अमेरिकामा शेर्पा किदूगद्वारा आयोजित फुटबलको उपाधि तामाङ एफसी रातोलाई
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
न्यूयोर्क, अमेरिका। युनाइटेड शेर्पा संघ (यूएसए) इंक शेर्पा किदूगद्वारा आयोजित वार्षिक खेलकुद अन्तर्गत फुटबल तर्फको उपाधि तामाङ एफसी (रातो) न्यूयोर्कले जितेको छ।
न्यूयोर्कको रान्डल आइल्याण्ड फिल्ड १० मा आइतवार भएको फाइनलमा बाल्टिमोर एथलेटिक क्लबलाई दुई शुन्यले हराउदै तामाङ एफसीले उपाधि जितेको हो ।
तामाङ एफसीलाई उपाधि दिलाउने क्रममा प्रविण बस्नेत र प्रज्ञान काफ्लेले एक एक गोल गरे।
खेलको २२ औं मिनेटमा प्रविणले टिमलाई अग्रता दिलाएका थिए। यस्तै दोस्रो हाफको १५ औं मिनेटमा प्रज्ञानले अन्तर दोब्वर पारे । फाइनल खेल ३५-३५ मिनेट खेलाएको थियो।
यस अगाडि आइतवार नै भएको सेमीफाइनलमा तामाङ एफसी रातोले आयोजक युनाइटेड शेर्पा एफसीलाई तीन शुन्यले हराएको थियो।

सेमीफाइनलमा पनि तामाङ एफसीका लागि प्रविन बस्नेत, प्रज्ञान काफ्ले र सुक्मान प्रधानले एक एक गोल गरेका थिए। अर्को सेमीफाइनलमा बाल्टिमोरले मुस्ताङ युनाइटेडलाई दुई शुन्यले हरायो।
व्यक्तिगत विधामा पनि तामाङ एफसी खेलाडी उत्कृष्ठ ठहरिए । प्रतियोगिताको म्यान अफ दि म्याच साजन मगर घोषित भए। सर्वाधिक गोलकर्ता प्रविण बस्तेत भए भने बेष्ट गोल किप्पर पुजन तामाङले पाए।
१३ टिमले भाग लिएको प्रतियोगिताको फेरयर प्ले सिन्धु एफसीले पायो। प्रतियोगिता तीन दिन सम्म चलेको थियो।
विजेता तथा उप विजेता टिमका खेलाडीलाई शेर्पा किदूगकी अध्यक्ष श्रीमति छिरिङ्ग शेर्पा लगायत ट्रफी तथा नगद पुरस्कार वितरण गरेका थिए।
उपाधि सँगै तामाङ एफसीले पाँच हजार पाँच सय ५५ अमेरिकी डलर पायो। उपविजेता बाल्टिमोरले तीन हजार तीन सय ३३ डलर पायो ।
२७ वर्ष अगाडि स्थापना भएको युनाइटेड शेर्पा संघ (यूएसए) इंक शेर्पा किदूगले वार्षिक खेलकुद अन्तर्गत विभिन्न खेलका प्रतियोगिता सञ्चालन गरिरहेको छ।
















