राती र कुहिरो लागेको बेला सवारी चलाउदा जान्नै पर्ने केही कुरा
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ पेन्सिल्भेनिया डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेसन पेनडटका अनुसार सबैभन्दा बढी दुर्घटना दर रातको समयमा हुन्छ।
अधिकांश गम्भीर दुर्घटनाहरू साँझको धमिलो प्रकाश वा अन्धकारमा हुन्छन्। समग्रमा, सडक दुर्घटनामा हुने मृत्युदर दिउँसोको तुलनामा रातको समयमा तीन देखि चार गुणा बढी हुन्छ।
कारण, दिउँसो गाडी चलाउनुको तुलनामा रातको समयमा गाडी चलाउनु बढी खतरनाक हुन्छ। यसका धेरै कारणहरू छन् । रातको समयमा तपाईंको दृष्टि निकै सीमित हुन्छ। अन्य सवारी साधनको हेडलाइटको चमकले तपाईंलाई तिर्मिराउने बनाउन सक्छ। थकित भएका वा मादक पदार्थ सेवन गरेर गाडी चलाउने मानिसहरू रातको समयमा सडकमा धेरै हुने सम्भावना हुन्छ।
कम उज्यालोका कारण, दूरी अनुमान गर्ने तपाईंको क्षमता घट्छ, रङ्गहरू चिन्न सक्ने क्षमता घट्छ र छेउको वस्तुहरू देख्ने क्षमता घट्छ। एक चालकको रूपमा, तपाईं सधैं अगाडिको सडकमा अचानक देखिने अप्रत्याशित वस्तुहरू—जस्तै पैदल यात्री, साइकल चालक, जनावर, आदि प्रति प्रतिक्रिया जनाउन तयार हुनुपर्छ ।
रातको समयमा यस्ता कुराहरूले अचम्ममा पार्ने सम्भावना बढी हुन्छ। सडकका साइनबोर्ड र अन्य वस्तुहरूको तुलनामा पैदल यात्रीहरूलाई रातको समयमा देख्न सबैभन्दा गाह्रो हुन्छ।
तपाईंले कानूनले तोके अनुसार रातको समयमा र अन्य समयमा आफ्ना हेडलाइटहरू सही रूपमा प्रयोग गर्नुपर्छ।
हेडलाइटका दुईवटा उद्देश्य हुन्छन्: तपाईंलाई देख्न मद्दत गर्नु र अरूले तपाईंलाई देख्न मद्दत गर्नु। हप्तामा कम्तिमा एक पटक आफ्ना हेडलाइटहरू सफा गर्नुहोस्। तपाईंले आफ्नो सवारी साधनमा ग्याँस (इन्धन) भर्दा यो काम गर्नुहोस् — फोहोर हेडलाइटले दिनुपर्ने प्रकाशको आधा मात्र दिन सक्छ।
राज्यको कानून अनुसार चालकहरूले निम्न अवस्थामा हेडलाइट प्रयोग गर्न अनिवार्य छ
धुमिल दिन वा भारी ट्राफिकको कारण पर्याप्त प्रकाश हुँदैन र सवारी साधन आफ्नो वरपरको वातावरणमा मिसिएको जस्तो देखिन्छ, स्पष्ट देखिँदैन।
जब वायुमण्डलीय अवस्था प्रतिकूल हुन्छ, जसमा वर्षा, हिउँ, असिना, कुहिरो, धुवाँ वा तुवाँलो पर्दछन्। खराब मौसममा केवल ‘लो बीम’ मात्र प्रयोग गर्नुहोस्। ‘हाई बीम’ ले यस्तो अवस्थामा दृश्यता झन् कम गराउँछ।
जब उनीहरूले आफ्नो सवारी साधनको अगाडि १,००० फीटको दूरीसम्म राजमार्गमा पैदल यात्री वा सवारी साधनहरू देख्न सक्दैनन्। सूर्यास्त र सूर्योदयको बीचको समयमा। कार्य क्षेत्रमा बाट गाडी चलाउँदा ।
मौसमको अवस्थाका कारण तपाईंको सवारी साधनको वाइपर लगातार वा बीच-बीचमा प्रयोग भइरहेको जुनसुकै समयमा।
डे-टाइम रनिङ लाइट्स मात्र पर्याप्त हुँदैनन्। तपाईंको गाडीको पछाडिको बत्ती पनि बलेको हुनुपर्छ।
राज्यको कानून अनुसार आवश्यक परेको बेला हेडलाइट प्रयोग गर्न असफल हुने चालकहरूलाई २५ अमेरिकी डलर बाट सुरु हुने जरिवाना र अन्य सम्बद्ध शुल्कहरू सहित कुल दण्ड एक सय डलरको हाराहारीमा पुग्छ ।
हेडलाइट र रात्रिकालीन ड्राइभिङ सम्बन्धी अन्य महत्त्वपूर्ण सुरक्षा जानकारी:
रातको समयमा गाडी चलाउँदा, विपरीत दिशाबाट अर्को सवारी साधन आइरहेको देख्ने बित्तिकै ‘लो बीम’ (डिपर) प्रयोग गर्नुहोस्, किनकि ‘हाई बीम’ ले अर्को चालकलाई तिर्मिराउने बनाउन सक्छ।
पेन्सिलभेनियाको कानून अनुसार विपरीत दिशाबाट आउँदै गरेको सवारी साधनको ५०० फीट भित्र हुँदा र अगाडि गइरहेको सवारी साधनको ३०० फीट पछाडि हुँदा सधैं ‘लो बीम’ प्रयोग गर्नु अनिवार्य छ।
यदि ‘हाई बीम’ बालेको गाडी तपाईंको तर्फ आउँदैछ भने, आफ्नो हाई बीमलाई द्रुत रूपमा केही पटक फ्ल्यास गर्नुहोस्। यदि ती चालकले लाइट डिम गरेनन् भने, सडकको दायाँ किनारतर्फ हेर्नुहोस्। यसले तपाईंलाई अर्को सवारी साधनको हेडलाइटले तिर्मिराउन बाट जोगाउनेछ र त्यो गाडी पास नभएसम्म तपाईंलाई आफ्नो बाटोमा सुरक्षित रूपमा अगाडि बढ्न मद्दत गर्नेछ।
अर्को चालकलाई सजाय दिने बहानामा आफ्नो पनि ब्राइट लाइट (हाई बीम) अन राख्ने प्रयास नगर्नुहोस्। यदि त्यसो गर्नुभयो भने, तपाईं दुवै जनाको आँखा तिर्मिराउदा दुर्घटना हुन सक्छ।
यदि पछाडिको गाडीको हेडलाइटको चमक तपाईंको भित्री रियरभ्यू मिररमा ठोक्किएर असजिलो भइरहेको छ भने, तपाईंले रियरभ्यू मिररलाई दिउँसोको सेटिङबाट रात्रिकालीन सेटिङमा स्विच गर्न सक्नुहुन्छ।
आफ्नो हेडलाइटको पहुँचभन्दा बढी गतिमा गाडी नलगाउनुहोस् । यसको अर्थ यति तीव्र गतिमा गाडी नजलाउनुहोस् कि हेडलाइटले देखाएको सडकको दूरीभित्र कुनै खतरा देखिएमा तपाईंले गाडी रोक्न नै नसक्नुहोस्। लो बीम हेडलाइटले अगाडि करिब २५० फीट मात्र उज्यालो दिन्छ।
सुख्खा सडकमा पनि यदि तपाईं ५५ माइल प्रतिघण्टाको गतिमा गुडिरहनु भएको छ भने गाडी रोक्न २५० फीटभन्दा बढी दूरी लाग्छ। रातको समयमा अँध्यारो सडकमा आफ्नो हेडलाइटको पहुँचभन्दा बाहिर जानबाट बच्न तपाईंले ४५ माइल प्रतिघण्टा भन्दा बढी गतिमा गाडी चलाउनु हुँदैन।
सडकको अवस्था
तपाईंको गाडी रोक्न सक्ने क्षमता सडकको अवस्थाले धेरै फरक पार्छ। सडकको अवस्था खराब हुँदा तपाईंले आफ्नो सवारी साधनलाई नियन्त्रणमा राख्न गति कम गर्नुपर्छ।
यदि तपाईं चिप्लो सडक, विशेष गरी घुम्तीहरूमा धेरै तीव्र गतिमा चलाउनुहुन्छ भने सबैभन्दा बढी जोखिममा पर्नुहुनेछ। सडक चिप्लो हुँदा घुम्तीहरू र मोडहरूमा गाडी अझ बिस्तारै चलाउनुहोस्।
भिजेको सडक
सबै सडकहरू भिज्दा चिप्ला हुन्छन्, तर भिज्दा चिप्लो हुने भनी चेतावनी संकेत राखिएका सडकहरूमा थप सावधानी अपनाउनुहोस्। वर्षा सुरु भएको पहिलो १० देखि १५ मिनेटमा सडकहरू धेरै चिप्ला हुन सक्छन्।
पानीले पिचमा भएको तेललाई सतहमा ल्याउँछ। तातो मौसममा यो समस्या झन् खराब हुन्छ, जब गर्मी र पानी मिलेर सडकको सतहमा धेरै तेल निस्किन्छ।
चिसो र भिजेको मौसममा, रुख वा भवनहरूको छाया पर्ने सडकका खण्डहरूमा बढी सावधानी अपनाउनुहोस्; यी क्षेत्रहरू छिटो जम्छन् र सबैभन्दा ढिलो सुक्छन्।
हाइड्रोप्लेनिङ
हाइड्रोप्लेनिङ भनेको पानी परेको बेला तीव्र गतिमा गाडी चलाउँदा टायर र सडकको बीचको सम्पर्क पूर्ण रूपमा टुट्ने र गाडी पानीको सतहमा तैरिने अत्यन्तै खतरनाक अवस्था हो।
जब सडकमा पानी जमेको हुन्छ, गाडी गुड्दा टायरले सडकको पानीलाई पन्छाउँदै अगाडि बढ्नुपर्छ। तर यदि तपाईंको गाडीको गति धेरै तीव्र छ वा गाडीको टायर खिइएको वा पुरानो छ भने, टायरले सडकको पानीलाई पर्याप्त रूपमा पन्छाउन सक्दैन। परिणामस्वरुप, पानी टायरको मुनि जम्मा हुन्छ र गाडीले सडक छोडेर पानीको पातलो तहमा पानी-स्की जस्तै तैरिन थाल्छ।
हाइड्रोप्लेनिङ हुँदा गाडी पानीमा तैरिने हुनाले तपाईंले स्टेयरिङ बङ्ग्याउँदा पनि गाडी मोडिँदैन। ब्रेक लगाउँदा ब्रेक लाग्दैन र गाडी चिप्लिरहन्छ।चालकले गाडीको नियन्त्रण पूर्ण रूपमा गुमाउँछ, जसले गर्दा ठूलो दुर्घटना हुन सक्छ।
भिजेको सडकमा तपाईं जति छिटो गाडी चलाउनुहुन्छ, तपाईंको टायरले सडकको पानी पन्छाउने क्षमता त्यति नै कम हुँदै जान्छ। पानी मात्र १/१० इन्च गहिरो भएको बेला पनि ३५ माइल प्रतिघण्टा जति कम गतिमा पनि गाडी हाइड्रोप्लेन हुन सक्छ।
पुराना टायरले यो समस्यालाई झन् खराब बनाउँछ। गाडी बिस्तारै चलाएर हाइड्रोप्लेनिङ कम गर्न सकिन्छ।
यदि तपाईंको गाडी हाइड्रोप्लेनिङ भइरहेको छ भने, निम्न कुराहरू गर्नुहोस्:
स्टेयरिङ ह्विलमा दुवै हात दह्रोसँग राख्नुहोस्। आफ्नो सवारी साधनको गति कम हुन दिन ग्याँस पेडलबाट बिस्तारै खुट्टा उठाउनुहोस्। अचानक ब्रेक नलगाउनुहोस् वा अचानक मोड्ने प्रयास नगर्नुहोस् किनभने यसले तपाईंको सवारी साधनलाई चिप्लाउनेछ ।
सवारी साधनको गति कम हुँदै जाँदा, सडकमा टायरको सम्पर्क बढ्दै जानेछ र तपाईंले राम्रो पकड पाउन थाल्नुहुनेछ।
गाडीलाई सडकमा राख्नका लागि मात्र र जति आवश्यक छ त्यति मात्र बिस्तारै मोड्नुहोस्। यदि तपाईंले ब्रेक प्रयोग गर्नै परेमा, बिस्तारै ब्रेक लगाउनुहोस्।
रातको समय बाहेक, कुहिरो र हिउँ यस्ता अवस्थाहरू हुन् जसले दृश्यता कम गर्दछ र तपाईंको अगाडि देख्ने क्षमता, तथा तपाईंको वरपर भइरहेका घटनाहरूमा द्रुत र सुरक्षित रूपमा प्रतिक्रिया दिने क्षमतालाई नाटकीय रूपमा घटाउन सक्छ।
बाक्लो कुहिरो लागेको बेला
कुहिरो सम्भवतः सबैभन्दा खतरनाक ड्राइभिङ वातावरण हो। तपाईं आफूले केलाई ठक्कर दिन लाग्नुभएको छ देख्न सक्नुहुन्न, र अरूले पनि तपाईंलाई देख्न सक्दैनन्।
यदि कुहिरो यति बाक्लो छ कि तपाईंले देख्न सक्नुहुन्न भने यात्रा सुरु नगर्नुहोस्। यदि तपाईं बाक्लो कुहिरोमा पर्नुभयो भने, कुहिरो नजिलिएसम्म सडकबाट पूर्ण रूपमा बाहिर, प्राथमिकताका साथ कुनै पार्किङ लटमा गाडी रोकेर पर्खनु सबैभन्दा राम्रो हुन्छ।
पार्क गरेको बेला, आफ्नो सवारी साधनलाई थप देखिने बनाउन हजार्ड लाइट अन गर्नुहोस् र आफ्नो सिट बेल्ट बाँधिरहनुहोस्।
जब तपाईंले कुहिरो लागेको अवस्थामा गाडी चलाउनै पर्छ, सधैं यी दुई कुराहरू याद गर्नुहोस्:
गति यति कम गर्नुहोस् कि तपाईंले देख्न सक्ने दूरीभित्र सुरक्षित रूपमा गाडी रोक्न सक्नुहोस्। तपाईंले आफ्नो स्पीडोमिटर ध्यानपूर्वक जाँच गर्नुपर्नेछ किनभने कुहिरोले तपाईं कति छिटो जाँदै हुनुहुन्छ भन्ने दृश्य जानकारी हटाउँछ; यसले गर्दा तपाईंलाई थाहै नपाई गति बढाउन सजिलो हुन्छ।
आफ्नो लो बीम हेडलाइटहरू र यदि तपाईंको सवारी साधनमा फग लाइटहरू छन् भने ती पनि अन गर्नुहोस् ताकि अरूले तपाईंलाई देख्न सकून्। यो दिउँसो वा रातको समय जुनसुकै बेला पनि गर्नुहोस्।
आफ्नो ‘हाई बीम’ प्रयोग नगर्नुहोस्। तिनीहरूले आफ्नो प्रकाश सिधै कुहिरोमा पठाउँछन्, जसले प्रकाश ठोक्किएर आफ्नै आँखामा फर्काउँछ, चमक पैदा गर्छ र अगाडि देख्न अझ गाह्रो बनाउँछ।
(पेनडटद्वारा सर्वसाधरणमा जारी अपिललाई हामीले अनुवाद गरेका हौ ।)














