‘अमेरिकामा सामाजिक सुरक्षा अपाङ्गता बीमाको ७० औँ वर्षगाँठ, ८० लाखले लिन्छन् सेवा’
बाल्टिमोर, मेरिल्याण्ड / सोसल सेक्युरिटी एडमिनिस्ट्रेशन (एसएसए)ले अपाङ्गता भएका अमेरिकीहरूलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धतालाई स्मरण गर्दै सामाजिक सुरक्षा अपाङ्गता बीमा (एसएसडीआइ) कार्यक्रमको ७०औँ वार्षिकोत्सव मनाएको छ।
एसएसडीआइ कार्यक्रम अगस्ट १, १९५६ मा तत्कालीन राष्ट्रपति ड्वाइट डी. आइजनहावरले सामाजिक सुरक्षा संशोधन विधेयकमा हस्ताक्षर गरेपछि लागू भएको थियो।
त्यसबेलादेखि, एसएसडीआइ अपाङ्गता गराउने रोग वा चोटपटकका कारण जीवन बदलिएका अमेरिकी श्रमिकहरूलाई सहयोग गर्ने हाम्रो राष्ट्रको प्रतिबद्धताको एउटा बलियो खम्बा बनेको छ।
“७० वर्षदेखि, सामाजिक सुरक्षा अपाङ्गता बीमाले लाखौँ अपाङ्गता भएका श्रमिकहरू र उनीहरूका परिवारहरूलाई अत्यावश्यक सहयोग प्रदान गर्दै आएको छ। यो कार्यक्रम केवल एउटा भत्ता मात्र होइन” कमिस्नर फ्र्याङ्क जे. बिसिग्नानोले भने, “यो जीवनको सबैभन्दा चुनौतीपूर्ण क्षणहरूमा अमेरिकी जनतालाई स्थिरता र आशा प्रदान गर्ने एउटा लाइफलाइन हो,” ।
एसएसका अनुसार हाल, अपाङ्गता भएका ८० लाखभन्दा बढी अमेरिकीहरू एसएसडीआइमा निर्भर छन्। कमिस्नर बिसिग्नानोले अपाङ्गता भत्ता प्राप्त गर्नेहरूका लागि सेवा प्रवाहमा ऐतिहासिक सुधारहरू गरिएको बताए ।
अमेरिकाले आफ्ना नागरिकहरूका लागि ७० वर्ष पहिले विशेष गरी काम गर्दागर्दै कुनै रोग वा दुर्घटनाका कारण अपाङ्गता भएका श्रमिकहरूलाई आर्थिक र सामाजिक आड भरोसा दिने उद्देश्यले सुरु गरिएको कार्यक्रम हो एसएसडीआइ ।
सुरुमा यो एउटा सानो सहयोग कार्यक्रम जस्तो देखिए पनि आज यो अमेरिकी श्रमिकहरूका लागि जीवनको सबैभन्दा कठिन घडीमा टेक्ने बलियो ‘लौरो’ वा ‘जीवनरेखा’ साबित भएको छ।
एसएसआइले सेवा अब डिजिटल र छिटो बनाइएको बताएको छ । कमिस्नर बिसिग्नानोले सेवाग्राहीका लागि ठूलो खुसीको खबर भएको बताएका छन् ।
‘प्रविधिको प्रयोग गरेर पुराना र झन्झटिला सरकारी प्रक्रियालाई पूर्ण रूपमा बदलिदिएका छन्।’ उनले भने ।
अब ४० दिन चाँडो निर्णय हुने बताइएको छ । पहिले अपाङ्गता भत्ता स्वीकृत हुन महिनौँ कुर्नुपर्थ्यो। तर, नयाँ प्रणाली लागू भएपछि सन् २०२५ को सुरुवाती महिनाहरूको तुलनामा अहिले ४० दिन चाँडो निर्णय हुन थालेको एसएसआइले जनाएको छ।
यस्तै अब ९० प्रतिशत काम अनलाइनबाटै हुने बनाइको छ ।
‘अब भत्ताका लागि निवेदन दिन वा बयानका लागि सरकारी कार्यालय धाइरहनु पर्दैन। ९० प्रतिशतभन्दा बढी काम भर्चुअल अर्थात् इन्टरनेटको माध्यमबाट घरमै बसीबसी हुने छ।’ एसएसआइले बिहिवार जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
अहिलेसम्म आफ्नो व्यक्तिगत ‘माई सोसल सेक्युरिटी’ खाता नबनाएका अमेरिकीहरूले ssa.gov/myaccount मा गएर खाता बनाउन सक्छन्। खाता बनाउनाले अनलाइन सेवाहरूको पूर्ण सेटमा तत्काल पहुँच प्राप्त हुन्छ।














