रवी लामिछाने नागरिकता विवाद बहसः बुधवार कसले के भने ?
काठमाडौं । नेपालका नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेको नागरिकता सम्बन्धि मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रवार पनि हुने भएको छ ।
बुधवार बहस नसकिएकाले उनको मुद्दा हेर्दाहेर्दैमा बसेकोले शुक्रवार पनि बहस हुने भएको छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा बुधबार रिट निवेदकहरुले बहस सकेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतको तर्फबाट बहस नोट पेश गर्दै सहन्यायाधिवक्ता संजीवराज रेग्मीले भने यो सारवहन व्यवस्था नभई नितान्त कार्यविधिगत व्यवस्था मात्र भएको जिकिर गरेका छन् ।
‘कुनै पनि व्यक्ति सामान्य कार्यविधिको पालना नगरेकै आधारमा गैरनागरिक हुने अवस्था हुँदैन’ उनले भनेका छन्, ‘नेपालको नागरिकतासम्बन्धी व्यवस्थाले नागरिकता विहीनताको परिकल्पना गरेको छैन । निवेदकहरुले मानवीय रवि लामिछाने नेपालको नागरिक होइनन् भन्नुभएको अवस्था छैन ।’
रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले नेपालको नागरिकता त्यागेर गएको भए पुनः प्राप्तिका लागि निवेदन दिनुपर्ने बताए ।
रविको हकमा अर्को देशको पाउँदा नेपालको नागरिकता स्वतः खारेज भएको भन्दै उनले अर्को देशको त्यागेपछि नेपालको नागरिकता स्वतः कायम हुने उनको तर्क छ ।
निवेदकको पक्षबाट अधिवक्ता रबिराज बसौला, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ताहरु रमण कर्ण, अमृत खरेल र निकिता ढुङ्गानाले बहस गरे।
बहसका क्रममा अधिवक्ता कर्णले नेपाल नागरिकता ऐन २०६३ को दफा १० को उपदफा (२) बमोजिम लामिछानेको नागरिकता कायम नरहेको जिकिर गरे।
नागरिकता ऐनको दफा १० को (२) मा ‘नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकिए बमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गर्नेछ र त्यसरी दर्ता गरिएको मितिदेखि निजको नेपाली नागरिकता कायम रहने छैन’ भनिएको छ।
नागरिकता ऐनको उक्त व्यवस्थाअनुसार लामिछाने नेपाली नागरिक नरहेको र उनले अमेरिकी नागरिकता तथा राहदानी त्यागेर नेपाली नागरिकता लिनका लागि कतै पनि निस्सा पेस नगरेको कर्णले उल्लेख गरे।
वरिष्ठ अधिवक्ता भण्डारीले राज्य व्यक्तिलाई नागरिकता दिन घर–घरमा पुग्ने नभइ व्यक्ति आफैंले नागरिकता प्राप्तीका लागि तोकिएको निकाय वा अधिकारीसमक्ष उपस्थित हुनुपर्ने जिकिर गरे।
लामिछानेले अमेरिकी नागरिकता (राहदानी) त्यागेको भनेर प्रशासनमा निस्सा उपलब्ध गराइ आफैं उपस्थित भएर पुन: नेपाली नागरिक कायम भएको प्रमाण लिनुपर्नेमा त्यस्तो भएको नदेखिएको वरिष्ठ अधिवक्ता भण्डारीले उल्लेख गरे।
‘लामिछानेले नेपाली नागरिकता लिने नागरिकता ऐनको दफा ११ को प्रक्रिया नै अपनाएका छैनन्। विदेशी नागरिकता त्यागेको जानकारी सरकारले स्वत: पाउँदैन। जानकारी दिनु पर्छ त्यसको जिम्मेवारी व्यक्तिको हो। रविले त्यो प्रक्रिया अपनाएका छैनन्,’ वरिष्ठ अधिवक्ता भण्डारीले भने।
लामिछानेले २०७५ जेठ ४ गते नेपालस्थित अमेरिकी दूतावासमा अमेरिकी राहदानी र नागरिकता त्याग्नलाई भनेर निवेदन दिएको देखिएको भण्डारीले इजलासमा उल्लेख गरे। अमेरिकी दूतावासले १४ असार २०७५ मा मात्रै लामिछानेको अमेरिकी नागरिकता तथा राहदानी रद्द गर्ने निर्णय गरेको पनि भण्डारीले उल्लेख गरे।
अमेरिकी दूतावासले नागरिकता तथा राहदानी रद्द गर्ने निर्णय नगर्दै लामिछानेले अध्यागमन विभागलाई पत्र लेख्दै अमेरिकी राहदानी तथा नागरिकता त्यागका लागि निवेदन दिएको देखिएको, तर उक्त निवेदनले कुनै मान्यता नपाउने भण्डारीले जिकिर गरे।
भण्डारीले लामिछाने हालसम्म नेपाली नागरिक कायम भएको कुनै पनि आधिकारिक प्रमाण नरहेको र नेपाली नागरिक नभएको व्यक्तिले नेपाली नागरिकमाथि शासन गर्न नपाउने भन्दै उनको सांसद पद खारेज हुनुपर्ने जिकिर गरे।
‘अहिलेसम्म उहाँ (लामिछाने)ले नेपाली नागरिकता लिएको प्रमाण कतै पनि छैन। कानुनअनुसार पूरा गर्नुपर्ने प्रक्रिया पूरा भएको छैन। नेपाली नागरिक नभएको व्यक्तिले नेपाली नागरिकमाथि शासन गर्न पाउँदैन। उहाँको सांसद पद खारेज हुनुपर्छ,’ भण्डारीले इजलाससमक्ष भने।
लामिछानेले अमेरिकी नागरिकता तथा पासपोर्ट त्याग नगरी (त्याग गरेको निस्सा नदिइ) राजनीतिक दल दर्ता गरेको, निर्वाचनमा प्रतिस्पर्धा गरेको तथा निर्वाचित भएको भन्दै उनको सांसद पद खारेजी लगायतका कारबाहीको माग गर्दै सर्वोच्चमा छुट्टा–छुट्टै २ थान रिट निवेदन दर्ता भएका थिए।