एमालेको स्थानीय तह निर्वाचन घोषणापत्र, रेलका कुरा देखि निशुल्क विद्युत र औषधी सम्म
काठमाडौं ।नेकपा एमालेले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार घोषणापत्र सार्वजनिक गरेका हुन् ।
एमालेले केन्द्रीय घोषणापत्रसँगै ७५३ वटै पालिकाको प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेको छ । सबै पालिकाले आ-आफ्नो क्षेत्रमा स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
स्थानीय तह निर्वाचनका लागि एमालेका ६ संकल्प
घोषणापत्रमा विभिन्न ६ वटा संकल्प गरिएको छ । “हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुने छन्। हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुनेछन्। हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुना बन्नेछन् ।” भनिएको छ।
यस्तै हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन्। हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन्। हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्नेछन् ।”
यसपटक पनि छोडेन रेल, ठूला सहरमा रेल लगायतका यातायात प्रणालीको विकास गर्ने प्रतिबद्धता
नेकपा एमालेले सार्वजनिक यातायात सेवालाई प्रभावकारी बनाउन रेल सेवाको विकास गर्ने जनाएको छ ।
‘सार्वजनिक यातायात प्राधीकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने । ठूला सहरहरूमा रेल, बस र्यापिड ट्रान्जिट लगायतका यातायात प्रणालीको विकास गर्ने । ठूला नदी प्रणालीहरूमा जल यातायातको विकास गर्नेे,’ घोषणापत्रमा एमालेले लेखेको छ ।
अघिल्ला स्थानीय, संघ र प्रदेशको चुनावमा पनि एमालेले घोषणापत्रमा रेल र जल यातायात सेवालाई उच्च प्राथमिकता दिएको थियो । तर दुवै कुरा उसले पुरा गर्न सकेको थिएन । यसपटक सार्वजनिक गरेको घोषणापत्रमा पनि एमालेले रेल र जल यातायात दुवै सेवालाई प्राथमिकतामा राखेको छ ।
घोषणापत्रमा एमालेले सहज आवागमन, अर्थतन्त्रमा गतिशीलता र सेवा एवं आपूर्ति व्यवस्था सुनिश्चित गर्न दिगो यातायात पूर्वाधारको विकास गर्ने जनाएको छ ।
सडक, हवाइ, जल, केबुलकार र रोपवे, दुरसञ्चार लगायत आवागमन र सञ्चार सम्बन्धका सबै माध्यमहरूको विकास र प्रयोग गरी आवागमन, सेवा र आपूर्ति व्यवस्थालाई सहज र आधुनिक बनाउने दाबी घोषणापत्रमा गरिएको छ ।
प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयमा सुधार
एमालेले घोषणापत्रमा प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालय सुधारमा जोड दिएको छ ।
‘गुणवान र सक्षम नागरिक तयार गर्न शिक्षा सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दैसामुदायिक शिक्षालाई गुणस्तरीय, सिपमूलक र जीवनउपयोगी बनाउने,’ घोषणापत्रमा एमालेले भनेको छ, ‘विद्यालय जाने उमेरका सबै बालबालिकालाई प्रारम्भिक बालविकास लगायत आधारभतू तथा माध्यमिक शिक्षामा सहज पहुँच पुर्याउने ।’
बीचैमा पढाइ छाड्ने समस्याको समाधान गर्ने र विद्यालय जान नसक्ने बालबालिकाका लागि विशेष व्यवस्था गर्ने समेत घोषणापत्रमा उल्लेख छ ।
विपदका कारण विद्यालय जानबाट बञ्चित बालबालिकाहरूका लागि विशेषव्यवस्था गर्ने, पालिकाहरूलाई पूर्ण साक्षर घोषणा गर्ने, प्रौढ तथा अभिभावक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, जीवन पर्यन्त सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षासम्बन्धी कार्य सञ्चालन गर्ने प्रतिवद्धता एमालेले जनाएको छ ।
‘पुस्तकालय स्थापना गर्ने, सामुदायिक शिक्षालाई गुणस्तरीय, प्रतिष्पर्धी र सहज पहुँचभित्र पुर्याउन पर्याप्त कक्षा कोठा, पुस्तकालय र प्रयोगशाला, विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था, आवश्यक जनशक्ति, तालिम, खेलकुद मैदान, विद्यालय यातायात सुविधा सनिश्चित गर्ने पनि घोषणापत्रमा जनाइएको छ ।
‘बालिकामैत्री शौचालयको व्यवस्था, स्यानिटरी प्याडको नियमित र भरपर्दाे वितरण, बालिका छात्रवृत्ति, विद्यालय नर्स सेवा कार्यक्रमलाई निरन्तरता दिई विस्तार गर्ने, विद्यार्थीका लागि पोशाक, दिवा खाजा, पाठ्यसामग्री जस्ता प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने,’ घोषणापत्रमा लेखिएको छ ।
प्रत्येक पालिकामा कम्तिमा एउटा प्राविधिक माध्यमिक विद्यालय स्थापना गर्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ ।
‘माध्यमिक शिक्षालाई क्रमशः निशुल्क र अनिवार्य बनाउने, सामुदायिक विद्यालयको गुणस्तर विकास गरेर स्थानीय विद्यालयमै पढ्ने वातावरण निर्माण गर्ने,’ घोषणापत्रमा उल्लेख छ ।
सबैभन्दा योग्यलाई शिक्षण पेशामा आकर्षित गर्न आवश्यक नीति र योजना तरजुमा गर्ने पनि एमालेले जनाएको छ ।
अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने औषधि स्थानीय तहमै उपलव्ध गराउने
एमालेले स्थानीय तहका प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण गरी सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ ।
घोषणापत्रमा पूर्वाधार, जनशक्ति, वित्तीय व्यवस्था र स्वास्थ्य चेतनाको विकासद्वारा स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन र निरोगी नेपाल निर्माण गर्ने जनाइएको छ ।
यस्तै आरोग्यता, स्वास्थ्य परीक्षण, निशुल्क आधारभतू स्वास्थ्य सेवा, जटिल रोगको निशुल्क उपचार, विमा, स्वास्थ्य पूर्वाधार र जनशक्तिको समष्टिगत व्यवस्था मार्फत स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने दाबी पनि एमालेले गरेको छ ।
‘प्रत्येक पालिकामा निर्माणाधीन आधारभूत अस्पताल सम्पन्न गर्ने, प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण र सञ्चालन गर्ने, त्यसका लागि आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गर्ने,’ घोषणापत्रमा उल्लेख छ ।
निजी, सहकारी तथा सामुदायिक क्षेत्रसँगको पहल, समन्वय र सहकार्यमा निर्मित अस्पतालद्वारा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध हुने कुरा सुनश्चित गर्ने पनि घोषणापत्रमा लेखिएको छ ।
स्वास्थ्य सेवा शिविर सञ्चालन, प्रजनन् स्वास्थ्य, पोषण सेवासम्बन्धी कार्य गर्ने, गंभीर रोगको पूर्वपरिक्षण (स्क्रिनिङ) र पाठेघरको क्यान्सरको निशुल्क परीक्षण गर्ने प्रतिवद्धता एमालेले गरेको छ ।
‘प्रत्येक नागरिकको अनिवार्य स्वास्थ्य विमा गर्ने, जेष्ठ नागरिक, विपन्न, दलित, एकल महिला र अपाङ्गता सहितका व्यक्तिको स्वास्थ्य विमा निशुल्क गर्ने,’ घोषणापत्रमा लेखिएको छ ।
स्पाइनल इञ्जुरीका कारण अपाङ्गता भएका लगायत गंभीर प्रकृतिको अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना तथा उनीहरूलाई आवश्यक पर्ने औषधि र अन्य सहायता सामग्री स्थानीय तहमै उपलव्ध गराउने व्यवस्था गर्ने प्रतिवद्धबता एमालेको छ ।
‘एक घर एक धारा’ अभियान सुरु गर्ने, दुई वर्षमा सबै नागरिकको पहुँचमा खानेपानि पुर्याउने
एमालेले ‘एक घर एक धारा’ अभियान सुरु गरी आगामी दुई वर्षमा सबै नागरिकको पहुँचमा खानेपानी पुर्याउने जनाएको छ ।
‘प्रत्येक नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी र सरसफाइको व्यवस्था मार्फत सफा, सुन्दर र सभ्य पालिका निर्माण गर्ने,’ घोषणापत्रमा भनिएको छ, ‘एक घर एक धारा अभियान अन्तरगत आगामी दुई वर्षभित्र सबै नागरिकमा खानेपानीको सुलभ आपूर्ति सुनिश्चित गर्ने ।’
खानेपानी व्यवस्थापनमा जनसहभागिता सुनिश्चित हुनेगरी उपयक्तु संयन्त्र निर्माण गर्ने, ठूला खानेपानी आयोजना सङ्घ र प्रदेशसँगको सहकार्यमा निर्माण गर्ने प्रतिवद्धिता पनि घोषणापत्रमा गरिएको छ ।
घरायशी प्रयोगको लागि विपन्न परिवारलाई विद्युत निशुल्क
एमालेले विपन्न परिवारलाई घरायशी प्रयोगको लागि विद्युत निशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।
‘प्रत्येक नागरिकका घरमा विद्युत सुविधा उपलव्ध गराउने । विपन्न परिवारलाई घरायशी प्रयोगको विद्युत निशुल्क उपलव्ध गराउने,’ एमालेको घोषणापत्रमा उल्लेख छ ।
विद्युत उत्पादन र खपत बढाउने, आधुनिक ऊर्जामा नागरिकको सहज पहुँच सुनिश्चित गर्दै नवीकरणीय ऊर्जाको प्रयोगद्वारा दैनिक जीवनमा सहजता तथा रोजगारी, आय बृद्धि र पर्यावरण संरक्षण गर्ने प्रतिवद्धता पनि घोषणापत्रमा गरिएको छ ।
‘ऊर्जा उत्पादन र वितरणमा सामुदायिक, सहकारी एवं पालिकाको सहभागिता सुनिश्चित गर्नेगरी आवश्यक कानूनी र संरचनात्मक प्रबन्ध गर्ने । नेपाल विद्युत प्राधीकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग आवश्यक समन्वय र सहकार्य गर्ने,’ घोषणापत्रमा भनिएको छ ।
पालिकामा सञ्चालित जलविद्युत आयोजनाबाट स्थानीय समुदायलाई साझेदार र लाभान्वित बनाउन पहल गर्ने पनि एमालेले जनाएको छ ।
व्यावसायिक खेती गर्न चाहनेलाई भूमि बैंकमार्फत आवश्यक जमिन उपलब्ध गराउने
एमालेले व्यावसायिक खेती गर्न चाहनेलाई भूमि बैंकमार्फत आवश्यक जमिन उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।
‘भूउपयोग नीतिलाई प्रभावकारी कार्यान्वयन गर्ने । कृषियोग्य जमिनको जथाभावी प्रयोगलाई नियन्त्रण गर्ने,’ घोषणापत्रमा भनिएको छ, ‘व्यावसायिक खेती गर्न चाहनेहरूलाई भूमि बैंकमार्फत आवश्यक जमिन उपलब्ध गराउने । लिज, करार र सहकारी मार्फत खेती गर्न त्यस्ता जमिनका सन्दर्भमा आवश्यक कानूनी प्रबन्ध र राज्यको सुरक्षा प्रत्याभूति गर्ने ।’
सिंचाईको विस्तार, कृषि–भूमिको सही उपयोग र आधुनिक प्रविधिको माध्यमबाट कृषिको आधुनिकीकरण गर्दै मुलुकलाई आत्मनिर्भर र किसानलाई समृद्ध बनाउने प्रतिवद्धता पनि एमालेले जनाएको छ ।
जीवनको आधारका रुपमा रहेको खाद्य पदार्थ उत्पादन गर्ने कृषि क्षेत्रलाई उच्च महत्व दिएर लगानी अभिवृद्धि गर्ने र मुलुकलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य पनि घोषणापत्रमा राखिएको छ ।
‘उन्नत जातको बिउ, आधुनिक प्रविधि, कृषि तथा पशुसेवा सबन्धी प्राविधिक जनशक्ति उपलव्ध गराई कृषिको उत्पादकत्व वृद्धि गर्ने । उत्पादनको भण्डारण, प्रशोधन तथा बजारीकरणमा सहयोग गर्ने, कृषि विमा, कृषि कर्जा, कृषि उपजको समर्थन मूल्य निर्धारण, अनुदान जस्ता कदम मार्फत किसानको लगानीको सुरक्षा गर्ने । कृषिलाई लाभदायी पेशा बनाउँदै किसानहरूको बचत सुनिश्चित गर्ने,’ घोषणापत्रमा भनिएको छ ।
प्रत्येक पालिकाको पहिचान स्थापित गर्नेगरी विशेष खाद्यबाली, फलफूल, पुष्पखेती, नगदेबाली, पशुपन्छी, चराचुरुङ्गी वा जलचरको विकास गर्ने पनि एमालेले जनाएको छ ।
‘कृषि सहकारीहरूका माध्यमबाट व्यावसायिक कृषिको विकास गर्ने । उत्पादक र उपभोक्ताको हित संरक्षण गर्दै बिचौलियाको वर्चस्व अन्त्य गर्ने,’ घोषणापत्रमा उल्लेख छ, ‘जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट किसानहरूलाई संरक्षण गर्न सूचना प्रणाली, नयाँप्रविधिको विकास र क्षमता अभिवृद्धि गर्ने ।’
अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न जग्गा एकीकरण प्रणालीलाई प्रवद्र्धन गर्ने
एमालेले अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न जग्गा एकीकरण प्रणालीलाई प्रवद्र्धन गर्ने जनाएको छ ।
‘अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने । यसका लागि सार्वजनिक–निजी साझेदारी ढाँचा अवलम्बन गर्ने । जग्गा एकीकरण प्रणाली (ल्याण्ड पुलिङ) लाई प्रवद्र्धन गर्ने । नयाँ, आधुनिक र हरित सहरको विकासका लागि व्यवस्थित योजना तर्जुमा र कार्यान्वयन गर्ने,’ घोषणापत्रमा एमालेले भनेको छ ।
प्रत्येक नागरिकलाई सुरक्षित आवासको हक सुनिश्चित गर्दै एकीकृत वस्ती, योजनाबद्ध सहरी विकास र विकसित पालिका निर्माण गर्ने प्रतिवद्धता एमालेले गरेको छ ।
जोखिममुक्त आवास र वस्ती निर्माणका लागि राष्ट्रिय भवन सहिता तथा वस्ती विकास सम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।
‘सार्वजनिक जग्गा संरक्षण तथा व्यवस्थापन गर्ने । सार्वजनिक जग्गा अतिक्रमण र कब्जा गर्नेहरूमाथि कानूनी कारवाही गर्दै त्यस्ता जमिन सार्वजनिक स्वामित्वमा ल्याउने,’ घोषणापत्रमा भनिएको छ ।
पूर्वराजदूत शेर्पा, बुद्धिजीवी देवकोटासहितले छाडे माओवादी, एमाले प्रवेश
माओवादी केन्द्रका चर्चित नेताहरू एमाले प्रवेश गरेका छन् ।
माओवादी पोलिटब्युरो सदस्य तथा प्रमुख केन्द्रीय सहकारी विभाग धर्मदत्त देवकोटा, पूर्व राजदूत लक्की शेर्पा, पूर्वमेयर शालिकराम पौडेल, सागर ढकाल, डा.ल्हाक्पा शेर्पा, कोषबहादुर जिसीले पार्टी छाडेका हुन् ।
उनीहरूलाई शुक्रबार एमाले अध्यक्ष केपी ओलीले पार्टी मुख्यालय च्यासलमा पार्टी प्रवेश गराए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अवसरवादी, महत्वाकाक्षी, नीतिगत तथा सांगठानिक अराजकता एवं दलाल नोकरशाही, अस्थिर राजनीतिक चरित्रका कारण देशमा दक्षिणपन्थी, पूँजीवादी शक्तिको पिछलग्गुको रुपमा कम्युनिस्ट आदर्शविपरीतका कदमप्रति पूर्णतः असहमति रहेकाले पार्टी त्याग गरेको उनीहरूले घोषणा गरेका छन् ।