सकियो समानुपातिकको मत गणना, संसदमा कांग्रेस ठुलो दल
काठमाडौं । समानुपातिक तर्फको मतगणना आजदेखि सकिएको छ । मंगलवार सार्वजनिक भएको नतिजा अनुसार कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ र नेकपा एमाले २८ लाख ४५ हजार ६४१ मतसहित पहिलो दल बनेको छ । यसअनुसार एमालेले ३४ सिट पाउनेछ ।
प्रत्यक्षतर्फ ४४ सिट जितेको एमाले ७८ सांसदसहित प्रतिनिधिसभाको दोस्रो दल बनेको छ । कांग्रेसले २७ लाख १५ हजार २२५ मत पाएको छ । यसअनुसार उसले ३२ सिट पाउने छ । प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेस ८९ सांसदका साथ प्रतिनिधिसभाको पहिलो दल बनेको छ ।
माओवादी केन्द्र समानुपातिकमा पनि तेस्रो दल बनेको छ । उसले ११ लाख ७५ हजार ६८४ मत पाएको छ र, १४ सिट पाउनेछ । प्रत्यक्षतर्फ उसले १८ सिट जितेको छ । दुबै जोड्दा उसको ३२ सिट पुग्छ ।
प्रमुख तीन दलले समानुपातिकतर्फ मत गुमाएका छन् । एमालेले २०७४ मा ३१ लाख ७३ हजार ४९४ अर्थात ३३.२४८५ प्रतिशत मत पाएको थियो भने कांग्रेसले ३१ लाख २८ हजार ३८९ अर्थात सदर मतको ३२.७७५९ प्रतिशत मत पाएको थियो । यो पटक दुबै दलले करिव ६ प्रतिशत विन्दुले मत गुमाएका छन् ।
माओवादीले अघिल्लो पटक १३ लाख ३ हजार ७२१ मत अर्थात १३.६५९० प्रतिशत मत पाएको थियो । उसले पनि करिव २ प्रतिशत विन्दुले समानुपातिक मत गुमाएको छ ।
ठूला दलहरुको मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपातिर गएको देखिन्छ । यो चुनावमा उदाएको रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जित्दा समानुपाातिकतर्फ ११ लाख ३० हजार ३४४ मत पाएको छ । यसअनुसार उसले १३ सिट पाउने छ ।
अघिल्लो पटक थ्रेस होल्ड कटाउन नसकेको राप्रपाले यो पटक ५ लाख ८८ हजार ३१३ मत पाएको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको उसले समानुपातिकमा पनि ७ सिट नै पाउनेछ र १४ सांसदसहित संसदको पाँचौ दल हुनेछ ।