किन्यो एनआरएनए अमेरिकाले ‘घर’
भर्जिनिया,अमेरिका/ गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले अन्तत आफ्नै घर (कन्डोमेनियम/फ्ल्याट) किनेको छ।
अमेरिकाको राजधानी वासिङ्टन डी सीबाट नजिकै रहेको भर्जिनियाको फेयर फ्याक्समा कन्डोमेनियम खरिद प्रक्रिया एनआरएनए अमेरिकाले मंगलवार पुरा गरेको हो।
भवन भित्र मंगलवार आयोजित एक कार्यक्रममा दुबै पक्षले संझौता पत्रमा हस्ताक्षर गरे। १०५२० वाइरविक एभ्युन्युमा रहेको भवनको दोस्रो तलामा रहेको पाँच कोठा अब एनआरएनए अमेरिकाको सम्पत्ति भएको छ।
एनआरएनए अमेरिकाले खरिद गरेको कन्डोमेनियमको क्षेत्रफल १४ सय ९७ स्वायरफिट रहेको छ। जसका लागि दुई लाख ८० हजार चार अमेरिक डलर मूल्य तिरिएको एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दि सुवेदीको भनाई छ।
‘भवनको खास मूल्य दुई लाख ८८ हजार हो तर रियल्टर राम मिश्रले आफुले पाउने कमिशन आठ हजार ६ सय ४० डलर संस्थालाई नै चन्दा दिनु भयो’ समाज टाइम्स सँगको कुराकानीमा सुवेदीले भने।
एनआरएनए अमेरिकाले भवन खरिदका लागि सर्वसाधरण सँग चन्दा आह्वान गरेको थियो। अध्यक्ष सुवेदीका अनुसार यसै प्रयोजनका लागि तीन लाख भन्दा बढी चन्दा उठेको छ। ‘भवनलाई चाहिने भन्दा बढी पैसा उठ्यो’ सुवेदीले भने।
यद्पी मंगलवार खरिद प्रक्रिया सल्टाउन एनआरएन अमेरिकाले खातामा मौजाद आजीवन सदस्यको सञ्चित रकमबाट एक लाख सापट लिएको जनाएको छ। चन्दामा कबोल गरिएको रकम खातामा जम्दा हुने क्रम जारी रहेको तर पूर्व सर्त अनुसार मंगलवार क्लोजिङ्क पुरा गर्नुपर्ने भएकाले कार्यसमितिको बैठकको निर्णय अनुसार सोध भर्ना गर्ने गरि आजीवन सदस्य शुल्क वापतको मौजत रकमबाट सापट लिइएको अध्यक्ष सुवेदीले बताए।
‘अहिले सम्म तीन लाख ८ हजार ६५ अमेरिकी डलरको कोबुल भएको छ, त्यस मध्ये दुई लाख ३१ हजार खातामा जम्म भइसकेको छ, केही पैसा आज पनि खातामा जम्मा हुँदै छ, यता पैसा जम्मा हुदै गर्छ उता काम पनि नरोकौ भनेर हामीले सापटी लिएका हौ।’ सुवेदीले समाज टाइम्स सँग भने ‘एक दुई दिनमा सापट फिर्ता हुन्छ।’
सुवेदीका अनुसार पाँच कोठा मध्ये दुई कोठमा तत्काल नै एनआरएनए अमेरिकाको कार्यलय संचालन गरिने छ। बाँकी कोठा भाडामा दिने योजना छ। पाँच कोठाको क्षमता एक पटकमा ३५ जना सम्मको छ।
‘मुख्यतय नियमित कार्यलय संचालन र आवश्यकता परेको बेलामा कार्यसमितिको बैठक बस्नका लागि ठाँउ प्रयाप्त छ।’ सुवेदीले भने।
भवन खरिदका लागि एनआरएनए अमेरिकाले बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्त संयोजकत्वमा कमिटि गठन गरेर चन्दा अभियान शुरु गरेको थियो।
पन्तले मंगलबार ऐतिहासिक दिन भएको बताए। ‘यो एतिहासिक क्षण हो सबैलाई समेटेर अगाडि बड्ने काम गरेको छ।’ समाज टाइम्स सँग पन्तले भने, ‘अब भित्र केही रिमोडलिङ्ग गरेर कर्मचारी नै राखेर काम गर्छौ, जनसेवाका लागि थुप्रै काम गर्न सकिन्छ।’
पन्तले एनआरएनए अमेरिकाले खरिद गरेको भवन अमेरिका लागि नेपाली दुतावास बाट १५ मिनेटको दुरिमा रहेकाले दुतावस सँग मिलेर काम गर्न अव सहज हुने बताए। ‘अब हाम्रो पनि कर्मचारी हुन्छ, दुतावासबारे धेरै गुनासो पनि छ, हामी मिलेर ति गुनासा सम्बोधन गर्न सक्छौ।’
भवन खरिदका लागि सबै भन्दा धेरै चन्दा अध्यक्ष सुवेदी आफैले दिएका थिए। उनले बीस हजार पाँच सय डलर चन्दा दिएका छन्। यस्तै पूर्व अध्यक्षहरु खगेन्द्र जिसी र डाक्टर केशव पौडेलले पनि बीस बीस हजार डलर चन्दा दिएका छन्।
बरिष्ठ उपाध्यक्ष पन्तले १५ हजार तथा उपाध्यक्ष दिलु पराजुली र सुमन थापाले पनि दश दश हजार अमेरिकी डलर चन्दा दिएका छन्।