विष्णु पौडेललाई निर्वाचित गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट, पुन: मतगणनाको माग
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई निर्वाचित गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
मंसिर ४ गते भएको रुपन्देही–२ को निर्वाचन परिणाम बदर माग गर्दै रिट दर्ता भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले रिट दायर गरेका हुन्। उनले संवैधानिक इजलासमा मतगणनाको माग गर्दै रिट दायर गरेका हुन्।
रुपन्देही–२ को निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमालेका उम्मेदवार पौडेललाई अनियमित रुपमा निर्वाचित भएको घोषणा गरेको रिटमा जिकिर गरिएको छ।
उक्त क्षेत्रमा विष्णु पौडेलले २७ हजार १ सय ४८ मत ल्याएका थिए भने गणेशले २५ हजार ७ सय ८२ मत पाएका थिए। निर्वाचन परिणाम सार्वजनिक भएको ११ दिनपछि गणेश त्यसको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च पुगेका हुन्।
रिटमा निर्वाचन अधिकृतको कार्यालय रुपन्देही क्षेत्र नम्बर २, आयोगको केन्द्रीय कार्यालय र निर्वाचित सांसद विष्णु पौडेलसहित आठ जनालाई विपक्षी बनाइएको छ। उनले पहिलो सुनुवाइवाटै अन्तरिम आदेश जारी गरेर पुन: मतगणना गर्नू भनी आदेश दिन माग गरेका छन्।