एक लाख युक्रेनी शरणार्थी अमेरिका भित्राउने राष्ट्रपति बाइडेन प्रशासनको घोषणा
वासिङ्टन । अमेरिकाले एक लाख युक्रेनी शरणार्थीहरू भित्राउने भएको छ। राष्ट्रपति जो बाइडेनको पूर्व प्रतिवद्धता अनुसार उनको प्रशासनले बिहीवार नयाँ कार्यक्रम घोषणा गरेको छ।
“युक्रेनका लागि एकता” भन्ने नारा सहित घोषित कार्यक्रममा शरणार्थीको संख्या तोकिनुका साथै उनीहरुको अमेरिका पुन: बसोबास सजिलो बनाउने भनिएको छ।
रुसको अप्रत्याशित आक्रमणबाट भागेका युक्रेनी नागरिकहरूलाई स्वागत गर्न घोषित “नयाँ मानवीय प्यारोल कार्यक्रम” मा बाइडेन प्रशासनले युक्रेनीहरूलाई मेक्सिकोसँगको दक्षिणी सीमाबाट अमेरिका प्रवेश गर्न खोज्न निरुत्साहित गरेको छ। जहाँ हालैका हप्ताहरूमा हजारौं शरणार्थीहरू अस्थायी शिविर र अन्य क्षेत्रमा जम्मा भइरहेका छन्।
होमल्याण्ड सेक्युरिटी विभागद्वारा बिहीबार जारी “नयाँ सुव्यवस्थित प्रक्रिया” ले युक्रेनीहरूलाई मानवीय प्यारोलको लागि आवेदन दिन अनुमति दिनेछ। प्यारोलले दुई वर्ष अमेरिका बस्न र काम गर्न अनुमति दिने छ। तर त्यस्तो प्यारोलले निवास वा नागरिकताको लागि भने बाटो प्रदान गर्दैन भनिएको छ।
प्यारोलमा योग्य हुन केही सर्तहरु छन्। जस्तै २०२२ फेब्रुअरी ११ सम्म युक्रेनको बासिन्दा हुनु पर्ने छ। यस्तै अमेरिकामा प्रायोजन गर्ने व्यक्ति वा संस्था हुनुपर्छ। खोपहरू पूरा गरेको र सुरक्षा जाँचहरू पास गरेको हुनु पर्ने विभागको विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रपति बाइडेनले गत महिना रुस-युक्रेन युद्ध पिडीत युक्रेनीहरुका लागि अमेरिकामा शरण दिने घोषणा गरेका थिए।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरीमा युक्रेन माथि आक्रमण गरे पछि ५० लाख भन्दा धेरैले देश छोडेर भागेका छन्। धेरैजसो युरोपका छिमेकी देशहरूमा शरण खोजिरहेका छन्।
“यो कार्यक्रम छिटो हुनेछ, यो सुव्यवस्थित हुनेछ, र म विश्वस्त छु कि संयुक्त राज्यले युक्रेनका जनताप्रतिको आफ्नो प्रतिबद्धतालाई सम्मान गर्नेछ,” उनीहरूले “हाम्रो दक्षिणी सीमानाबाट जानु पर्दैन।” राष्ट्रपति बाइडेनले बिहीवार पत्रकारहरु सँग भनेका छन्।
राष्ट्रपति बाइडेनले नयाँ मानवीय प्यारोल कार्यक्रमले आप्रवासी भिसा र शरणार्थी प्रशोधन सहित युक्रेनीहरूलाई उपलब्ध कानुनी मार्गहरू पूरक हुने बताएका छन् । “यसले परिवार वा गैरसरकारी संस्था जस्ता अमेरिकी प्रायोजक भएका युक्रेनीहरूका लागि युरोपबाट संयुक्त राज्य अमेरिकामा सुरक्षित कानुनी अध्यागमनको लागि उपयुक्त माध्यम प्रदान गर्नेछ।”
“रुसी आक्रमणबाट भागेर अमेरिकामा एक लाख युक्रेनी र अरूलाई स्वागत गर्ने राष्ट्रपति बाइडेनको प्रतिबद्धता पूरा गर्न पाउँदा हामी गर्व गर्छौं।” होमल्याण्ड सेक्युरिटी विभागका सचिव अलेजान्ड्रो मेयोर्कासले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्,”युक्रेनी जनताले आफ्नो देशमा पुटिनको अव्यावहारिक र अनुचित आक्रमणको परिणाम स्वरूप ठूलो त्रासदी र क्षति बेहोरेको छ,”
“युक्रेनमा रूसको क्रूर आक्रमणको परिणामको रूपमा काँधमा काँध दिएका हाम्रा युरोपेली सहयोगीहरूलाई समर्थन गर्दै होमल्याण्ड सेक्युरिटीले युक्रेनी जनतालाई राहत प्रदान गर्न जारी राख्नेछ।” विज्ञप्तिमा भनिएको छ।
“अमेरिकी विदेश विभाग युक्रेनका जनताको साथमा छ,” विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने “हामी एक लाख युक्रेनी नागरिकहरू र युक्रेनमा आफ्नो घर छोड्न बाध्य भएकाहरूलाई स्वागत गर्ने राष्ट्रपतिको प्रतिबद्धता पूरा गर्न मद्दत गर्नेछौं, र होमल्याण्ड सुरक्षा विभागसँगको हाम्रो साझेदारीले हामीलाई त्यो प्रतिबद्धता पूरा गर्न मद्दत गर्नेछ।”
अप्रिल २५, २०२२ देखि अमेरिका-आधारित व्यक्ति र संस्थाहरूले विस्थापित युक्रेनी नागरिकहरूलाई प्रायोजन गर्न डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी आवेदन दिन सक्छन् ।
गैर-सरकारी संस्थाका प्रतिनिधिहरू सहित कुनै पनि अमेरिकी नागरिक वा व्यक्तिले युक्रेनी आवेदकहरूलाई प्रायोजन गर्न सक्ने जनाइएको छ।
अमेरिकामा युक्रेनी नागरिकहरूलाई प्रायोजित गर्न खोज्ने व्यक्ति र संस्थाहरूले शोषण र दुर्व्यवहारबाट जोगाउन उनीहरूको आर्थिक सहयोग घोषणा गर्न र सुरक्षा पृष्ठभूमि जाँचहरू पास गर्न आवश्यक हुनेछ।
अमेरिकाले गत वर्ष अगस्टमा अफगानिस्तानमा तालिबान कब्जा गरेपछि हजारौं अफगानहरूलाई देशमा ल्याउन मद्दत गर्न मानवीय प्यारोल प्रयोग गरेको थियो।