अमेरिकामा दुई नेपाली क्लब बीच मैत्री फुटबल,युनाइटेड नेपलीज एफसी ६-२ ले विजयी
पेन्सिलभेनिया,अमेरिका / फिलाडेल्फिया राइजिङ फुटबल क्लब आफ्नो पहिलो खेलमा पराजित भएको छ।
क्बल स्थापनाको घोषणाका लागि भर्जिनियाको युनाइटेड नेपलीज एफसी बिरुद्दको खेलमा फिलाडेल्फिया राइजिङ दुईका बिरुद्द ६ गोल अन्तरले पराजित भयो।
किङ्क अफ पर्सिया स्थित वाइएससी स्पोर्टसमा रहेको फिलाडेल्फिया युनियनको इन्डोर ट्रेनिङ ग्राउण्डमा भएको मैत्री खेलमा होस्ट टिमले एक शून्यको शुरुवाती अग्रता जोगाउन सकेनन्।
फिलाडेल्फिया युनियन अमेरिकी शिर्ष लिग ‘मेजर लिग सकर’ खेल्ने क्लब हो । फिलाडेल्फिया युनियन शनिवार एलए एफसी सँग खेल्न क्यालिफोर्निया गएको मौकामा नेपाली खेलाडीले सो फिल्डमा खेल्ने अवसर पाएका हुन्।
फाउण्डर तथा कप्तान अबश्य जङ्ग रायमाझीका अनुसार फिलाडेल्फिया राइजिङ फुटबल क्लब पेन्सिलभेनियामा उपलब्ध नेपाली खेलाडीहरुलाई एकिकृत गरि हालै मात्र बनाइएको बनाएको टिम हो ।
युनाइटेड नेपलीज एफसी पछिल्लो दश बर्ष देखि सँगै खेल्दै आएको टिमका कप्तान एलेक्स बस्नेतले बताए। भर्जिनियाको अनुभवि टिम बिरुद्द सकिल नेपालले फिलाडेल्फियालाई अग्रता दिलाए। तर एउटै टिममा पहिलो पटक खेलेका फिलाडेल्फियाका खेलाडी त्यस पछि अलमलमा परे। त्यसको विपरित भर्जिनियाले आफ्नो अनुभवको सदुपयोग गर्यो।
सौगात अधिकारीले खेल बराबरीमा ल्याए । त्यस पछि टेनीस कटुवालले भर्जिनियालाई अग्रता दिलाए। मध्यान्तर हुनु अगाडि सौगातले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे।
दोस्रो हाफको शुरुवातमा फिलाडेल्फियाले गोल फर्काउदै अन्तर घटाउने प्रयास गरेको थियो। तर खेलको अन्तिममा लगालग तीन गोल खान पुग्यो र समग्रमा ६-२ ले पराजित भयो।
‘हामी सँग समय कम हुदै थियो, एक गोल फर्काएर खेल बराबरी गर्ने भन्ने लक्ष्य राख्दै अगाडि बढेर खेल्यौ तर नजिता उल्टो भयो।’ फिलाडेल्फिया राइजिङ्गका कप्तान अबश्य जङ्ग रायमाझिले खेल पछि समाज टाइम्स सँग भने।
यस्तै युनाइटेड नेपलीज एफसीका कप्तान एलेक्स बस्नेतले शुरुमा टिम सेटमा केही समस्या भए पनि सजिलै कमब्याक गरेको प्रतिक्रिया दिए। ‘हामी लामो समय देखि प्लेइङ्ग ११ मा खेल्दै आएका हौ, आज प्लेइङ्ग ८ मा खेल्दा हामीलाई शुरुमा सेट हुन केही समय लागेको हो तर विस्तारै हामी आफ्नो शैलीमा फर्कन सफल भयौ।’ बस्नेतले भने। ‘स्लो स्टार्ट गरेका हौ, शुरुको १५ मिनेट हामी दवावमा परेकै हो तर पछि राम्रो खेल्यौ।’
बस्नेतका अनुसार यो टिममा पछिल्लो दश बर्ष देखि सँगै खेल्दै आएका खेलाडीको बाहुल्यता छ। ‘हामी चार वर्ष अगाडि आधिकारिक रुपमा दर्ता भए पनि दश वर्ष देखि एउटै टिममा खेल्दै आएका हौं ।’ उनले भने।
युनाइटेड नेपलीज एफसी केही महिना अगाडि मेरिल्याण्डमा भएको ‘बाना कप’ फाइनल खेलेको टिम हो। कप्तान बस्नेतले मैत्रीपूर्ण खेलका लागि निमन्त्रणा गरेकोमा फिलाडेल्फियालाई धन्यवाद समेत दिए।
‘यो राम्रो शुरुवात हो, आमन्त्रणका लागि धन्यवाद, आगाडि मे महिनामा पनि हामी फेरि फिलाडेल्फिया खेल्न आउछौं, त्यस पछि हामी पनि बोलाउछौं, यो क्रम जारी रहन्छ, निमन्त्रणका लागि आभारी छौं।’
मैत्री खेलमा जित सँगै युनाइटेड नेपलीज एफसीले सात सय अमेरिकी डलर नगद र ट्रफि पायो। विजयी टिमलाई पेन्सिलभेनिया नेपाली गुठी एशोसिएसनका प्रमुख संरक्षक विनोद मोक्तान र अध्यक्ष विमल मोक्तानले नगद तथा ट्रफि प्रदान गरेका थिए।
मैत्री खेलको व्यवस्थापन गुठीले गरेको हो । पुरस्कार वितरण पछि खेलाडीका लागि दिवा भोजको आयोजना गरिएको थियो। दिवा भोजको प्रायोजन ‘पर्सियन ग्रिल’ गरेको थियो।
यस्तै मैत्रीपूर्ण खेलको व्यवस्थापनमा गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिका पेन्सिलभेनिया च्याप्टरका अध्यक्ष सुभाष बैठा, नेपाली जनसम्पर्क समिति अमेरिका, पेन्सिलभेनिया च्याप्टरका अध्यक्ष डाक्टर केशव भण्डारी र नेपाली लाइन्स क्लब मोन्टगोमेरी काउन्टी,पेन्सिलभेनियाका अध्यक्ष नविन लामाले सहयोग गरेका थिए।
यस्तै तामाङ सोसाइटी नर्थ अमेरिकाका उपाध्य जयन्द्र लामा, तामाङ सोसाइटी पेन्सिलभेनियाका अध्यक्ष कविलाल तामाङ, रियल्टर दिपक भट्ट लगायतले पनि मैत्रीपूर्ण खेल व्यवस्थापनमा सहयोग गरेका थिए।
अमेरिकामा नेपालीहरुको नयाँ फुटबल क्लब स्थापना,मैत्री खेल मार्फत घोषणा हुँदै