रामकृष्ण ढकालले अमेरिकाको ह्यारिसबर्गमा नचाए नायीका सारङ्गा,अरुणिमा सहित दर्शकलाई
ह्यारिसबर्ग,पेन्सिलभेनिया। नेपाली आधुनिक गीत सङ्गीतका पारखीका लागि रामकृष्ण ढकाल नौलो नाम होइन । सायदै त्यस्ता ब्यक्ति होलान जसले नेपाली आधुनिक गीत सुनेको छ तर ढकाललाई नसुनोस।
गीत सङ्गीतका स्वाद नै फरक हुन्छन्। आधुनिक,लोक र रक गीतका पारखीको जमात नै फरक फरक हुन्छन्। आधुनिक गीत-गजल सुन्नेहरु विरहका, भावुक, अलि गम्भिर स्वभावका हुन्छन्। प्रत्यक्ष साङ्गीतिक कार्यक्रमा सहभागि हुदा पनि भलाद्मी शैलीमा कुर्चीमा बसेर ‘धानका बाला झुलेसरी’ मुण्टो हल्लाइ हल्लाइ, विस्तारै विस्तारै तालि बजाउदै गीत सुन्ने बढी हुन्छन्।
त्यसको उल्टो, लोक तथा रक गीत सङ्गीतमा गायक सँग सँगै तालमा ताल मिलाएर नाच्नु पर्ने हुन्छ। ढकाल अघिल्लो स्वभावका दर्शक श्रोताका प्रिय हुन्। तर आइतवार साँझ अमेरिकाको पेन्सिलभेनिया राज्यको राजधानी ह्यारिसबर्गमा दशै तिहारको उपलक्ष्यमा आयोजित साङ्गितिक कार्यक्रमको माहोल अलि फरक थियो ।
रेड अशियन एकडेमीको सहकार्यमा अन्तर्राष्ट्रिय कलाकार समाज (ईनास) पेन्सिलभेनियाले आयोजना गरेको कार्यक्रममा ‘मेलोडी’ गायक ढकाल लोक र रक गायकलाई माथ गर्ने शैलीमा प्रस्तुत भए। ४५ मिनेट स्टेजमा जमेका ढकालले समय वितेको पत्तो नपाउने गरि सबैलाई भब्य मनोरञ्जन दिए।
आफ्नो सदावहार गीत ‘मलाई यो जीन्दगीले कहाँ पुर्यायो… ‘ बाट स्टेज प्रवेस गरेका ढकालले बिस्तारै माहोल तताउदै लगे । बुट्टे चेकसर्ट, रातो कोट र खाकी पाइन्टमा सजिएका ढकालले जव कोट नै खोलेर ‘रमाइलो कोशी तिरैमा… घन्क्यो मादल पल्टनको ….’ गाउन थाले पछि दर्शक सर्लक्कै अगाडि आएर नाच्न थाले।
‘माया जदौ … को ट्रयाक बज्न थाले पछि, नायीका सारङ्गा श्रेष्ठ र अरुणिमा लम्साल पनि रोकिन सकेनन्। दर्शकदिर्धामा रहेका दुबै जना स्टेजमै पुगेर नाच्न थाले। ढकाल पनि के कम दुई नायीकालाई दायाँ बायाँ पारेर गाउदै तालमिलाएर नाच्न थाले।
सारङ्गा र अरुणिमा पछिल्ला केही बर्ष देखि अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका छन्। यसै कार्यक्रमका लागि उनीहरुले दुई घण्टाको यात्रा तय गरेका हुन्। सारङ्गा आफ्ना समकक्षीमा बेजोड नृत्यङ्गना हुन्। नेपाली चलचित्र क्षेत्रमा कुनै समय , श्रीकृष्ण श्रेष्ठ र सारङ्गाको नाचले विषेश चर्चा पाउने गर्दथ्यो।
स्टेज ताते पछि, के लाग्यो, आधुनिक गीतको स्वाद लिन आएका दर्शक पनि मस्त नाच्न थाले। माहोल नै फेरियो। लामो समय देखि गायक ढकाललाई स्टेजमा नभेटेका श्रोता तथा दर्शकका लागि ढकालको प्रस्तुति नौलो थियो।
आयोजक ईनास पेन्सिलभेनियाका अध्यक्ष विकास घले गुरुङ्ग गायक ढकाल फेरिएको नभइ परिस्थिति अनुसार प्रस्तुत भएको बताउछन्। ‘फेरिएकै चै नभनौ, ढकाल जीलाई आफ्नो ट्रेडमार्क साथसाथै नयाँ पन पनि देख्न पाइयो।’
नेपालमा रहदै देखि नृत्य निर्देशक तथा कोरियोग्राफरमा समेत लामो अनुभव भएका गुरुङ्ग ढकालको यस्तो प्रस्तुती आफुले पनि पहिलो पटक देखेको बताउछन्।
‘आठ नौ बर्ष अगाडि संगित तथा नाट्य एकेडेकीले पूर्व पश्चिम भ्रमण गराएको थियो, शम्भुजित बास्कोटा, रामकृष्ण ढाकाल लगायतको ठूलो समुह थियो, हामीले मुख्य मुख्य शहरमा कार्यक्रम गरेका थियौ।’ घले गुरुङ्ग अतित संझन्छन्,’त्यस पछि उहाँ सँग सम्पर्क टुटेको थियो, मैले पनि उहाँको प्रस्तुतिमा नयाँ स्वाद पाए, टोटल प्याकेज ।’
कार्यक्रममा दर्शक तताउने काम भ्वाइस अफ नेपाल ३ का बिजेता किरण गजमेरले पनि गरे। तर दर्शक किरणको स्वर प्रत्यक्ष सुन्न भन्दा पनि सेल्फी र भीडियोका लागि आतुर देखिन्थे।
पाका लोक गायक प्रेमराजा महत स्टेजमा उक्लदै गर्दा नयाँ पुस्ताले पनि ‘बाजो खेतमा… र सिमसिमे पानी … को माग गरे। तर महतले ‘माया भेटियो बन्दिपुरैमा…’ गाउदै दर्शक नचाए।
स्थानी कलाकारलाई कोरसमा राखेर पार्वती राईको प्रस्तुती पनि बेजोड बनेको थियो।
डान्सकप सिजन रेनुका राई, भ्वाईस कप सिजन २ का बिजेता प्रबिन बर्देवा र फाइनलिष्ट लिला गजमेरले पनि आफ्नो प्रस्तुतीलाई न्याय गरे।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएका मेरिल्याण्ड राज्यका बिधान सभा सदस्य सांसद डा ह्यारी भण्डारीले पेन्सिलभेनियाबासी नेपालीभाषीको प्रशंसा गरेका थिए। उनले सोही कार्यक्रममा गायक तथा मेरिल्याण्ड र पेन्सिलभेनियाका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत तथा गायक महत र नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेलाई मेरिल्याण्ड विधान सभाको तर्फबाट सम्मान गरे।
कार्यक्रममा नायिका मेलिना मानन्धर, सामाजिक अभियन्ता भुवन गौतम, व्यवसायी भवानी कोइराला, कला र संस्कृति क्षेत्रका डिल्ली अधिकारीलाई आयोजक संस्थाको तर्फबाट सम्मान गरिएको थियो।
स्थानीय बालकलाकारहरुको सामुहिक नृत्यले कार्यक्रमको रौनक थपेको थियो। ईनास पेन्सिलभेनियाका उपाध्यक्ष विशाल ढुङ्गनाको कार्यक्रम प्रस्तुति पनि रोचक थियो।
हिमालयन तेक्वान्दो र ग्लोवल तेक्वान्दोका खेलाडीहरुले स्वयम सेवकको भूमिकामा जिम्मेवारी पूर्वक निभाएका थिए। त्यसो त दर्शक पनि निकै सब्यरुपमा कार्यक्रमभरी मनोरञ्जनमा तल्लिन भए।
कोरोना संक्रमण पछि पेन्सिलभेनियामा रहेका नेपालीले पहिलो पटक बृहत साङ्गीतिक कार्यक्रममा सहभागि हुन पाएका हुन् । ‘छोटो तयारीका कारण अझ सोचे जस्तो गर्न सकिएन ।’ व्यवस्थापनमा कमजोरी हुन नदिन शुरु देखि अन्तिम सम्म लागिपरेका अध्यक्ष गुरुङ्गले भने।’ कार्यक्रमलाई सभ्य र भब्य रुपले सफल बनाऊन सहयोग गर्ने सम्पूर्ण सहयोगि मन हरुलाई घेरै-घेरै धन्यवाद’ कार्यक्रमको समापन गर्दै अध्यक्ष घले गुरुङ भन्दै थिए, ‘यति खेर म विषेश गरि सम्मानित हुने व्यक्ति, डुर्क होम केयर, रोयल किचन, हिमालयन र ग्लोवल तेक्वान्दो, स्वयम सेवक तथा सम्पूर्ण ह्यारिसबर्गबासीलाई धन्यावाद दिन चाहान्छु।’
कार्यक्रमको टिकट खरिद गर्ने बीच गरिएको बम्पर ऊपहारमा ५६९ को टिकटले खसी जितेको छ । यस्तै १७६ नम्वर टिकटले रातो भाले जितेको छ।