स्वतन्त्र उम्मेदवार बालेन शाहले दिए कामठाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी
काठमाडौं ।स्वतन्त्र उम्मेदवार बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय सभागृहमा पुगी उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । युवाहरुमाझ चर्चित रहेका र्यापर शाहले निकै अघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताउँदै आएका थिए ।
पेशाले इन्जिनियर शाहले उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले जित्ने दाबी गरे । उम्मेदवारी दर्ता गर्नुअघि उनले आइतबार नै आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका थिए ।
उनको प्रतिबद्धतापत्रमा वृद्ध भत्ता वितरण घर–घरमै पुगेर गर्नेदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् ।
उनले कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गरेर इतिहास, योग, आयुर्वेद जस्ता पौराणिक शिक्षा दिने, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरूको होम डेलिभरी गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् ।
म कांग्रेस र एमालेको भोट काटेर जित्न आएको हुँ
शाहले आफू नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न उम्मेदवारी दिएको बताएका छन् ।
आइतबार राष्ट्रिय सभागृहमा पुगी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि मिडियासँग कुराकानी गर्दै शाहले भने, ‘म भोट काट्न उठेको हो । नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न आएको हुँ । उनीहरुको भोट काटेर म जित्न आएको हुँ ।’
एउटा स्वतन्त्र तथा वैकल्पिक शक्तिले अर्को यस्तै शक्तिलाई सहयोग गर्नुपर्ने उनले जनाए । उनले एउटा वैकल्पिक शक्तिले अर्को वैकल्पिक शक्तिलाई स्वीकार्नु पर्ने समेत बताए ।
‘वैकल्पिक शक्ति एउटा मात्र हुनुपर्छ भन्ने छैन । कतिपय वैकल्पिक शक्तिसँग हाम्रो सहकार्य भयो र कतिपयले मान्नु भएन । यो लोकतान्त्रिक अभ्यास हो,’ उनले भने ।
शाहले काठमाडौंको मेयरमा आफूले ९० हजार ८३५ मतले जित्ने दाबी दोहो¥याए । अघिल्लो पाँच वर्षकोजस्तो दुःख नभोग्न मतदाताले आफूलाई मत दिनुपर्ने उनले जनाए । व्यवस्थापनको कमजोरीले गर्दा काठमाडौंका जनताले सुख पाउन नसकेको बुझाई उनको छ ।
‘युवा भएर मात्र भोट मागेका छैनौं । दृष्टिकोण बनाएका छौं सोही अनुसार काम गर्छौं भनेर भोट मागेका छौं,’ शाहले भने, ‘स्थानीय निर्वाचन निर्दलीय हुनुपर्छ भन्ने हाम्रो सिद्धान्त हो ।’
मतदानअघि सकभर काठमाडौंका सबै वडा र टोलमा पुग्ने आफ्नो कार्यक्रम रहेको उनले सुनाए । उनले प्रश्न गरे, ‘चुनाव अघि घर–घर आउने मेयर चाहिएको हो की, पाँच वर्षसम्म घर–घर आएर सेवा गर्ने मेयर चाहिएको हो ? यो मतदाताले रोज्नुपर्छ ।’
काठमाडौं महानगरपालिका भित्र साढे दुई लाख घर रहेको र सकेसम्म सबैघरमा कुनै न कुनै माध्यमबाट पुग्ने प्रयास आफूले गर्ने उनले जनाए ।
बालेन शाहको यस्तो छ प्रतिबद्धतापत्र