यी ८ कलाकार जसले अमेरिकामा कोर्ने छन् मिथिला सम्पदा
अमेरिका । मिथिला संस्कृति, यसले नेपाल मात्र होइन सिङ्गो दक्षिण एशिया बोल्छ। पूर्विय समाजको एउटा अभिन्न अंग मिथिला कलालाई अब यी ८ कलाकारले अमेरिकामा चिनाउने छन्।
मिथिला सेन्टर अमेरिकाको आयोजनामा ‘दिगो विकास लक्ष्यको लागी कला : मिथिला सम्पदा’ मुल नारा सहित अप्रिल १४ देखि १६ सम्म न्युयोर्कमा मिथिला महोत्सव हुँदै छ। जसका लागि आयोजकले सात महिला सहित ८ कलाकार छनौंट गरेको छ।
सेन्टरका संस्थापक अध्यक्ष तथा महोत्सव आयोजक अमित शाहका अनुसार नेपाल, भारत र अमेरिकामा रहेका कलाकार यो पटकको छनौटमा परेका छन् ।
इंद्रकला निधि, ज्यकाली मूखिया, प्रतीक रायमाझि, राजकुमारी मण्डल, रेवती मण्डल, रेमानी मण्डल, शाची श्रीवास्तव र स्नेहा मिश्रा जसले तीन दिन सम्म विश्वको राजधानी न्युयोर्कमा मिथिला सभ्यतामाथि न्याय गर्ने प्रयास गर्ने छन्।
शाहका अनुसार महोत्सवका लागि छनौट भएका अधिकांश महिला कलाकारहरु दुर्गम ग्रामिण क्षेत्रका हुन् । यसबर्ष महिला उद्यमशिलतालाई प्रवद्र्धन गर्न पनि धेरै महिला कलाकार छनौट गरिएको शाहको भनाई छ ।
मिथिला कला र संस्कृतिको प्रवर्द्धन र प्रदर्शन गर्नुका साथै मिथिला कलाको माध्यमबाट संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यको प्रदर्शन गर्ने निरन्तर प्रयास स्वरुप कार्यक्रमआयोजना गरिन लागिएको शाहले बताए ।
मार्च २५ तारिक सम्मको समय राखेर कार्यक्रमको मुख्य नारालाई शार्थक हुने गरि कलाकारको नमुना चित्र माग गरिएको थियो । प्राप्त चित्र मध्येमा आठ उत्कृष्ठ छनौटमा परेका हुन् ।
न्युयोर्कमा मिथिला महोत्सव हुन लागेको यो दोस्रो पटक हो । तीन बर्ष अगाडि सन् २०१९ मा पहिलो पटक अमेरिकाले मिथिला संस्कृतिसँग प्रत्यक्ष अनुभूत गरेको थियो ।
संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा भएको चित्रकला प्रदर्शनीले अमेरिका तथा अन्य राष्ट्रहरूमाझ सांस्कृतिक पर्वको रूपमा मनाउने मात्र नभई राष्ट्रसंघको दिगो विकास लक्ष्यहासिल गर्ने सन्दर्भमा समेत मिथिला सम्पदाबाट हुनसक्ने योगदानबारे सामुदायिकचेतना बढाउन पनि सहयोग पुग्ने आयोजकको विश्वास छ ।
यस पटकको महोत्सवमा मिथिला राजा सलहेश जयन्ती समारोह, नव वर्ष तथा जुड़ शीतल चाडर मिथिला साहित्य सम्बन्धी कार्यक्रमहरू पनि समावेश गरिनेछ ।
रामायण र अन्य हिन्दू साहित्यमावर्णनगरिएझैं प्राचीन नेपाली र भारतीय संस्कृतिको मिश्रण मिथिला संस्कृति हो । देवी सीता र भगवान रामको जीवन गाथाले यस संस्कृतिमा विशेष महत्व ओगटेको छ ।
हजारौं वर्षअघि मिथिला राज्यको राजधानी रहेको जनकपुरधाम जन्मभूमि भएकी सीता (जानकीको नामलेपनि चिनिने) को विवाह अयोध्याका राजकुमार भगवान रामकासाथ सम्पन्न भएको थियो ।
मिथिला संस्कृति एक जीवन्त संस्कृति पनि हो । किनकी नेपाल र भारत एवम् अन्य देशहरुमा बस्ने मिथिला समुदायका व्यक्तिहरुले आफ्नो सांस्कृतिक मूल्य र मान्यताहरुलाई दैनिक जीवन र व्यवहारमा अगाँलेका छन् ।
यस समुदायले आफ्नो धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदालाई समृद्धशाली बनाउन योगदान गर्दै आएको र मानवता, मित्रता, शान्ति र समृद्धिको मूल्यमान्यताको प्रवर्द्धन गरेको छ।
अमेरिकामा न्युयोर्क र न्युजर्सीमा लगायत बिभिन राज्यहरूमा समेत हजारौ को संख़यामा मिथिलासमुदायका व्यक्तिहरु दशकौंदेखि बसोबास बसोबास गर्दै आएका छन् ।
मिथिला कला संसारभर प्रख्यात छ। महिला आर्टिस्टहरुको विशेष योगदानले नै मिथिला चित्रकला विभिन्नरुपमा शताब्दीऔं देखि अस्तित्वमा छ। घरको भित्तामा बनाइने चित्रकलाकालागि महिला आर्टिस्टहरु प्रख्यात छन् र सो सम्बन्धी ज्ञान उनीहरुबाट नै नयाँपिढीहरुमा हस्तान्तरण हुँदै आएको छ।
मिथिला कलाले पौराणिक र धार्मिक विषयहरुका अतिरिक्त सामाजिक टिप्पणी एव सिंगारसजावट सम्बन्धमा पनि प्रस्तुत गर्दछ । मिथिला चित्रकलालाई समकालीन र संकलनीय कलाको रुपमा हाल मान्यता दिईएको छ।
महिला वा पुरुष आर्टिस्टका हातहरूले बनाएका कागजका तैलीय चित्रहरु माटोका भित्तामा बनाइएका चित्रहरु जस्तै छन् । विश्वकाविभिन्न आर्ट ग्यालरीहरुमा मिथिला चित्रकलाको प्रदर्शन भएको छ र यसबाट ग्रामीण समुदायका विपन्न महिलाहरुकालागि आयआर्जनको श्रोत पनि बढाउने नयाँ किसिमको घरेलु उद्योग फस्टाउने संभावना बढेको छ ।