बाबुरामसँगको सहकार्य दीर्घकालीन हो : प्रचण्ड
काठमाण्डौं । चुनाव नजिकेसँगै धम्की र घुर्कीको भाषामात्र प्रयोग गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको साथ पाउने भए पछि नरम देखिएका छन् । उनले भट्टराईको साथ र सहकार्य अल्पकालीन नभएको बताएका छन् । राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफुहरुबीचको सहकार्य चुनावसम्मका लागि मात्रै नभएको बताएका हुन्।
वैकल्पिक राजनीतिक पार्टी बनाउने बाबुरामको प्रयास र वामपन्थी शक्तिलाई नयाँ ढंगले अघि बढाउने आफ्नो प्रयत्न असफल भएपछि दुबैजना दीर्घकालीन सहकार्यतर्फ अघि बढेको प्रचण्डले बताए । ‘चुनावका लागि मात्र होइन, त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको छ । प्रतिनिधिसभाको निर्वाचनमा नेपाल समाजवादी पार्टी माओवादीको चुनाव चिन्ह हँसिया हथौडामा उठ्दैछ।
प्रचण्ड र बाबुराम एकै ठाउँमा हुँदा लाखौँ जनतामा उत्साह थपिने उनले जिकिर गरे । ‘इतिहासले, नेपाली जनताले निकै ठूलो त्याग तपस्या र बलिदान भएको दोहोराउदै ‘प्रचण्ड र बाबुराम’ मात्रै एक ठाउँमा भएको हुँदैन, लाखौं करोडौं जनताहरु युग निर्माणतिर जाने ऊर्जा प्राप्त हुनेछ ।’
दुईजनाको बानी व्यवहार नमिलेपनि दुबैले एकअर्काको अभाव महशुस भएपछि दीर्घकालीन सहकार्यतर्फ अघि बढेको उनको तर्क थियो ।