अमेरिकामा टिका साइत बुधबार ११ बजेर २६ मिनेटमा, दसैँको टीका कता फर्केर लगाउने ?
पेन्सिलभेनिया अमेरिका। बडादशैंको मुख्य दिन विजयादशमी मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइन्छ।
अमेरिकामा रहेका नेपाली समुदायमा केही व्यक्तिले मंगलवार नै दशै टिका ग्रहण गरेका छन्। तर ठूलो जमात भने नेपालमा टिका लगाए पछि लगाउने भन्दै कुरेका छन्।
अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको नेपाली हिन्दु बुद्द मन्दिरका पण्डित कमलनाथ सापकोटाका अनुसार अक्टोबर पाँच तारिक बुधबार ११ बजेर २६ मिनेटको साइत अतिउत्तम छ।
मंगलवार साँझको समाज टाइम्स संवादमा बोल्दै पण्डित सापकोटाले दशैको टीका दशमीका दिनभरी नै लगाउन मिल्ने तर साइत हेरर लगाउनेका लागि ११ बजेर २६ देखि १२ बजेर १५ मिनेट सम्मको समय अभिजित् मुहूर्त रहने बताए।
‘अक्टोवर पाँच बुधबार विहान ७ बजेर २६ मिनेट देखि आठ बजेर ५४ सम्म अमृत बेला, दश बजेर २२ मिनेट देखि ११ बजेर ५० मिनेट सम्म शुभ बेला र ११ बजेर २६ देखि १२ बजेर १३ मिनेट सम्म अभिजित् मुहूर्त रहने छ ।’ पण्डित सापकोटाले भने। ‘दशैको टीका आफ्नो समय अनुसार दशमी देखि पूर्णिमा सम्म लगाउन सकिन्छ यो देवि प्रसाद हो ॥’
दसैँको टीका कता फर्केर लगाउने ?
पण्डित सापकोटाका अनुसार टीका पूर्वमुख गरी थाप्नु शुभ छ । ‘टिका थाप्ने पूर्वमुख र लगाइदिने पश्चिम मुख गरी बस्नु पर्दछ।’ सापकोटाले भने।
विजयादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने सापकोटाको भनाइ छ। लगाइदिने मानिस पश्चिम फर्कंदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन्। चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ।
विजयादशमीका दिन बिहान नवदुर्गाको पूजा आराधना गरी जया, विजया, अजिता र अपराजिता गरी चार देवीको पूजा आराधना गरेर देवी विसर्जन गरिन्छ। मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेंलो जमरा नै प्रयोग गरिन्छ।
घटस्थापनाका दिन राखिएको जमरा दशमीका दिन नवदुर्गाको प्रसादका रूपमा लगाइन्छ। घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ। केही समुदायले सेतो टीका पनि लगाउने चलन छ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादशैं पर्व मनाउने परम्परा बसेको शास्त्रीय प्रमाण रहेको छ। यस पर्व अन्तर्गत नवरात्रिका उपलक्ष्यमा घटस्थापनादेखि नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दशैंघरमा प्रत्येक दिन पूजाअर्चना सहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गरेपछि त्यसको प्रसाद आजदेखि कोजाग्रत पूर्णिमामा अखिल बलिपूर्ति नभएसम्म लगाइन्छ।
दैत्यका गुरु शुक्राचार्य भएकाले बिघ्न बाधा नपरोस् भनि शुक्रलाई पछाडि पारेर टीका लगाउने प्रचलन छ । शुक्राचार्यले दैत्यको पक्षमा काम गर्ने विश्वासले विजयका बेला शुक्राचार्यको वेवास्ता गर्ने प्रचलन रहिआएको हो । त्यसैले चन्द्रमालाई सम्मुख वा दाहिने पारेर पनि टीका लगाउन उपयुक्त मानिन्छ ।
परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथ दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ।
पुरुषलाई टीका लगाईदिदा दिने आशिर्वाद
आयुर्द्रोण सुते श्रियो दशरथे . शत्रुक्षयं राघवे ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने । शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥ .
स्त्री हरुलाई टीका लगाउँदा भन्ने
ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते .॥