एनआरएनएले ४० लाखको छात्रवृति कोष स्थापना गर्ने
पेन्सिलभेनिया,अमेरिका/ गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले ४० लाख रुपैयाको छात्रवृति कोष स्थापना गर्ने भएको छ।
आइसीसी अन्तर्गत महिला विभागद्वारा मंगलवार भर्चुअल मार्फत आयोजित दशै शुभकामना कार्यक्रममा छात्रवृतिको घोषणा गरिकएको हो। कार्यक्रममा विश्वका विभिन्न मुलुकमा रहेका महिला अभियन्ताहरुको उपस्थिति रहेको थियो।
‘महिला तथा बालबालिका उत्थानमा एनआरएनएको भूमिका तथा नेपाल सरकारको दायित्व’ भन्ने विषयमा आयोतित कार्यक्रममा प्रमुखअतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले नेपाल सरकार एनआरएनए सँग मिलेर अघि बढ्ने प्रतिबद्धता जनाइन् ।
नेपाल सरकार र एनआरएनएको सहकार्यमा महिला स्वास्थ्य, महिला जनचेतना र शिक्षाको क्षेत्रमा एमओयू गरेर अघि बढ्न सकिने बताउदै मन्त्री रेग्मीले गैरआवासीय नेपाली सम्बन्धी नागरिकता विधेयक राष्ट्रिपतिकोमा रोकिए पनि निर्वाचन पछि समाधान हुने बताइन् ।
कार्यक्रममा एनआरएनए आइसीसीकी कार्यकारी अध्यक्ष रविना थापाले सार्वजनिक विद्यालयमा अध्यनरत पाँच हजारलाई छात्रवृति दिइने बताइन । नेपाल सरकार सँगको सहकार्यमा यो पुरस्कार दिइने थापाको भनाई छ।
अर्का अध्यक्ष कुल आचार्यले महिलाहरुलाई सहकार्य गर्दै स्वास्थ्य क्षेत्रमा महिला विभागले गरेको कामको प्रसंशा गरे।
कार्यक्रममा एनआरएनए आइसीसी महिला संयोजक संगीता मरहट्टाले स्वागत मन्तव्य दिदै महिला विभागको यस पटकको प्राथमिकता महिला तथा बालबालिका शिक्षा रहेको बताइन। उनले महिला तथा बालबालिकाहरुको शैक्षिक स्तर बढाउन महिला विभागले करीब ४० लाखको छात्रवृति कोषको स्थापना गरेको जनकारी दिइन्।
मरहट्टाका अनुसार अहिले सम्म १० लाख रुपैया जम्मा भैसकेको र बाँकी संसारभरको राष्ट्रिय समवय परिषद् (एनसीसी)का महिला संयोजक मार्फत गरिने छ।
एनआरएनएकी सह कोषाध्यक्ष यमुना भट्टराईले महिला विभागको कामको सराहना गर्दै व्यक्तिगतरूपमा कोषको लागि २ लाख दिने घोषणा गरिन्।
संघकी महिला उपाध्यक्ष यस्मीन बेगम सैयदको सभापतित्वमा भएको सो कार्यक्रमको संचालन संघकी सचिव राधिका (टिका) गुरुङले गरेकी थिइन् ।
करीब चार घण्टा लामो यस कार्यक्रममा वक्ताहरुको सल्लाह र सुझावको टिपोट गर्दै गर्ने काम एनआरएनएको संचार तथा प्रकाशन समितिकी उप संयोजक बाबा राजेश्वोरी थापाले गरेकी थिइन।