जेब्राक्रसमै बालकको मृत्यु, स्थानीयले बसको आगो निभाउनै दिएनन्
काठमाडौं । पृथ्वी राजमार्गस्थित धादिङको गजुरीमा बिहिबार बिहान यात्रुबहाक बसले ठक्कर दिँदा स्कुल जाँदै गरेका एक बालकको घटनास्थलमै मृत्यु भएको छ।
गजुरीको आदर्श माध्यमिक विद्यालय कक्षा १ मा पढ्ने ६ वर्षका विद्यार्थी विजय परियारलाई बाटो काट्ने क्रममा बसले ठक्कर दिएको हो।
घटनापछि आक्रोशित स्थानीय र विद्यार्थीले पृथ्वी राजमार्ग अवरूद्ध गरेका छन्। साथै उनीहरूले विद्यार्थीलाई ठक्कर दिने बसमाथि आगजनी गरेका छन्। आगो नियन्त्रणका लागि धुनिवेशीबाट गजुरी आइपुगेको दमकललाई आगो निभाउन खोज्दा ढुङ्गा प्रहार गरिएको थियो ।
काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले विद्यार्थीलाई ठक्कर दिएको थियो।
आफन्त र स्थानीय वासिन्दाको सहमतिमा शव उठाइएको र राजमार्गको अवरोध हटाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दिउँसो साढे २ बजे राजमार्ग खुलेपछि ५ घण्टादेखि रोकिएका गाडीहरु गन्तव्यतर्फ जान सकेका थिए ।