एक करोड १९ लाख मतपत्र छापिए, सबै तहमा कार्यलय स्थापना
काठमाडौं । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई आवश्यक पर्ने मतपत्रमध्ये १ करोड १९ लाख छाप्ने कार्य सम्पन्न भएको जनाएको छ ।
आयोगले आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।
‘वैशाख ८ गतेसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्रको छपाइ सकिएको छ । बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी छ,’ पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।
आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जनाएको छ ।
‘७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको गाउँपालिका वा नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य ६७६ निर्वाचन अधिकृतहरूले सम्बन्धित पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुभएको छ,’ पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।
४४ वटा संस्थालाई निर्वाचन पर्यवेक्षणको अनुमति
निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको पर्यवेक्षण गर्न ४४ वटा राष्ट्रिय संस्थालाई अनुमति दिएको छ ।
पत्रकार सम्मेलन जनाइए अनुसार अनुमति पाएका ४४ वटा संस्थाका १० हजारभन्दा बढी पर्यवेक्षकले निर्वाचनको पर्यवेक्षण गर्ने आयोगले जनाएको छ ।
‘अनुमति पाएका संस्थाका पर्यवेक्षकले तोकिएको मतदान स्थलमा पर्यवेक्षण गर्नेछन् । आफ्नो नामावली भएको स्थानमा उनीहरुले पर्यवेक्षण गर्न पाउने छैनन्,’ पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भने ।
जिल्लाहरुमा निर्वाचन सामाग्री पठाउन आजबाट सुरु
निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने सामाग्रीहरु जिल्लाहरुमा पठाउन सुरु गरेको छ । आजबाट ती सामाग्री जिल्लाहरुमा पठाउन सुरु गरिएको आयोगजले जनाएको छ ।
‘निर्वाचन आयोगले आजैदेखि जिल्लाहरुमा निर्वाचन सामाग्री पठाउन थालेको छ । मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौंका लागि आवश्यक पर्ने निर्वाचन सामाग्री पठाइदै छ । अन्य जिल्लामा पनि क्रमस निर्वाचन सामाग्री पठाइन्छ,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज आयोजित पत्रकार सम्मेलनमा भने ।