झाँक्री र आलेले दिए मन्त्रीबाट राजीनामा,पत्रकार सम्मेलनमै धुरुधुरु रोइन झाँक्री
काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आइतवार पदबाट राजीनामा दिएका छन् ।
बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाइसकेपछि दुबैले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामाबारे जानकारी दिएका हुन् ।
नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि उनीहरुले राजीनामा दिएका हुन् ।
राजीनामा बारे जानकारी दिन शहरी विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री झाँक्री रोएकी थिइन।
पत्रकार सम्मेलनमा उनले आफू बोल्न सक्ने हालतमा समेत नरहेको बताइन् । पत्रकारले किन भावुक देखिनु भएको भनेर प्रश्न सोधे पछि उनको आँखाबाट बर्बरी आँशु झारेको थियो।
उनले पत्रकारलाई अलि रिस उठ्ने प्रश्न सोध्न पनि आग्रह गरिन ।
यस्तै पार्टी अध्यक्ष माधव कुमार नेपाललाई राजीनामा बुझाइसकेका आलेले आइतबार बेलुका मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन् । उनले आफूले पदबाट राजीनामा दिए पनि सांसदको भूमिकामा रहिरहने र विकृतिविरुद्ध मेरो खबरदारी निरन्तर रहने छ ।
‘म यहाँबाट बिदा भएर सिंहदरबारबाहिर सांसदको भूमिकामा रहिरहने नै छु । विकृतिविरुद्ध मेरो खबरदारी निरन्तर रहिरहने छ । समयले मागेमा म सुधारका लागि नेतृत्वमा पुनः फर्किने नै छु’, आइतबार आयोजति पत्रकार सम्मेलनमा आलेले भने ।
आफूले मन्त्रालयमा २६३ दिन बिताएको भन्दै उनले ति दिनहरु बितेको आफूलाई पत्ता नभएको बताए । उनले आफू आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको बताए । जनताले आफ्नो काममको समीक्षा गर्ने उनको भनाइ थियो । उनले कागजमा मात्रै काम गरेकाहरु आफ्नो निगरानीमा पर्ने गरेको बताए । ‘पिँधमा बस्नेहरुभन्दा टाकुरामा बस्नेहरु सधैं मेरो निगरानीमा परे’, उनले भने ।
काम गर्दा शक्ति केन्द्रबाट दबाब र प्रभाव आएको भए पनि आफूले त्यसअनुसार काम नगरेको उनको दाबी थियो ।
नेकपा एकीकृत समाजवादीले गत जेठ २२ गते नै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । तर, पार्टीको निर्णयलाई प्रधानमन्त्रीले कार्यान्वयन नगरेपछि पार्टीमा बिबाद देखिएको थियो । यसबीचमा आलेसहितका १० सांसदहरुले पार्टी नेतृत्वलाई विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएका थिए । तर आलेसहितका ६ जनाले फिर्ता लिएका थिए । उनीहरुले मन्त्रीबाट राजीनामा नदिने अडान राख्दै आएका थिए ।
९० प्रतिशत अंक ल्याउने गरी काम गरें : आले
मन्त्री प्रमे आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याउने गरी काम गरेको दाबी गरेका छन् ।
पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याउने गरी काम गरेको दाबी गरेका हुन् । उनले आफ्नो काममको मूल्यांकन जनताले गर्ने बताए ।
‘कसैले तपाईंको कामबाट कति ल्याउँछस? भनेर सोधे भने ९० प्रतिशत अंक ल्याएको ठानेको छु,’ पत्रकार सम्मेलनमा आलेले भने, ‘बाँकी जनताले मूल्याङ्कन गर्ने नै छन् ।’उनले आफू पक्रयामा भन्दा पनि एक्सनमा जोड दिने व्यक्ति भएको बताए । मन्त्री बनेर काम गर्न दिइएकोमा आलेले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई धन्यवाद दिए ।
मन्त्री झाँक्री र कामु प्रधानन्यायाधीश कार्कीबीच भेटवार्ता
राजीनामा दिनु अगाडि मन्त्री झाँक्री र कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीबीच भेटवार्ता भएको थियो । कार्कीलाई भेट्न झाँक्री सर्वोच्च पुगेकी थिइन् ।
मन्त्री झाक्रीले भेटका क्रममा आयोजना र विकास निर्माणसँग सम्बन्धित विचाराधीन मुद्दालाई छिटो टुंगो लगाइदिन आग्रह गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
कार्कीले आफूले सम्भव भएसम्म सहयोग गर्ने, छिटो टुंगो लगाउन सकिने रहेछ भने मुद्दा फाँटबाट प्राथमिकता दिएर अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए ।