अमेरिकामा बानाको नेपाली भाषा कक्षा आइतवार देखि
बाल्टिमोर, अमेरिका । बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका (बाना) ले जनवरी २९ आइतवार देखि नेपाली भाषा कक्षा शुरु गर्ने भएको छ।
‘यो हाम्रो नियमित कार्यक्रम हो, अघिल्ला बर्षहरुमा पनि भएकै हो, यो वर्ष आइतवार देखि शुरु हुन्छ।’ बानाका अध्यक्ष सुवोध पन्तले समाज टाइम्स सँगको कुराकानीमा भने।
पन्तका अनुसार हरेक आइतवार दिउँसो भाषा कक्षा संचालन हुने छ। ‘दिउँसो १२ देखि दुई बजे सम्मका लागि बाना हलमा नेपाली भाषा कक्षा संचालनका लागि समय निर्धारण गरेका छौ।’ पन्तले भने।
नेपाली भाषा सिक्नका लागि पैसा तिर्नु पर्दैन। ‘यो निशुल्क हो तर भर्ना चै हुनु पर्छ।’ पन्तले भने ‘भर्नाका लागि अनलाइन वा बानाको कार्यलयमा सम्पर्क गर्नु पर्छ।’
पन्तका अनुसार अहिले सम्म तीस जना बालबालिका भर्ना भइसकेका छन्। भोली सम्ममा ५० जना कट्ने अपेक्षा गरिकएको छ।
पाँच देखि १५ वर्ष उमेरका बालबालिकाले भर्ना हुन पाउने छन्। ‘विद्यार्थीको संख्या,उमेर, उनीहरुको भाषाको अवस्था हेरेर हामी कक्षा निर्धारण गर्छौ।’ पन्तले समाज टाइम्स लाई भने। ‘बालबालिकामा नेपाली भाषाको ज्ञान फरक हुन सक्छ , उनीहरुको ज्ञान अनुसार हामी फरक फरक कक्षा संचालन गर्छौ।’
बानाको हलमा अहिले पनि योग र नृत्य कक्षा संचालन हुँदै आएको छ। पन्तका अनुसार हरेक आइतवार दश देखि १२ बजे र चार देखि साँढे पाँच सम्म नृत्य कक्षा भइरहेको छ।
यस्तै हरेक शनिवार र आइतवार बिहान योग आठ बजे देखि साँढे नौ बजे योग शिविर भइरहेको छ।
नेपाली भाषा कक्षाका लागि भर्ना गर्न यो लिङ्कका क्लिक गर्नु होला