नेपालले दियो फाइजरको “वाई भ्यालेन्ट” खोपलाई आपतकालिन प्रयोग अनुमति
काठमाडौं । नेपालको औषधि व्यवस्था विभागले कोभिड–१९ विरुद्ध बुस्टर डोजका लागि फाइजरको वाई भ्यालेन्ट खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।
अब नेपालमा फाइजरको नयाँ खोप ल्याउन सहज भएको छ । औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले औषधि सल्लाहकार समितिको ५४औँ बैठकले वाई भ्यालेन्ट खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको जानकारी दिए ।
नेपालमा फाइजरको नयाँ खोप आउने भएपछि स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाले आपत्कालीन प्रयोगका लागि औषधि सल्लाहकार समितिसँग अनुमति मागेको थियो ।
विश्व स्वास्थ्य सङ्गठनले फाइजरको वाई भ्यालेन्ट खोपलाई आपत्कालीन प्रयोगको सूचीमा राखेको छ । हाल उक्त खोप विश्वका ३२ देशमा बुस्टरका रूपमा प्रयोग भइसकेको छ ।
राष्ट्रिय खोप सल्लाहकार समितिले समेत सिफारिस गरेको खोपलाई औषधि सल्लाहकार समितिले बुस्टर डोज प्रयोगका लागि अनुमति दिएको हो ।