमा राष्ट्रपति चुनावको मिति तोकिएको थिएन, तर अहिले राष्ट्रपतिको चुनावलाई सबै पार्टीले उत्तिकै महत्वदिएको समयमा महामन्त्री विदेशमा जानु उपयुक्त हुदैन भन्ने भएर यो निर्णय लिइएको हो।’ ती केन्द्रिय सदस्यले भने।
तेस्रो युवा सम्मेलन फेब्रुअरी २५ तारिक क्यालिफोर्नियाको बर्कलेमा रहेको ‘क्यालिफोर्निया विश्वविद्यालय’ मा हुने छ।