अमेरिकी राष्ट्रपतिको भन्दा उपराष्ट्रपतिको कमाई धेरै
ल्यानक्यास्टर । अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो २०२१ को ट्याक्स रिटर्न सार्वजनिक गरेका छन्।
अमेरिकामा ट्याक्स फाइल मिति सकिनु भन्दा तीन दिन अगाडि ह्वाइट हाउसले शुक्रबार राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको आर्थिक विवरण सार्वजनीक गरेको हो। जसमा बाइडेन जोडीले ६ लाख र ह्यारिस जोडीले एक दशमलव ६ मिलिलयन डलर कमाएको रिपोर्टमा भनिएको छ ।
राष्ट्रपति जो बाडेन र प्रथम महिला जिल बाडेनले सन् २०२१ मा ६ लाख दश हजार सात सय दुई डलर आम्दानी गरेको रिपोर्ट गरेका छन्। विज्ञप्तिमा बाइडेन जोडीले गत वर्ष २४ दशमलव ६ प्रतिशत संघीय कर तिरेको जनाइएको छ। अमेरिकीहरूको लागि औसत संघीय कर दर लगभग १४ प्रतिशत हो।
राष्ट्रपति जोडीको आम्दानी २०२० को तुलनामा २०२१ मा आम्दानी केही बढेको छ। तर २०१९ को तुलनामा भने धेरै नै घटेको छ। बाइडेन जोडीले २०२० मा ६ लाख सात हजार तीन सय ३६ डलर आम्दानीको ट्याक्स फाइल गरेका थिए।
२०१९ मा बाइडेन जोडीले एक मिलियन कमाएका थिए। राष्ट्रपतिको आम्दानिको स्रोत पुस्तक बिक्री र शिक्षण पेशालाई देखाइएको छ।
सन् २०२१ मा राष्ट्रपति बाइडेनले एक लाख ५० हजार चार सय ३९ डलर संघीय करहरू तिरेका छन्। यस्तै आफ्नो गृहराज्य डेलावेयरमा तीस हजार सात सय ६५ डलर कर तिरेका छन् । प्रथम महिला जिल बिडेनले भर्जिनिया राज्यमा दुई हजार सात सय २१ डलर कर तिरेको रिपोर्टमा उल्लेख गरे छ।
अघिल्लो वर्ष राष्ट्रपतिले आम्दानीको तीन प्रतिशत भन्दा कम १७ हजार तीन सय ९४ डलर परोपकारी चन्दा दिएको उल्लेख छ। जबकी उनीहरुले २०२०२ मा तीस हजार सात सय चार डलर चन्दा दिएको भनिएको थियो । २०२० मा बाइडेन जोडीले कमाइको पाँच प्रतिशत दान दिइएको बताइएको थियो।
बाइडेनले गतवर्ष सबै भन्दा धेरै चन्दा आफ्ना स्वर्गीय छोराको नाममा स्थापित बेउ बाइडेन फाउन्डेशनलाई दिएका छन्। रिपोर्टमा फाउन्डेशनलाई पाँच हजार डलर चन्दा दिइएको जनाइएको छ ।
बाइडेन राष्ट्रपति भए पछि आम्दानी घटेको देखिएको छ। बराक ओबामाको दुबै कार्यकालमा उपराष्ट्रपति र ३६ वर्ष अमेरिकी सिनेट रहेका बाइडेनले २०१७ देखि २०१९ को बीचमा एक दशमलव ६ मिलियन भन्दा बढी कमाएका थिए ।
बाइडेनले पेन्सिलभेनिया विश्वविद्यालयबाट मात्र एक मिलियन भन्दा बढी कमाएका थिए। बाँकी आम्दानी भाषण र किताब विक्रिबाट देखाइएको थियो।
राष्ट्रपति बाइडेन जोडीको ट्याक्स फाइल विवरण
राष्ट्रपति जोडीको भन्दा उपराष्ट्रपति जोडिको आम्दानी धेरै
राष्ट्रपति बाइडेन जोडीको तुलनामा उपराष्ट्रपति जोडीको गत वर्षको कमाइ धेरै देखिएको छ। उपराष्ट्रपति कमला ह्यारिस र उनका पति, अधिवक्ता डगलस इमोफले २०२१ मा एक दशमलव ६ मिलियन डलर कमाएको जनाएका छन्।
रिपोर्टमा उपराष्ट्रपति जोडीले ३१ दशमलव ६ प्रतिशत कर तिरेको जनाइएको छ। ह्यारिस र इमोफले क्यालिफोर्निया एक लाख बीस हजार पाँच सय १७ डलर र न्यूयोर्क दुई हजार ४४ हजार डलर कर तिरेका छन्। यस्तै इमोफले डिस्ट्रिक्ट अफ कोलम्बियामा ५४ हजार चार पय ४१ डलर तिरेका छन्।
ह्यारिसले आफ्नो पुस्तक “द ट्रुथ्स वी होल्ड” को बिक्री र दम्पतीको स्वामित्वमा रहेको सान फ्रान्सिस्को सम्पत्तिको बिक्रीबाटको आम्दानी देखाएका छन्। ह्यारिस दम्पतिले गत वर्ष २२ हजार एक सय डलर दान गरेका छन् । उनीहरुले आफुहरुले अध्ययन गरेको होवर्ड विश्वविद्यालय र दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयलाई चन्दा दिएको जनाइएको छ।
उपराष्ट्रपति ह्रारिस जोडीको ट्याक्स फाइल विवरण
अमेरिका राष्ट्रपति रिचर्ड निक्सनको कार्यकालदेखि ट्याक्स रिटन जारी गर्ने परम्परा शुरु गरिएको हो। राष्ट्रपतिलाई आर्थिक पारदर्शीता बनाउन यस्तो व्यवस्था गरिएको जनाइएको थियो। तर बीचमा डोनाल्ड ट्रम्पले त्यो परम्परा तोडेका थिए। ट्रम्पले आफ्नो कर रिटर्न जारी गर्न अस्वीकार गरेका थिए ।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपतिले अमेरिकी जनतासँग कुल २४ वर्षको कर रिटर्न सेयर गर्नुभएको छ, जसले अमेरिकी जनतासँग कमाण्डर इन चीफको आर्थिक सम्बन्धमा पारदर्शी हुने प्रतिबद्धतालाई फेरि एकपटक देखाएको छ।”