४० प्रतिशतले घट्यो ट्वीटरको आम्दानी
सान फ्रान्सिस्को । गत वर्ष विश्व धनाढ्य इलन मस्कले ट्वीटरको स्वामित्व ग्रहण गरेदेखि पछि ट्वीटरमा करिब ५ सय कम्पनीले विज्ञापन रोकेका थिए । यसरी उनीहरुले विज्ञापन रोक्दा ट्वीटरको आम्दानी ४० प्रतिशतले घटेको छ ।
यस वर्ष जनवरी १७ सम्म ट्वीटरको आम्दानी अघिल्लो दिनको तुलनामा ४० प्रतिशतले घटेको बेलायती समाचारसंस्था रोयटर्सले जनाएको छ । ट्वीटरले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । ट्वीटरले सन् २०१९ मा राजनीतिक विज्ञापन रोक्ने निर्णय हालै उल्टाउँदै विज्ञापन नीति खुकुलो पार्ने जनाएको थियो ।
मस्कले गत अक्टोबरमा २७ मा ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गरेका हुन् । उनी विद्युतीय कार निर्माण कम्पनी टेस्ला र स्पेस एक्स कम्पनीका समेत मालिक हुन् । ट्वीटर खरिद गरेसँगै मस्कले २०२१ को नोभेम्बरदेखि २०२२ को डिसेम्बरसम्ममा १ खर्ब ६५ अर्ब अमेरिकी डलर बराबरको रकम गुमाएका हालै सार्वजनिक भएको छ ।
ट्वीटर किनेपछि टेस्लाका लागि समय नदिने लगानीकर्ताको चिन्ताका कारण उनको कम्पनीको सेयरमा भारी गिरावट आएको हो । कम्पनीले गत वर्ष जम्मा १३ लाख वटा गाडी मात्रै बजारमा पुर्याएका कारण सेयर मूल्य घटेको जनाइएको छ । त्यसका साथै, ट्वीटर खरिद गरेपछि ठूलो संख्यामा कर्मचारीलाई बर्खास्त गर्ने र सामग्रीसम्बन्धी नीतिमा ल्याएको हेरफेरका कारण सेयरमा गिरावट आएको हो ।
मस्कले गुमाएको सम्पत्तिको विवरण उनको स्वामित्वमा रहेका सेयरमा आएको गिरावटका आधारमा निकालिएको हो । जसका कारण सेयरको मूल्य पुनः बढेको खण्डमा भने उनको गुमेको सम्पत्ति फेरि बढ्न सक्छ । यसअघि जापानी प्रविधि लगानीकर्ता मासायोसी सोनले सन् २००० मा ५८.६ अर्ब अमेरिकी डलर गुमाएका थिए । उक्त कीर्तिमान मस्कले तोडेका हुन् ।