प्रतिनिधि सभाले नागरिकता विधेयक पारित गरेकोमा एनआरएनए नेताहरुद्वारा स्वागत, अध्यक्ष आचार्यले भने ‘खुशीको दिन’
पेन्सिलभेनिया। प्रतिनिधिसभाले ‘नेपाल नागरिकता संशोधन विधेकय’ पारित गरेकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का नेताहरुले व्यक्तिगतरुपमा स्वागत गर्दै बधाई दिएका छन्।
शुक्रवारको प्रतिनिधि सभाको बैठकमा बहुमतको आधारमा नागरिकता विधेयक पारित भएको थियो। विधेयक पारित सँगै अब दक्षिण एशियाली बाहेक अन्य मुलुकको नागरिकता लिएका नेपालीलाई पनि नेपालको नागरिकता पाउने बाटो खुलेको छ। यद्यपी विधेयक राष्ट्रिय सभाबाट पारित भइ राष्ट्रपतिद्वारा प्रमाणिकरण हुन बाँकी नै छ।
वियेधकले विदेशको नागरिकता लिएका (दक्षिण एशियाबाहेक) नेपाली नागरिकलाई छुट्टै नागरिकता दिने व्यवस्था गरेको छ। जुन नागरिकतामा राजनीतिक र प्रशासनिक अधिकार रहने छैन। यस्तै विदेशमा जन्मिएका तर तीन पुस्ते नेपाली भएकाले पनि एनआरएनए नागरिकता पाउने छन्।
बंशजको आधारमा प्राप्त नागरिकता फिर्ता गरे पछि पाइने एनआरएनए नागरिकताबाट नेपालमा सांस्कृतिक, सामाजिक र आर्थिक अधिकार प्रयोग गर्न पाइने छ। त्यो अधिकार कति सम्म पाउने भन्ने विधयेक बोलेको छैन्।
यस अगाडि विदेशको नागरिकता दिए पछि नेपालको स्वत रद्द हुने व्यवस्था थियो। यो वेवस्थाले विषेशत अमेरिका, क्यानडा, अष्ट्रेलिया र युरोपका केही देशको नागरिकता दिएका नेपालीहरुलाई असुविधा भएको थियो।
नागरिकता विधेयक पारित भएकोमा एनआरएनएका अध्यक्ष कुल आचार्य र रविना थापाले छुट्टा छुट्टै रुपमा बधाई दिएका छन्। यो समाचार तयार पार्दा सम्म अर्का अध्यक्ष बद्री केसीले विधेयकका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन्।
अध्यक्ष आचार्यले विधेयक पारित भएकोमा खुशीको दिन भनेका छन्। “प्रतिनिधिसभाको आज बसेको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि व्यापक छलफल गरी पारित समेत गरेको छ। अब आउँदो साता उक्त विधेयकलाई राष्ट्रिय सभाले पनि पारित गर्ने र छिट्टै सम्माननीय राष्ट्रपतिज्यूबाट प्रमाणीकरण हुने हामीले विश्वास लिएका छौं। त्यस पछि गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको बाटो खुल्ने छ।”
फेसबुक स्टाटसमा गृहमन्त्री बालकृष्ण खाँण र एनआरएनएका उपाध्यक्ष महेश श्रेष्ठसँगको फोटो राख्दै अध्यक्ष आचार्यले भनेका छन्, “संसारभरि रहेका नेपालीहरुलाई मातृभूमिसंग जोड्ने यो प्रयासले छिट्टै सार्थकता पाउने हामीले अपेक्षा गरेका छौं।”
संस्थागत रुपमा एनआरएनएले अहिले सम्म कुनै प्रतिक्रिया दिएको छैन। तर अर्की अध्यक्ष रविना थापाले पनि समाजिक सञ्जाल मार्फत नागरिकता विधेयक पारित भएकोमा धन्यवाद दिएकी छन्।
“विदेशमा बस्ने दोस्रो पुस्तालाई समेत नेपालमा भावनात्मक रुपमा जोड्ने अपेक्षा गरिएको यो नागरिकताले नेपालको आर्थिक, सामाजिक र सांस्कृति क्षेत्रमा उल्लेख्य रुपमा सहयोग पुग्ने विश्वास लिएकी छु ।” थापाले भनेकी छिन्।
थापाले अहिले नै सबै कुरा पूर्ण नभएको भन्दै थप उपलब्धिका लागि सचेत रहन आग्रह गरेकी छिन्।
“नागरिकता प्राप्तिको लागि आवश्यक नागरिकता सम्बन्धी नियमावली, नागरिकता ऐन नबने सम्म ढुक्क भएर बस्ने अवस्था भने छैन् त्यसैले प्राप्त उपलब्धिहरुलाई संचय गर्दै थप उपलब्धिको लागि सचेत रहन आग्रह गर्दछु ।” थापाले भनेकी छिन् ।
यस्तै महासचिवद्वय डाक्टर केशव पौडेल र गौरी जोशिले पनि छुट्टा छुट्टै रुपमा नागरिकता विधेयकको स्वागत गरेका छन्।
गैर आवासीय नेपालीहरूले लामो समय देखि प्रतिक्षा गरिररहेको नेपाली नागरिकताको निरन्तरताको पहिलो सफलता स्वरूप गैर आवासीय नेपाली नागरिकताको सुनिश्चितता भएको भन्दै पौडेलले भनेका छन्, “सम्पूर्ण एनआरएनहरुलाई हार्दिक बधाई छ । यो संसारभरी रहेका हामी नेपालीहरु र हाम्रा सन्ततीलाई मातृभूमि नेपाल सँग जोड्नका लागि कोसेढुंगा साबित हुने बिश्वास रहेको छ।”
यस्तै अर्का महासचिव गौरी जोशीले “गैर आबासीय नागरिकताको माग सम्बोधन संगै, मातृभूमि प्रतिको आफ्नो दाईत्व अझै बढेको महसुस भएको छ भने,आगामी दिनहरुमा म लगायत सम्पूर्ण गैर आबासीयहरुले मातृभूमीका पक्षमा दिने योगदान अझ बढी सहज हुनेमा बिश्वस्त छु।” भनेका छन्