सन्दीप लामिछानेको निलम्बन फुकुवा गलत : गगन थापा, महामन्त्री नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गलत भएको बताएका छन्।
बलात्कार आरोपमा मुद्दा खेपिरहेका सन्दीपका बारेमा अदालतको अन्तिम फैसला आउनु अगाडि नै नेपाल क्रिकेट संघ क्यानले निलम्बन फुकुवा गर्दै राष्ट्रिय टिमको बन्द शिवर प्रशिक्षणमा समावेस गराएको छ।
सामाजिक सञ्जालमा लेख्दै महान्त्री थापाले बलात्कारजस्तो गम्भीर आरोप लागेका व्यक्तिले विषेषाधिकार पाउन नसक्ने र पाउन नहुने भनेका छन्।
उनले लेखेका छन्, ‘मेरो धारणा स्पष्ट छ, बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न ।’
क्यानका अध्यक्ष चतुर बहादुर चन्दले सन्दीपलाई खेल्न अदालतले रोक नलगाएको भन्दै निलम्बन फुकुवा गरिएको बताउदै आएको छ।
महामन्त्री थापाले आफ्नै पार्टीको जिल्ला सभापति समेत रहेका क्यान अध्यक्ष चन्दलाई यस बारेमा पहिले नै भनेको तर उनले नसुनेको पनि खुलाएका छन्।
महामन्त्री थापाको स्टाटस
अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा मेरो धारणाका बारे धेरैले सामाजिक सञ्जाल मार्फत प्रश्न गर्नु भएको छ।
मेरो धारणा स्पष्ट छ – बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न।
एक साता अघि नै यो प्रसङ्ग आउन साथ क्यानका अध्यक्ष(जो नेपाली काँग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ) लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ। उहाँले यस खालको निर्णय नगर्ने बताउनु भएको थियो। तर त्यसो हुन सकेन।
पुनः दोहोर्याउन चाहन्छु – बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ,तत्काल फिर्ता लिनुपर्छ। No If, No But !
नाबालिका बलात्कार आरोप लागेका सन्दीप ९९ दिन पछि २० लाख धरौटीमा छुटेका हुन्। पाटन उच्च अदालतको धरौटीमा छोड्ने निर्णय विरुद्द सर्वोच्चमा मुद्दा परेको छ।