एनआरएनए अमेरिकाको नयाँ विवाद : “बुद्दि सुवेदी आफैले निम्ताएको संकट”
बिष्णुहरि घिमिरे।
ल्यानक्यास्टर। त्यसो त गैरआवासीय नेपाली संघ (एनआरएनए) अब विवादको पर्यावाची नै बनेको छ। आफै केही न केही विवाद उत्पन्न गराउने अनि त्यसको समाधानको नाममा घण्टौं सम्म बैठक गरेर समय विताउने, यो चलन नै भएको छ। एनआरएनएले के काम गर्यो भन्दा “विवाद गर्यो अनि बैठक गर्यो, छलफल जारी छ।”
अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को महाधिवेशनको नाममा झण्डै एक वर्ष लामो गलफत्ति सकिएको महिना दिन हुन नपाउदै एनआरएनए अमेरिकामा अर्को तमासा शुरु भएको छ। आइसीसीमा बग्रेल्ती पदमा मनोनित भए पनि भूमिका विहिन भएर मेसोमेलो नपाएका पदाधिकारीले “काम” देखाउन नयाँ नयाँ फण्डा ल्याएका हुन भन्दा फरक नपर्ला।
अर्को तर्फ आइसीसीका दुबै महासचिव अहिले अमेरिकाका छन्। उनीहरु निर्वाचित भए पछि अहिले सम्म पूर्ण बैठक बसेको छैन। पदाधिकारी बैठकमा तीन अध्यक्ष र महासचिवद्वय गौरी जोशि र डाक्टर केशव पौडेलले सहकार्य गर्दै अगाडि बढ्ने संकेत गरे पछि केही पदाधिकारीहरुमा छटपटी भएको बताइन्छ ।
अहिले सम्म भएका पदाधिकारी बैठकमा “अध्यक्ष र महासचिवहरु मात्र मिलेर हुन्छ?” “लौ त हामी पनि देखाउछौ एक्लै मिल्ने? ल मिलेर देखाउन त?” भन्ने स्वर पनि भेटिएका छन्। पंतिकारसँगको कुराकानीमा “हुदैहुदैन नी, जोशि र पौडेललाई त मिल्नै दिन भएन नी, कहाँ हुन्छ? उनीहरु मिले भने हामी के गर्ने?” भन्ने पनि भेटिएका छन्।
एनआरएनएमा विवाद हुदाँ फाइदा हुने दुईथरी छन् । एकथरी जतिधेरै गुट र विवाद भयो त्यतिनै आफ्नो भूमिका हुने र अर्को थरि आर्थिक लाभको हिसाव किताव गर्ने छन्। जे होस एनआरएनए आ आफ्नो स्वार्थका लागि देश छोडेकाहरुका लागि दन्तबझान गर्ने राम्रै चौतारी भएको छ।
अब मुलमुद्दामा लागौं, अहिले अमेरिकामा जवरजस्त नयाँ विवाद प्रवेस गराइएको छ। अमेरिकाज क्षेत्रका दुई मध्ये एक संयोजक प्रकास सापकोटाले कृष्ण लामिछानेको अध्यक्षतामा एनआरएनए अमेरिका पुनर्गठन गरेको भन्ने समाचार सार्वजनिक भए पछि तरङ्ग ल्याएको छ। अर्का संयोजक राम पोखरेलले त्यसको खण्डन गरेका छन्।
सापकोटाले बुद्दि सुवेदीको निर्वाचित कमिटीले शुल्क नतिरेको भन्दै आइसीसीको पूर्व निर्णयमा टेकेर नयाँ कमिटी गठन गरेको दलिल पेश गरेका छन्। यो एक प्रकारको “कु” हो। नत यो विधान संवत छ न त व्यवहारिक पनि। अनि यो समस्या समाधानको बाटो पनि होइन । अर्को तर्फ महाधिवेशन पछि आइसीसीको पूर्ण बैठक बस्न सकेको छैन। पदाधिकारी बैठकले अप्रिल २० तारिक सम्म शुल्क तिर्नु पर्ने समय सिमा दिएको छ। तर २५ तारिकमा शुल्क तिरेन भनेर कारवाही गर्नु संस्थामा नयाँ विवाद थप्नु बाहेक अर्को केही हुदै होइन।
महाधिवेशन भन्दा अगाडि अध्यक्ष कुमार पन्तले हस्ताक्षर गरेको पत्रलाई मात्र टेकेर निर्णय गर्नु भनेको बेइमानी पनि हो। हिजोका दिनका निर्णय भिन्न परिस्थितिमा भएका हुन्। किनकी आइसीसीको महाधिवेशन नै हिजोका सबै निर्णय, परम्परा र मान्यतालाई तोड्दै नयाँ शिराबाट भएका हुन्। त्यो समय र अहिलेको अवस्था फरक हो। सहमतिको नाममा तीन तीन अध्यक्ष बनाएर आउने अनि अहिले कुमार पन्तको पत्रलाई आधार मानेर कारवाही गर्नु भनेको छलकपटको चरम पराकाष्ट हो। यो त बृहतशान्ति सम्झौता पछि युद्दको मुद्दा लगाएर थुन्नु जस्तै हो।
अब अप्रिल ३० तारिकमा बस्ने आइसीसीको बैठकले यसबारेमा केही सम्वोधन गर्ला। सापकोटाको निर्णयको पक्ष र विपक्षमा तर्क होलान। बहुमतको चलखेल होला। महाधिवेशन अगाडिको परिस्थितिको बदला लिन जोड घटाउ होलान। समग्रमा यो वातावरण बन्नुमा अन्य थुप्रै कारणका अलवा एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दि सुवेदीका केही अपरिपक्क कदमले पनि मलजल गरेका छन्।
आइसीसीको महाधिवेशन अगाडि सम्म शुल्कबारेमा सुवेदीको आडान स्वाभाविक नै थियो। राजनीतिक दाउपेचमा एकले अर्कोलाई गलाउने हुन्छ नै। तर “कलिङ काठमाडौं”बाट फर्किए पछि पनि उनले शुल्क तिर्न आलटाल गर्दा विपक्षीले उनीमाथि प्रहार गर्ने ठाँउ पाए।
अझ यसरी भनौन आफ्नो सहज नियन्त्रणमा रहेको बललाई गलत पास गर्दा सिङ्गो टिम माथि विपक्षिको हाबी भयो र रक्षात्मक अवस्थामा पुगे। इजि गेम आफैले विगारे र अहिले दवाव खेप्दैछन्।
बुद्दि सुवेदी माथि लाग्ने गरेको सबै भन्दा ठूलो आरोप भनेको उनी कुनै पनि निर्णय गर्दा आफ्नो विवेक प्रयोग गर्दैनन्। साथै उनलाई प्रतिशोध लिने गरेको आरोप पनि छ। निर्वाचनका समयमा विभिन्न समिकरण बन्छन। तर सामाजिक संस्थामा विजय भए पछि सबैलाई समेट्ने प्रयास भने गर्नु पर्छ। त्यस मामलामा सुवेदी प्रष्ट चुकेको देखिन्छ।
प्रतिशोधकै कारण सुवेदीले कार्यभार संहालेको दश महिना हुदाँ सम्म पनि संरक्षक परिषद गठन गरेनन्। चुनावमा आफुलाई सहयोग नगरेको तुस साध्न सुवेदीले विधानमै रहेको व्यवस्थालाई कार्यन्वयनमा ल्याउन आलटाल गरे। एनआरएनको विधानमा निवर्तमान अध्यक्षलाई प्रमुख संरक्षक मानेको छ। एनआरएनए अमेरिकामा निवर्तमान अध्यक्ष सुनिल शाहले चुनावमा डाक्टर अर्जुन बञ्जाडेलाई सहयोग गरेका थिए।
अर्को तर्फ जिते पछि सबैको अध्यक्ष हुने प्रयास सुवेदीले गरेनन्। सुवेदीले पराजितहरूलाई मात्र होईन आफ्नै कमिटीमा पनि फरक समुहबाट जितेर आएकालाई समेट्न खोजेनन। सल्लाहाकार देखि विभिन्न ट्राकफोर्समा मनोनयन गर्दा सुवेदी संकुचित बने । फरक समुहबाट जितेर आएकाहरु सँग कहिल्यै मित्रवत व्यवहार गरेनन। आफ्नै टिमबाट जितेर आएकाहरुले पनि अहिले सार्वजनिक रुपमा सुवेदीको आलोचना गर्न थालेका छन्।
सुवेदीले नबुझेको अर्को पाटो के भने उनी प्राविधिक रुपमा मात्र विजयी भएका हुन्। एनआरएनए अमेरिकामा बहुमत ‘मत’ उनको विपक्षमा छ। विपक्षिहरू मिल्न नक्दाको फाईदा लिएका हुन र आफु सफल हुन अन्तत सम्म विपक्षिलाई मिल्न दिन हुदैन भन्नेमा उनी चुके । चार उमेदवार हुदाँ पहिलो हुने विजेता हुनु स्वाभाविक नै हो। तर हारेका अन्य तीन उमेदवारको मत सुवेदीको भन्दा धेरै छ। सुवेदीले ति विपक्षीलाई एक ठाँउमा आउने मौका दिए ।
यति सम्मकी अहिले कृष्ण लामिछाने,डा अर्जुन बन्जाडे र तिलक केही एकै ठाँउमा छन् । यो समुहलाई गौरी जोशि र सुनिल शाहको मौन समर्थन छ भनिएको छ। अघिल्लो वर्ष यो समुह यसरी नै एक ठाँउमा हुन्थे भने बुद्दि सुवेदीले एनआरएनए अमेरिकामा “पानी” भन्ने अवस्था थिएन्।
भनिन्छ आगो र शत्रुलाई कहिल्यै सानो सम्झन हुदैन। समयमा नै यसको व्यवस्थापन गर्नु पर्छ। तर त्यसको उल्टो बुद्दि सुवेदीले आफ्ना आलोचकलाई एकगठ्ठा हुने साइत जुराइदिए।
आईसीसीको झगडामा आवश्यकता भन्दा बढी नै चलखेल गरे । आफ्नै देश समस्याको चाङ्ग बढाएर विश्व सम्मेलनको दौडधूपमा लागे। “कलिङ काठमाडौलाई” धोका दिएको आरोप उनीमाथि छ। प्रकास सापकोटाको कदम आफैमा बैधानिक होइन । यसले संस्थालाई झन झन विवादमा फसाउछ। संस्था वदनाम छ रमिते बनाईएको छ। तर यहाँ संस्थाको भन्दा व्यक्तिको स्वार्थ छ। अब बहुमत र अलपमतको खेल हुने प्रष्ट देखिएको छ।
आईसीसीमा अमेरिका क्षेत्रमा बुद्दि समुह अल्पमतमा छ। अमेरिका क्षेत्रमा बुद्दि सुवेदीका लागि बोलिदिने महाचसिव पौडेल पछि अर्का क्षेत्रिय संयोजक राम पोखरेल र उपसंयोजक रामकुमार सुवेदी बाहेक अर्को भेट्न गाह्रो छ। अमेरिका क्षेत्रको आइसीसी पदाधिकारीहरुको अनऔपचारिक बैठकमा “बुद्दि सुवेदीका लागि सिंगो आईसीसीमा पनि बहुमत पुर्याउन” चुनौति दिएको खवर बाहिर आएको छ।
आइसीसीको ठूलो समुह सुवेदी माथि हिजोको रिस साधेर बसेको छ। मुख्यतय डाक्टर बद्रि केसी समुह अहिले रमिते बनेको छ। “यो अमेरिकाको आन्तरिक मामला हो म त्यो विवाद त्यहाँकै साथिहरुले मिलाउन् भन्ने पक्षमा छु,अध्यक्ष देखि सबै पदाधिकारी भएको ठाँउमा हामीले के भूमिका खेल्नु?” सतहमा अध्यक्ष बद्रि केसीको प्रतक्रिया हो यो । तर खासमा अहिले तातो गोली दुश्मनको पोल्टामा फालेर आफु रमिते हुनुको स्वाद बद्री समुहले लिएको छ।
अमेरिकी कानुनमा बुद्दि सुवेदी कमिटीको बैधानिकतामा चुनौति दिने ठाउ छैन। तर विद्रोही पक्षलाई संस्था सपार्न भन्दापनि भाडभैलो नै गर्न उद्दत हुने हो । सम्हालेर लैजाने जिम्मा संस्थापन पक्षकै हो । तर सुवेदी सँग त्यो क्षमता देखिएन।
त्यसो त यो जमाना भनेको बोल्नेको पिठो विक्ने हो । शुरुका दिनमा सुवेदीले परोपकारी काममा केही राम्रा शुरुवात गर्न खोजेका हुन्। अमेरिकी सरकारी निकाय सँगको सहकार्यमा केही राहात जन्मभूमि नेपालमा पठाएका पनि हुन्। तर संकुचित व्यक्तिलाई प्रचारको ठेक्का दिदा उनले जस पाउनै सकेनन् । “सही मालको खराब मार्केटिङ्ग भयो।” उल्टो उनी अकालमा ज्यान गुमाएका एक युवाको नाममा गोफण्ड मार्फत उठाइएको चन्दाको विवादमा फसे। आफ्नै आधारक्षेत्र न्युयोर्कमा बदनाम हुन पुगे। एनआरएनए व्यानरमा इन्सुरेन्सको प्रमोशनमा समय खर्चिए।
प्रकास सापकोटा समुहले जो जसको उक्साहटमा जे गरे त्यो न्याय संगत र समस्या समाधानको बाटो हुदै होइन यो अराजकताको पराकाष्ट हो। साथ साथै सुवेदीको हैकमवादी प्रवृति र अपरिपक्क निर्णयहरू पनि समस्याको अर्को कारण हो । विवाद समाधानका लागि यि दुबै धातक छ र सच्चिन आवश्यक छ।