अमेरिकी उच्चस्तरीय संसदीय टोली काठमाडौंमा
अमेरिका। अमेरिकी उच्चस्तरीय संसदीय टोली काठमाडौ पुगेको छ। काठमाडौं स्थित अमेरिकी दुतावासले संसदीय टोलीको स्वागत गरेको छ ।
सिनेटर किर्स्टन जिलीब्रान्ड (न्यूयोर्क)को नेतृत्वमा रहेको अमेरिकी उच्चस्तरीय संसदीय टोली नेपाल भ्रमणमा पुगेको हो। टोलीमा सिनेटरहरू शेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यू जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) सामेल छन्।
“नेपाल-अमेरिका सम्बन्धको ७५ औं वर्ष मनाउने पूर्वसन्ध्यामा यो उच्चस्तरीय भ्रमण दुई देश बिच रहेको आपसी लोकतान्त्रिक मान्यता, जनस्तरको सम्बन्ध तथा गहिरो कूटनीतिक साझेदारीको प्रमाण हो।” काठमाडौं स्थित अमेरिकी दुतावासद्वारा शुक्रवार जारी विज्ञप्तिमा भनिएको छ।
यस हप्ता अमेरिका र नेपालबिच कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठ मनाइँदै छ । “हामीहरूबिचको जारी दौत्य साझेदारीको एक हिस्साका रूपमा संयुक्त राज्य अमेरिकाको उच्च–स्तरीय संसदीय टोली औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेको हो ।” दुतावासले भनेको छ।
अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटघाट गरेर विभिन्न विषयमा छलफल गर्ने जनाइएको छ । अमेरिकी संसदीय टोलि हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभावमाथि समेत केन्द्रित रहेको दुतावासले जनाएको छ ।
“यस गम्भीर सङ्कटका बारेमा थप बुझ्नका लागि उहाँहरूले शनिबार दिउँसो एक पदयात्रामा भाग लिने योजना बनाउनुभएको छ ।” दुतावासको विज्ञप्तिमा भनिएको छ।
पोल्याण्ड र भारत लगायतका देशहरूको लामो भ्रमणको सिलसिलामा अमेरिकी टोली नेपाल पुगेको हो। रुसको नाजायज र अन्यायपूर्ण युद्धका विरुद्ध अमेरिकाले युक्रेन र नेटो गठबन्धनप्रतिको आफ्नो सहयोगलाई कसरी जारी राख्न सक्छ भन्नेबारे बुझ्नका लागि संसदीय टोलीले पोल्याण्डको यात्रा गरेको थियो ।
युक्रेनमा रुसले गरेको क्रूर हमलाको निन्दा गर्ने अधिकांश देशहरूमा नेपाल सामेल भएको छ ।
फोटो काठमाडौं स्थित अमेरिकी दुतावासको फेसबुक पेजबाट