एनआरएनए अमेरिका विवादमा ६ बुँदे सहमति, दुबै पक्षको साधरणसभा एकै ठाँउमा
गौरी जोशीको रोहवरमा भएको सहमति पछि बुद्दि सुवेदी उत्साहित,कृष्ण लामिछाने देखिए न्याउरो
ल्यानक्यास्टर । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको पछिल्लो विवादमा आइतवार ६ बुँदे सहमति भएको छ।
छुट्टा छुट्टै अस्थित्वमा रहेको भनिएका दुई कार्यसमितिका अध्यक्ष बुद्दि सुवेदी र कृष्ण लामिछाने एकै ठाँउमा साधरण सभा गर्ने लगायतका बुँदामा सहमत भएका हुन् ।
एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद् (आइसीसी) को एउटा पुरानो निर्णयलाई टेक्दै क्षेत्रीय संयोजक प्रकास सापकोटाले कृष्ण लामिछानेको अध्यक्षमा एनसीसी अमेरिका गठन गरे पछि एनआरएनए अमेरिकामा नयाँ विवाद शुरु भएको थियो।
अघिल्लो वर्षको नियमित अधिवेशनबाट अध्यक्षमा बुद्दि सुवेदी निर्वाचित भएका थिए। बुद्दिले कृष्ण लामिछानेलाई हराएका थिए।
दुई कमिटी गठन पछि दुबै समुह छुट्टा छुट्टै साधरण सभाको तयारीमा जुटेका थिए । बुद्दि सुवेदी समुहले नर्थ क्यारोलिनामा साधरण सभा तोकेको थियो भने सोही समयमा कृष्ण लामिछाने समुहले टेक्सासमा साधरण सभाको तयारी गरेका थिए।
सहमति पछि सबै जना नर्थ क्यारोलिनामा जम्मा हुने छन्।
टेक्सासमा भएको सहमति पत्रमा बुद्दि सुवेदी र कृष्ण लामिछाने दुबैले हस्ताक्षर गरेका छन्। यस्तै साक्षिहरुमा आइसीसी महासचिव गौरी जोशि, अमेरिका क्षेत्रिय संयोजक रामकुमार सुवेदी, एनआरएनए अमेरिकाका उपाध्यक्ष कृष्णजीवी पन्थ, एनआरएनए अमेरिकाका उपाध्यक्ष सुमन थापाले हस्ताक्षर गरेका छन्।
यस्तै आइसीसीका पूर्व सल्लाहाकार हरिबोल भण्डारी, जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदी पनि सहमतिमा साक्षी बसेका छन्।