भारतीयमुलका वकिल माथि अमेरिकामा नक्कली असाइलम दाबी दर्ता गराएको आरोप, लाखौ डलर जरिवाना माग
वासिङ्टन/ अमेरिकी गृह सुरक्षा विभाग डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरीटी (डिएचएस) ले अमेरिकी आफ्ना ग्राहकहरूको तर्फबाट नक्कली असाइलम (शरणार्थी) दाबी दर्ता गरेको आरोप लागेका भारतीय मुलका एक अध्यागमन वकिल माथि भारी जरिवानाको भाग गरेको छ ।
युएस इमिग्रेसन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) को होमल्याण्ड सेक्युरिटी इन्भेष्टिगेसन्स (एचएसआइ) ले भारतीय मुलका वकिल सुरज राज सिंह विरुद्ध चार लाख ७० हजार भन्दा बढी असुल गर्ने भनेको छ ।
डिएचएसद्वारा बिहीबार जारी विज्ञप्तिमा जुलाई २८ मा, एचएसआइले वकिल सुरज राज सिंह विरुद्ध जरिवाना गर्ने आशयको सूचना घोषणा गरेको भनिएको छ ।
‘सिंहको देशव्यापी अभ्यास रहेको छ, जसमा उनले प्रायः भारतीय नागरिकहरूको प्रतिनिधित्व गर्छन् र अध्यागमन अदालतमा उनीहरूको तर्फबाट असाइलमको माग गर्छन्।’ विज्ञप्तिमा भनिएको छ, ‘शरणार्थी दाबीहरूको समर्थनमा, उनले विदेशी नागरिकहरूको यस्ता घोषणाहरू दर्ता गर्छन् जुन भाषा र विषयवस्तुमा दुरुस्तै वा लगभग मिल्दाजुल्दा हुन्छन्।’
डिएचएसले वकिलको दाबीमा कथित उत्पीडनका सम्बन्धमा एउटै वा लगभग उस्तै तथ्यगत विवरण र सहयोगी विवरणहरू समावेश हुने गरेको भनिएको छ ।
डिएचएसले वकिल सिंहले ५४ वटा अध्यागमन मामिलाहरूमा एक सय १८ वटा जालसाजी कागजातहरू तयार र दर्ता गरेको आरोप लगाएको छ।
“जालसाजीपूर्ण शरणार्थी दाबीहरूले अमेरिकी जनताको सुरक्षालाई खतरामा पार्छन्, हाम्रो अध्यागमन प्रणालीलाई कमजोर बनाउँछन्, र खतरनाक अपराधी गैरकानुनी विदेशीहरूलाई देश निकाला गर्ने प्रक्रियामा ढिलाइ गराउँछन्,” डिएचएसका मुख्य सल्लाहकार जेम्स पर्सिभलले भने। “आइसले वकिल सुरज राज सिंहबाट चार लाख ७० हजार भन्दा बढी जरिवाना माग गरिरहेको छ।”
उनले राष्ट्रपति ट्रम्प र सचिव मुलिनको नेतृत्वमा, यस्ता वकिलहरूलाई जबाफदेही बनाउने बताए ।
‘हाम्रो अध्यागमन प्रणालीलाई ठग्ने र दुरुपयोग गर्ने कार्यको अन्त्य गर्नेछौँ।’ सल्लाहाकार पर्सिभलले भने ।
डिएचएसद्वारा भारतीय मुलका अध्यागमन वकिललाई जरिवाना भाग गरिएको यो दोस्रो घटना हो। यस अगाडी जुन महिनामा आइसले भारतीयमुलकै वकिल विनोद डोडामानीलाई दुई लाख ५५ हजार दुई सय ३२ डलरको जरिवानाका लागि पाँच वटा जरिवाना आशयका सूचनाहरू जारी गरेको थियो















