नागरिकताको बारे रोचक कुराहरु :हेमराज शर्मा, उपाध्यक्ष,एनआरएनए
हालै संसदले पारित गरेको गैरआवासीय नेपाली नागरिकताको बारे यस अगि आफ्नो धारणा राखेको थिएँ । अग्रजहरु रामप्रताप थापा, चिरञ्जीवी ढकाल, कृष्ण भट्ट, पुष्प थापा हरुले यस बारे थप प्रष्ट गर्नु भएको छ । गैरआवासीय नेपाली नागरिकता र बैबाहिक नागरिकतासँग जोडिएका केही रोचक कुराहरु यहाँ प्रस्तुत गर्न चाहान्छु ।
१) नेपाली नागरिकसँग बिबाह गर्ने विदेशी महिलाले बिबाह लगत्तै नेपाली नागरिकता पाउने बिषयलाई धेरै जसोले भारतका महिलासँग मात्र जोडेको देखियो । नेपालीहरु ११० राष्ट्रभन्दा बढि राष्ट्रमा बसोबास गर्छन् । उनीहरुका बिदेशी श्रीमतीहरूले पनि यो अधिकारको उपभोग गर्न पाउने छन् । नेपाल गरिब छ, विदेशीले नेपालको नागरिकता लिन चाहिदैन भन्ने अहिलेको मानसिकता छ । तर कुनै दिन नेपाल समृद्ध बन्ला र विदेशीहरु नेपाल जान चाहन्छन होला । यस्तो अवस्थामा हाम्रो देश अन्तर्राष्ट्रिय सांस्कृतिमय देश बन्ने छ ।
२) विदेशमा बस्ने नेपाली महिलाका श्रीमानहरुलाई भने यो सुविधा हुने छैन र उनका संतान पनि सजिलै नेपाली नागरिकता प्राप्त गर्न सक्ने छैनन् ।
३) मानौ, बेलायत बस्ने नेपाली (जसले बेलायती नागरिकता लिएको छैन) ले यहाँको महिलासँग बिबाह गर्यौ । उनले चाहिन भने नेपालको अंगिकृत नागरिकता लिन पाउने भइन र नेपालका सबै राजनितिक, प्रशासनिक लगायतका सुविधा आम नेपाली सरह उपभोग गर्न सक्ने भइन (यहाँको नागरिकता छाडेको खण्डमा) । उनका छोरा नाती पनाति पक्का नेपाली हुने भए । तर बेलायत मै बस्ने नेपालीले यहाँको नागरिकता लिएको छ भने उसको नेपालको बंशजको नागरिकता रद्द हुने छ । यदी उसले गैरआवासीय नेपाली नागरिक लियो भने उसले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार मात्र उपभोग गर्न पाउने भयो । उसका नाती पछिको पुस्ता भने नेपाली रहन सक्ने छैन । विदेशी नागरिकता लिने नेपालीलाई यत्रो सजाय, नेपाली पुरुषसँग बिबाह गर्ने महिलालाई कत्रो पुरस्कार ? अनि खोई हाम्रो महिलालाई अधिकार ?
४) गैरआवासीय नेपाली नागरिकता लिदा नेपालको साबिकको नागरिकता र विदेशको पासपोर्ट बुझाउनु पर्ने हुन्छ । विदेशमा सेटल हुने क्रममा थुप्रै गैरआवासीय नेपालीहरुले झुट विवरण दिएका छन् भन्ने सुनिन्छ । यस्तो अवस्थामा नेपाली नागरिकताको नाम र जन्म मिति विदेशी पासपोर्ट भन्दा फरक हुन सक्छ र उनीहरु गैरआवासीय नेपाली नागरिकता लिनबाट बञ्चित हुन सक्छन् ।
५) मानौ, एउटै बाउका दुई छोरा मध्य एक जना अमेरिका बस्छ, अर्को जर्मनी बस्छ । यदि उनीहरुले त्यहाँको नागरिकता लिएका छन् भने अमेरिका बस्ने नेपालीलाई नेपालमा सम्पत्तिमा कुनै हदबन्दी हुने छैन भने जर्मनीलाई बस्ने (जहाँ दोहोरो नागरिकताको प्रावधान छैन) छोराको भने नेपालमा सम्पत्ती किनमेल गर्न हदबन्दी तोकिने छ (अहिले कै व्यवस्था कायम भएमा)।
६) नेपालमा बस्ने महिलाको सन्तानको बाबु पहिचान भएको छैन भने पनि उसले वंशजको आधारमा नेपाली नागरिकता पाउनेछ तर विदेशमा बस्ने नेपाली महिला भने यो हकबाट बञ्चित छन । भूगोल पार गर्दाको सजाय ।
७) संविधानको धारा २९१ ले विदेशको स्थाई बसोबास अनुमती प्राप्त नेपाली (जोसँग वंशजको नेपाली नागरिकता कायम नै छ) का केही अधिकार बैबाहिक पंजिकृत नागरिकलाई भन्दा कम गरेको छ ।
आदि आदि ———————-