‘सर्वोच्चको फैसला एनआरएनका लागि मौका’ : कांग्रेस महामन्त्री थापा
पेन्सिलभेनिया,अमेरिका। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सर्वोच्च अदालतको पछिल्लो फैसलालाई गैरआवासीय नेपालीले मौकाको रुपमा लिनु पर्ने धारणा राखेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सम्वन्धी मुद्दामा सर्वोच्च अदालतको फैसला पछि प्रवासी नेपाली तरङ्गित छ।
सर्वोच्चले रविले अमेरिकी नागरिकता लिए पछि खारेजमा भएको नागरिकता प्रयोग गरि नेपालमा भए गरेका कामलाई अवैध भनेको छ। जसका कारण उनले उपप्रधान तथा गृहमन्त्री, सांसद पद र पार्टी सभापति सबै गुमाएका थिए।
सर्वोच्चले विदेशी नागरिकता त्यागेर मात्र नहुने नेपाली नागरिकता पुन प्राप्त गर्नु पर्ने भनेको छ। सर्वोच्चको फैसला पछि, विदेशको नागरिकता हुदाँ हुदै निस्क्रिय रहेको नेपालको नागरिकता प्रयोग गरि नेपालमा किनिएका सम्पत्ति अब के हुने भन्ने चासो बढेको छ।
प्रतिनिधि सभा सदस्य समेत रहेका कांग्रेस महामन्त्री थापाले अब बन्ने कानुनमा यस बारेमा थप व्याख्या आवश्यकता रहेको औल्याएका छन्।
थापाले एनआरएनए नागरिकता ऐन जारी नभएका कारण विदेशी नागरिकता र पासपोर्ट लिएका तर नेपाली नागरिकता नै प्रयोग गरेर जोडिएका सम्पतिका बारेमा अब सम्वोधन हुनु पर्ने जोड दिए।
‘थप व्याख्या गर्न मौका दिएको छ।’ नेपालको समृद्धिमा गैरआवासीय नेपालीको भुमिका,नागरिकता निरन्तरता एवं सम्पत्ति अधिकार विषयक अन्तर्क्रियामा महामन्त्री थापाले भने ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका र क्यानडाले आइतवार संयुक्त रुपमा भर्चुअल मार्फत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो।
‘अमेरिकी नागरिक भइरहेको बेलामा नेपालको नागरिकता प्रयोग गरेर सम्पत्ति राख्नु भयो, यसको के हुन्छ भन्ने छ, यसमा अब बन्दै गरेको कानुनमा बोल्नु पर्छ, हामी सँग मौका छ।’ थापाले भने, ‘हामीले छलफल गरौ न कानुनी अडचन आउदा के गर्ने।’
मत हाल्ने र चुनिन पाउने बाहेक अन्य सबै कुरा एनआरएनए नागरिकताले दिने भन्दै महामन्त्री थापाले संसदको यसै अधिवेशनबाट नागरिकता ऐन पारित गराउन लाग्नु पर्नेमा जोड दिए।
‘यो संसदको अधिवेशन दुई तीन महिना बाँकी छ, हामी पनि लागि रहेका छौ, हाम्रो पार्टीको नेतालाई, प्रधानमन्त्रीलाई भेट्दा सबै ठाँउमा मैले भनेको छु, यो शत्रबाट केही महत्वपूर्ण कानुन पारित हुनु पर्छ, त्यो मध्ये नागरिकता ऐन पनि हो।’ थापाले भने।
उनले नागरिकता ऐन पारित नहुदा देश भित्रै प्रभावितको संख्या ठूलो भएको बताए। ‘नेपालमा ठूलो समस्या त नागरिकता नै प्राप्त नगरेकाको छ, आमाको नामबाट नागरिकता प्राप्त गर्नु पर्ने कयौ मान्छेहरु छन्। अनागरिक भएर बस्नु पर्ने त्यो सानो संख्या छैन।’
महामन्त्री थापाले सर्वोच्च अदालतबाट कुनै नयाँ फैसला नभएको बताए। ‘कुनै नयाँ कुरा भएको छैन । ऐन नबन्दा आएका समस्या हुन । त्यसमा सबै लाग्नु पर्छ । म पनि लाग्छु।’
हिजोको दिनमा देश छोड्नेलाई के को परिचय पत्र भन्ने स्थितिबाट अहिले एनआरएनए नागरिकता सम्म आइपुगेको स्मरण गर्दै महामन्त्री थापाले भोली राजनीतिक अधिकार पनि दिनु पर्ने बहस हुन सक्ने संभावना राखे।
कार्यक्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले पनि नारिकता ऐन नआउदा केही कुरा अस्पष्ट हुन पुगेको बताए। उनले सम्पत्तिको विषयमा तर्सनु नपर्ने धारणा राखे।
‘यो सम्पत्तिको कुरालाई लिएर धेरै जना तर्सनु भएको जस्तो लाग्छ, तर्सनु जरुरी छ जस्तो लाग्दैन।’ घिमिरेले भने,’खारेज भएकै नागरिकता प्रयोग गरेको खरिद गरेको सम्पत्तिमा अलिकति अस्पष्टता हो, भन्ने मलाई लाग्छ तर अब नागरिकता ऐन आउदा समय लिन्छ।’
बार अध्यक्ष घिमिरेले अब बन्ने कानुनमा स्पष्ट पार्न लबिङ गर्नु पर्नेमा जोड दिए। ‘यसमा हामी पनि लाग्दछौ, नेपाल बार एशोशिएशन पनि लाग्दछ।’
अध्यक्ष घिमिरेले मेहनत गरेर कमाएको सम्पति विना आधार नेपाल सरकारले जफत गर्ने छ भन्ने लेख्नु सजिलो सँग लागु हुन सक्ने अवस्था नरहेको पनि प्रष्टाए।
‘नेपालमा एक थरी सम्पत्तिका लागि मात्र जोखिम छ। जोखिम पनि नभनौ अस्पष्टता छ। जुन व्यक्तिको विदेशको नागरिकता वा पासपोर्ट छ त्यो व्यक्तिले नेपालको नागरिकता प्रयोग गरेर किनेको सम्पत्ति मात्र रिक्स हो। पुरानो सम्पत्तिको रिक्स छैन विदेशको नागरिकता प्राप्त पर्नु भन्दा अगाडिको सम्पत्तिमा पनि कुनै रिक्स छैन। घिमिरेले भने।
‘तपाईहरु नआत्तिनु होला, सम्पत्ति नखोसिने कुरामा नेपाल बार एशोशिएशन तपाईहरुकै साथमा छ, आत्तिएर सम्पत्ति बेच्नु पर्दैन।’ उनले भने।
एनआरएनए कार्यकारी अध्यक्ष रबिना थापाले नेपाली नागरिकता ऐनको दफा १० ले एनआरएनहरुप्रति भेदभाव गरेको बताइन । उनले गैर आवासीय नेपाली नागरिकता जति सक्दो चाडो प्रदान गर्न माग गरिन्।
कार्यक्रममा एनआरएनएका अध्यक्ष कुल आचार्यले संविधान आएको सात वर्षसम्म पनि गैर आवासीय नेपाली नागरिकता कार्यान्वयन नगर्नु सरकारको कमजोरी भएको बताए। उनले एनआरएनएको सम्पत्ति सुरक्षाको बारेमा संविधानले नै व्यवस्था गरेको हुनाले आत्ती हाल्ने अवस्था नरहेको प्रस्टाए।
यस्तै अर्का अध्यक्ष डा. बद्री केसीले रवि लामिछाने प्रकरणले संसारभरिका एनआरएनहरु त्रसित भएको बताए। उनले संविधान अनुसार एनआरएन नागरिकता प्रदान गर्न पहल गर्न नेपाल सरकार र राजनीतिक दलहरुलाई आग्रह पनि गरे।
कार्यक्रममा एनआरएनएका उपाध्यक्ष डा. हेमराज शर्माले एनआरएनसँग सम्बन्धित दर्जनौं ऐन, कानूनहरुमा संशोधन गर्नु पर्ने आवश्यकता रहेको बताए ।
एनआरएनए महासचिव डा.केशब पौडेलले अहिले अन्यौलको वातावरण रहेको धारणा राखे। ‘विदेशको नागरिकता लिंदैमा नेपालको माया कम भएको हैन। एक फेरीको नेपाली सधैंको नेपालीको मर्म अनुसार काम गर्नु पर्ने अवस्था छ,’ पौडेलले भने।
एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीको अध्यक्षतामा भएको अन्तरक्रियाको संचालन एनआरएनए क्यानाडाका अध्यक्ष दिपक गौतमले गरेका थिए।
कांग्रेस महामन्त्री गगन थापाले किन रद्द गरे अमेरिका भ्रमण