हरिशबर्गमा शिलाबहादुर र कुन्ति मोक्तानको सम्मान
हरिशबर्ग। अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित हरिशबर्गमा रहेका नेपालीभाषीले नेपाली सांगितिक क्षेत्रका चर्चित जोडि शिलाबहादुर र कुन्ति मोक्तानको सम्मान गरेका छन्।
नयाँ वर्षको उपलक्ष्यमा शनिवार आयोजित श्रष्टा सम्मान साँझमा हरिशबर्गमा बस्ने नेपालीको तर्फबाट इन्ट्रा फाउन्डेशन अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले मोक्तान जोडिलाई दोशल्ला ओडाएर सम्मान गरे ।
सो अवसरमा बोल्दै अधिकारीले हिजोको दिनमा दुखका बेलामा मोक्तान जोडिको गित संगितले जिउने आदार सिकाएको भन्दै धन्यवाद दिए।
“जतिखेर दुख परेको थियो,जुन बेला पिडामा छट्पटाइ रहेका थियौ,जतिखेर शरणार्थी शिविरमा एकदमै काहालि लाग्दो जीवन विताइरहेका थियौं, त्यो बेला तपाईहरुले हामीलाई गितसंगितको माध्यमद्वारा हौसला दिनु भएको थियो।” अधिकारीले भने, “जीवन जिउने आदार दिनु भएको थियो त्यो बेलामा, त्यसका लागि पनि धन्यवाद दिन चाहान्छु।”
भूटानी-नेपाली समुदायमा समाजसेवाको क्षेत्रमा चर्चित व्यक्ति अधिकारीले आफुहरु जहाँ पुगे पनि नेपाली पन छोड्न नसक्ने बताए । “हामी आफ्नो देश छोडे पनि नेपालबाट टाडा रहे पनि नेपाली भाषा, संस्कृति छोड्दैनौं, हामी नेपाली संसारको जुनसुकै कुनामा पुगे पनि आफ्नो पन र पहिचान छोड्दैनौ।”
नेपाली भाषा र संस्कृतिकै लागि आफूहरु भूटानबाट खेदिएर पूर्खाको भूमिमा बीसौं वर्ष शरणार्थीको कहाली लाग्दो जीवन विताउन परेको स्मरण गर्दै अधिकारीले जतिसुकै विकसित मुलुकमा बसे पनि नेपाली भाषा र संस्कृतिलाई बचाउनु पर्नेमा जोड दिए ।
“तपाईहरु धेरैलाई थाहा नहुन सक्छ, हाम्रो पूर्खा रोजिरोटिका लागि नेपालबाट भूटान पुग्नु भएको हो, तर हाम्रो भाषा र संस्कृति जोगाउन खोज्दा त्यहाँको शासकले हामीलाई भूटानबाट खेदे। नेपालीपन बचाउन खोज्दा आफ्नै पूर्खाको देशमा बीसौ वर्ष शरणार्थीको रुपमा कष्टकर जीवन विताउन पर्यो । अहिले अमेरिकामा छौ तर पनि हामीले हाम्रो संस्कार, संस्कृति नभुलौ हामीले एक दिन मरेर जानु पर्छ मिलेर बाँचौ।”
कार्यक्रमका मुख्य आयोजक गितकार तथा संगितकर्मी अगोम गुरुङले मोक्तान जोडिलाई मायाको चिनो प्रदान गरेका थिए।
“म यति भाग्यमानी छु आज मैले सोचेको भन्दा पनि ठूलो कुरा गर्न पाएको छु, दिदी कुन्ति र भिनाजु शिलाबहादुरलाई हरिशबर्गमा पाउँदा खुसी छु।” गुरुङले भने ।
ईनास पेन्सिलभेनियाका अध्यक्ष विकास घले गुरुङ लगायत अन्य कलाकारले पनि मोक्तान जोडिको सम्मान गरेका थिए ।
“नेपालमा हामी धेरै पटक सम्मानीत भयौ,आजको सम्मान हाम्रा लागि विषेश रहने छ,विदेशमा यसरी एक सक जनाले सम्मान गरेको यो पहिलो अनुभव हो । यसलाई हामीले विषेश रुपमा लिएका छौ ।” सम्मान पछि कुन्ति मोक्तानले भनिन् ।
शिलाबहादुरले पनि विदेशमा पाएको सम्मान प्रति आभार व्यक्त गरे “आज ठूलो सम्मान पायौं खुसी लागेको छ, नेपाली दाजुभाइले ह्रदयबाट नै सम्मान गर्नु भयो, धन्यवाद दिन चाहान्छु।”
कार्यक्रममा कुन्तिले आफ्ना नयाँ र पुराना गित प्रस्तुत गरेकी थिइन । कुन्ति र शिलाबहादुर दुबैले गितको उत्पतिको परिवेश सुनाउदा हल अझ रोमान्चित बनेको थियो ।
सांकृतिक कार्यक्रममा इन्द्र लामिछाने,जीवन गुरुङ्ग,टेक गहतराजले पनि प्रस्तुति दिएका थिए । जीवनले त कुन्ति सँग दुई वटा डोयल प्रस्तुति दिएका थिए ।
सांस्कृतिक कार्यक्रममा वाध्यवाधनमा गितारमा विजय गुरुङ भर्जिनिया,बाँसुरीमा हिम गजमेर, किबोर्डमा कृष्ण गुरुङ्ग, मादलमा बिकास घले गुरुङले साथ दिएका थिए ।