खबरदारी समुहको चेतावनी ‘बिनम्रताले नभए बिद्रोहमा जान्छौँ’
काठमाडौं । राजधानमीमा शनिबार खबरदारी सभा गर्दै त्यस पक्षका नेताहरुले यस्तो चेतावनी दिएका हुन्। नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षधरलगायतको उपस्थितिले समानुपातिकको बन्दसूची नसच्याए र प्रतिनिधिसभाको टिकट वितरणमा अन्याय कायमै रहे विद्रोहको चेतावनी दिएको छ।
नेता जगदिश्वरनरसिंह केसीले गठबन्धनका पाँच दल मिलाउन निरन्तर छलफल गर्नसक्ने सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाउन १८ मिनेटपनि छलफल नगरेको बताए।
सभापतिमा निर्वाचित भएपछि गुटको नभएर सबैको नेता हुने बताए पनि देउवा त्यसभन्दा माथि उठ्न नसकेको उनको आरोप छ ।
‘गठबन्धनका नेता रिझाउन १८ घण्टासम्म छलफल गर्ने हाम्रा सभापतिले हामीलाई १८ मिनेट पनि समय दिनुभएको छैन। उहाँले गुटभन्दा माथि उठ्न सक्नुभएन। समानुपातिकको सूची नसच्चिए हामी विद्रोह गर्छौँ’, उनले भने।
कार्यक्रममा बोल्दै नेता गुरूराज घिमिरेले पार्टीभित्रको अन्याय सच्याउनका निम्ति विनम्रपुर्वक गरिएको खबरदारीको सुनुवाइ नभए विद्रोह हुने चेतावनी दिए।‘अहिले समान्तवाद मौलाएको छ। सुनुवाई नभए विद्रोह गर्छौँ ।’
यस्तै नेता अजय द्वेवेदीले पार्टीले सभापतिले बहुमतको बलमा अन्याय गरेको आरोप लगाए। ‘ अन्याय स्वीकार्य छैन ।’ उनले भने ।
खबरदारी सभामा बोल्दै नेता शोभा अधिकारीले सभापतिको एकलौटी राज पार्टीमा नचल्ने भन्दै सबैलाई न्याय गर्नु र पार्टीलाई एकतावद्ध बनाउने दायित्व सभापतिको रहेको बताइन्।
टिकट वितरणमा दबाब दिनका निम्ति त्यस समुहले बालुवाटार घेराउन देखि रिले अनसनसम्मको तयारी गरेको जनाएको छ ।