डोनाल्ड ट्रम्पलाई फेसबुकमा फर्किनेबारे निर्णय लिन मेटाले गठन गर्यो समिति
न्युयोर्क- फेसबुकको मालिक मेटा इंकले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फर्कन अनुमति दिने वा नदिने निर्णय लिनको लागि समिति बनाएको छ ।
यसका साथै कम्पनीले यसको निर्णय छिटै नै सार्वजनिक गर्ने फाइनान्सियल टाइम्सले जनाएको छ । सोसल मिडिया कम्पनीले राष्ट्रपतिलाई फर्कन अनुमति दिने कि नगर्ने भनेर जनवरी ७ सम्ममा निर्णय गर्ने बताएको थियो ।
यद्यपि, त्यो निर्णय अब महिनाको अन्त्यमा घोषणा हुने अपेक्षा गरिएको अखबारले यस विषयमा परिचित व्यक्तिलाई उद्धृत गर्दै जानकारी दिएको छ ।
मेटाले यस विषयमा ध्यान केन्द्रित गर्न एक कार्य समूह स्थापना गरेको छ । समूहमा सार्वजनिक नीति र सञ्चार टोलीका साथै सामग्री नीति टोलीका कर्मचारीहरू समावेश छन् । मेटाले टिप्पणीको लागि रायटरको अनुरोधलाई तुरुन्तै प्रतिक्रिया दिएन।
ट्विटरका नयाँ मालिक इलोन मस्कले गत वर्ष नोभेम्बरमा सोशल मिडिया प्लेटफर्ममा प्रयोगकर्ताहरूको मतदानपछि ट्रम्पमाथि स्थायी प्रतिबन्ध खारेज गरेका थिए ।