ढल्यो सुदूरपश्चिम सरकार, कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने
काठमाडौं / विश्वासको मत नपाए पछि सुदुरपश्चिम सरकार एक महिना मै ढलेको छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावल अल्पमतमा परेका हुन्। उनी नेकपा एमाले संसदीय दलका नेता हुन्।
प्रदेशसभा बैठकमा बिहिवार रावलले आफूलाई विश्वासको मत मागेका थिए। तर उनको प्रस्ताव बहुमतले अस्वीकृत गर्यो।
पुस २७ मा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका २९ सांसदको समर्थनमा रावल मुख्यमन्त्री बनेका थिए ।
तर रेशम चौधरीको रिहाइको माग गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएन।
रावलले अब आफु अनैतिक खेलमा नलाग्ने बताएका छन्। रावलले विश्वासको मत नपाए पछि अब ठूलो दलको हैसियतमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री हुने छन्।
संविधानको धारा १६८ (२) अनुसार सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेशको ठूलो दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
सुदुरपश्चिममा १९ सीट रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो । अब मुख्यमन्त्रीमा नियुक्त हुने नेता कमलबहादुर शाहले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
ठूलो दलको हैसियतले मुख्यमन्त्री बनेको व्यक्तिले पनि विश्वासको मत नपाए १६८ (५) अनुसार संसदको कुनै पनि सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भए मुख्यमन्त्रीमा दाबी पेश गर्न सक्नेछन् ।
यसरी नियुक्त मुख्यमन्त्रीले पनि विश्वासको मत पाउन नसके मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले ६ महिनाभित्र अर्को प्रदेशसभा निर्वाचन हुनेगरी मिति तोक्नुपर्ने संवैधानिक व्यवस्था छ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसको १९, नेकपा एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र १÷१ सांसद छन् ।