ह्यारी भण्डारीलाई गण्डकी प्रदेशको सम्मान
पोखरा । नेपालीमुलका एक मात्र अमेरिकी विधायक ह्यारी भण्डारीलाई गण्डकी प्रदेशले सम्मान गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भण्डारीलाई मायाको चिनो सहित सम्मान गरेका हुन् ।
भण्डारी गण्डकी प्रदेशको पर्वतमा जन्मिएका हुन् । ‘म गर्व गर्छु, गण्डकी प्रदेशमा जन्मन पाएकोमा कृतज्ञ छु यो प्रेमिल सद्भाव र सम्मानका लागि।’ भण्डारीले सम्मान पछि भनेका छन्। ‘म जन्मेको गण्डकी प्रदेशको राजधानी तथा म युवा भएको तालकी रानी पोखरामा आज जुन माया, स्नेह र आशीर्वाद पाएँ, त्यो मेरो लागि अकल्पनीय थियो।’
एक साताको नेपाल भ्रमणमा आएका भण्डारी आफ्नो जन्मथलो पर्वतको थापाठाना जाँदै छन् । भण्डारी मेरिल्याण्ड राज्यसभाका विधायक हुन् । अमेरिकी मूलधारको राजनीतिमा यो पदमा पुग्ने भण्डारी पहिलो नेपाली हुन् ।
पहिलो कार्यकालको अन्तिम वर्षमा रहेका भण्डारीले पुन सोही पदमा उमेदवारी घोषणा गरेका छन् ।
पोखरामा सम्मान पछि भण्डारीको अभिव्यक्ति
म गर्व गर्छु, गण्डकी प्रदेशमा जन्मन पाएकोमा
कृतज्ञ छु यो प्रेमिल सद्भाव र सम्मानका लागि
आज वैशाख ३ गते २०७९ साल तदअनुसार अप्रिल १६, २०२२। साँच्चै नै एक जुगमा एक दिन एकपटक आउँछ जस्तै भयो मेरो जीवनमा। म जन्मेको गण्डकी प्रदेशको राजधानी तथा म युवा भएको तालकी रानी पोखरामा आज जुन माया, स्नेह र आशीर्वाद पाएँ, त्यो मेरो लागि अकल्पनीय थियो।
म अमेरिका जाँदा नेपालमा संघीयता थिएन, आज फर्कदा नेपाल संघियता कार्यान्वयनको क्रममा अगाडि बढिरहेको सुखद अनुभूति गर्न पाएँ। त्यो सुखद अनुभूति मलाई गण्डकी प्रदेशले गरायो। यस प्रदेशले आफ्नो एक छोरालाई अमेरिकामा नेपाल र नेपालीको शीर उचो पार्ने काम गरेको भनेर जुन न्यानो काँख दियो, प्रेमिल सम्मान दियो, त्यसका लागि मुख्यमन्त्री माननीय कृष्णचन्द्र नेपाली र उहाँको सिंगो मन्त्रिपरिषदका सदस्यहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु।
उहाँहरूले दिनुभएको सुझाव, सल्लाह र मार्गदर्शनलाई म मेरो जन्मदेशको आशीषका रूपमा लिएर सदैव अगाडि बढ्ने वाचा गर्दछु। म कुरामा भन्दा काममा विश्वास गर्ने व्यक्ति भएकाले अहिले म धेरै कुरा गर्नेभन्दा पनि समयक्रममा काम गरेर त्यो माया, सद्भाव र सम्मानको इज्जत राख्नेछु।
मलाई गण्डकी प्रदेशको छोरो भएकोमा गर्व छ र यसपटकको यो सम्मानले मैले आफू जन्मेको प्रदेशका लागि केही गर्नुपर्ने दायित्व थपिएको महसुस गरेको छु। त्यसका लागि म जिवनपर्यन्त प्रयत्न गरिरहने छु।
म यो अवसर जुटाउन प्रयत्न गर्ने सम्पूर्ण महानुभावहरूप्रति शीर निहुराएर प्रकट गर्दछु। म चाहन्छु, मेरो जन्मदेश यस्तै असल महानुभावहरूको सद्भावले सिञ्चित भैरहोस्।
डेलिगेट ह्यारी (एच.बी) भण्डारी, पीएचडी
विधायक, मेरिल्याण्ड हाउस अफ एसेम्बेली