अमेरिकामा क्रिप्टो मनी लन्ड्रिङ आरोपमा एक नेपालीलाई ४६ महिना जेल सजाय
टेक्सास । टेक्सासको एक अदालतले एक नेपाली दीपेन्द्र भुसाललाई ४६ महिनाको जेल सजाय सुनाएको छ ।
क्रिप्टोमा एक दशमलव चार मिलियन लन्ड्रिङ षडयन्त्रमा संलग्न भएको भन्दै जेल सजाय तोकिएको हो । दीपेन्द्र नेपालमा कुन जिल्लाका हुन भन्ने खुलेको छैन । यस्तै उनी कहिले देखि अमेरिका आए भन्ने पनि खुलेको छैन ।
टेक्सास नेपाली समाजका अभियान्ताले दीपेन्द्रको बारेमा थप विवरण दिन इन्कार गर्दै आएका छन् ।
टेक्सासको पूर्वी जिल्लामा न्याय विभाग (डीओजे) द्वारा प्रकाशित प्रेस विज्ञप्ति अनुसार, भुसाल धेरै वर्ष देखि सम्पत्ति शुद्धीकरण षडयन्त्रमा संलग्न थिए ।
दीपेन्द्रको विशेष भूमिका बैंक खाताहरू र मेलबक्सहरू खोल्नु थियो जुन त्यसपछि घोटालाका पीडितहरूबाट लुटिएको रकम लेनदेन गर्न प्रयोग गरियो। उनलाई अवैध धनको प्रकृति र स्रोत लुकाउन पछिल्ला कारोबारमा संलग्न हुनुमा पनि जिम्मेवार ठहराइएको छ ।
डीओजेले आपराधिक रकममा एक दशमलव चार मिलियन भन्दा बढी लण्ड्रिङको लागि दीपेन्द्र “व्यक्तिगत रूपमा जिम्मेवार” रहेको ठहराएको छ।
उनी पुरा घटनाको मुख्य मतियार भने होइनन् । उनलाई सहयोगि मानिएको छ । यो घटनामा भर्जिनियाका ७५ वर्षीय लोइस बॉयड र ३३ वर्षीय माणिक मेहतानी मुख्य दोषि पाइएको जनाइएको छ । उनीहरु दुबैजनालाई मनी लन्ड्रिङ षड्यन्त्र र ट्राभल ऐन उल्लङ्घन गरेको अभियोग लगाइएको छ ।
दीपेन्द्रले चार वर्षभन्दा कम जेल सजाय भोग्दा अन्य दुई जना बॉयड र मेहतानी २० वर्षसम्म जेल बस्न सक्नेछन्।