सन्दीपको मुद्दामा सर्वोच्चले माग्यो आवश्यक कागजात

काठमाडौं/ सर्वोच्च अदाललते, बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको छ ।
न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलसाले, लामिछानेलाई थुनामुक्त गर्ने पाटन उच्च अदालतको आदेशविरुद्धको मुद्दामा आवश्यक कागजात झिकाउने आदेश दिएको हो ।
महान्यायाधिवक्ताको कार्यालयले उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा यही माघ १६ गते दर्ता गरेको पुनरावलोकन निवेदनमाथि सुनुवाईगर्दै अदालतले लामिछानेको मुद्दामा भएको आदेशसम्बन्धी आवश्यक कागजात झिकाउने आदेश गरेको हो ।
लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश खारेज गर्दै सर्तसहित २० लाख धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेश खारेज हुनुपर्ने मागसहित महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दर्ता गरेको थियो ।
उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले गत पुस २८ गते लामिछानेलाई रु २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश गरेको थियो ।
१७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा लामिछानेलाई प्रहरीले गत असोज २० गते लामिछानेलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो ।