अमेरिकामा २७ बर्ष देखि तेक्वान्दो सिकाउने एउटा नेपालीको प्रेरणादायी कथा : ‘भन्छन यहाँ पाएको सम्मानले छाति फुलेर आउछ’
बिष्णु हरि घिमिरे
अमेरिका । समय कति छिटो बित्छ पत्तै हुदैन । अस्ति भर्खर जस्तै लाग्छ उनले राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षक जागिर छोडेर अमेरिकाको यात्रा नापेको ।
पाटनको माटोलाई ढोगेर सात समुन्द्रपारि पाइला चालेका दिवाकर महर्जन ‘डान’ अमेरिका आएपछि नाम अगाडि ग्राण्डमास्टर थप्न सफल भए ।
त्यति मात्र होइन, अमेरिका आएर उनैले स्थापना गरेको यूएस वल्डक्लास तेक्वान्दो एशोशिएशन हलिउड स्कूलले यसै महिना २७ बर्ष पुरा गरेको छ ।
तत्कालिन समयमा नेपाली तेक्वान्दोमा समर्पण वा बिद्रोह भन्ने अवस्था थियो । यद्यपी अहिले पनि घरेलु तेक्वान्दो सो समस्याबाट मुक्त हुन सकेको छैन । कर्मशिल तेक्वान्दोकर्मी नेतृत्वको कोपाभाजनमा पर्दै आएकाछन् ।
महर्जनले दुई मध्ये दोस्रो बाटो रोजे । नेपाली तेक्वान्दोका ‘पिता’ भनिने ग्राण्डमास्टर जे के शीनको नजरमा महर्जन पहिल्यै परेका थिए । तेक्वान्दो प्रशिक्षकको जागिर सँगै निजि रुपमा मैत्रीपूर्ण तेक्वान्दो डोजाङ्ग चलाएका महर्जन जे के शीनकै निम्तामा अमेरिका आए । आफ्नो क्षमतालाई अझ तिखारे । एक बर्ष पछि सन् १९९५ मार्च १ तारिकमा आफैले स्कूल संचालन गर्ने रिक्स लिए ।
दुई वर्ष अगाडि नै रजत जयन्ति धुमधाम मनाउने योजना थियो । तर विश्वलाई नै त्राहिमाम बनाउने कोरोना महामारीले सबैलाई घरमै थुनिदियो । गत बर्ष पनि परिस्थिति अनुकुल थिएन । यस पटक यसै साता खेलाडिको बीचमा २७ औ बार्षिक उत्सव मनाए ।
‘आफुसँग भएको खुबी किन नदेखाउने भन्ने पहिले देखिनै थियो, कहिल्यै भाडामा नबसेको, अरुको अधिनमा बस्न नरुचाउने आफै केही गर्नुपर्छ भन्ने थियो, आँट गरे ।’ अतित सम्झदै महर्जन भन्छन् ।
तीस हजार डलर लगानीमा एक जना स्थानीयसँगको साझेदारीमा सानो कोठाबाट शुरु गरेको स्कूल अहिले अमेरिकाको सुदुरपश्चिम राज्य ओरिगन स्थित पोर्टल्याण्डकै उत्कृष्ठ मध्येमा पर्दछ । आफ्नै भब्य भवनमा रहेको स्कूलमा साना ठूला गरि तीन वटा हल छन् । ठूलो हलमा प्रतियोगिता नै आयोजना गर्न मिल्छ ।
‘शुरुमा सानो कोठामा शुरु गरे, केही महिनामा साझेदारले लागानी झिके, मेरो ठूलो दाइ न्यूयोर्कमा पहिले देखि बस्नु हुन्थो, उहाँले पनि सहयोग गरिदिनु भयो अरु साथिहरुको पनि साथ पाए ।’ महर्जन भन्छन, ‘दश बर्ष अर्को भाडाको हलमा बसे पछि त्यो ठाँउ पनि साघुँरो भयो र अहिलेको यो भवन आफैले किनेर सरेको हो ।’
अहिले सम्म तीन हजार भन्दा बढीले महर्जनको स्कूलबाट तेक्वान्दो सिकेका छन् । ‘बर्षमा सालाखाला एक सय १५ विद्यार्थी नियमित छन् । यो बीचमा हरेक बर्ष कम्तिमा ८० देखि एक सय ६५ जना सम्म भर्ना भएको रेकर्ड छ ।’ महर्जन भन्छन् ।
उनको स्कूलमा तेक्वान्दो प्रशिक्षण लिन माशिक एक सय ५० डलर शुल्क तिर्नु पर्छ । हलिउड तेक्वान्दो स्कूलका खेलाडीले नेश्नल च्याम्पियन र जुनियर ओलम्पिकमा दर्जनौ स्वर्ण पदक जितेका छन् । ६ जना प्रशिक्षकलाई रोजगारि दिएका छन् । जसमा चारजना फूलटाइमर हुन् ।
‘शुरुमा भाषाको केही समस्या हुने हो,मान्छेलाई विश्वास दिलाउन पनि गाह्रो हो तर हामीले जुन रुपमा सिकाउदै गयौ, राम्रो प्रतिक्रिया आउदै गयो,विद्यार्थी र उनका अभिभावकले नै हाम्रो बारेमा सकारात्कम टिप्पणी गरेपछि सजिलो भयो ।’ महर्जन सम्झन्छन् ।
‘नेपाल जस्तो होइन नी विवेक प्रयोग गर्न नपाउने, चाकरी गर्नेले मात्र ठाँउ पाउने, यो त अमेरिका हो, यहाँ क्षमता हुनेले देखाउने हो, गरिखानेको लागि हो यो देश ।’ उनी भन्छन् ।
महर्जनका अनुसार उनको स्कूलका नियमित विद्यार्थी मध्ये ८० प्रतिशत मेडिकल क्षेत्रमा काम गर्नेका बालबालिका छन् । एक पटक भर्ना भएपछि कम्तिमा एक बर्ष देखि पाँच बर्ष सम्म नियमित प्रशिक्षणमा आउने गरेको महर्जनको अनुभव छ । उनको स्कूलबाट तेक्वान्दो सिकेका मध्ये दुई जनाले छैटौ र १२ जनाले पाँचौ डान पाएका छन् ।
‘कसैले माग्यो भने सल्लाह दिने हो तर आफै अर्को स्कूल खोल्न जान्न ।’ महर्जन आफ्नो कामबाट पूर्ण सन्तुष्ट रहेको बताउछन् । ‘मैले अरु व्यवसाय गरेको भए यो भन्दा धेरै पैसा चै कमाउथे होला, ग्यास स्टेशनमा लगानी गरेको भए पनि दर्जनौं भइसक्ने थियो होला, म भन्दा पछाडि यहाँ स्टोर चलाउन शुरु गरेका मेरै दाईभाइको कमाई राम्रो छ, तर मलाई स्कूलकै कमाइमा सन्तुष्टि छ ।’
महर्जन आफूले व्यापार मात्र नभइ समाजसेवा समेत गरेको बताउछन् । ‘हाम्रो काम सेवामुलक हो,ज्ञान दिने हो, तेक्वान्दो भनेर किक मात्र हान्न सिकाउने होइन, अनुशासन, जीवन व्यवस्थापनका बारेमा पनि हामी सिकाउछौं ।’
उनी भन्छन्, ‘हाम्रो कामलाई अभिभावकले पनि मन पराएका छन्, उनीहरुले घरमा सिकाउन नसकेको अनुशासन,जीवनका व्यवहारिक पक्षका बारेमा हामी सिकाउछौं । त्यही भएर त अभिभावक पनि खर्च गर्न तयार छन् । मलाई त्यसैमा आनन्द आउछ ।’
यो २७ बर्षको बीचमा महर्जनको स्कूलमा तेक्वान्दो सिकेकाहरु अहिले अमेरिकाको विभिन्न क्षेत्रको उच्च तहमा पुगेका छन् । पोर्टल्याण्डका सरकारी अड्डा, सपिङ्गमहल होस या सडकमा रेडलाइटका कारण रोकिदा जब मान्छेसँग नजर जुध्छ उनीहरुले शिर निहुराएर सम्मान गर्छन ।
‘जहाँ जादा पनि चिन्ने मान्छे भेटिन्छन, सम्मान दिन्छन, सार्वजनिक ठाँउमा देखेर पनि चिन्छन । नेपालमा नै छु जस्तो लाग्छ ।’ अनुभव सुनाउदै महर्जन भन्छन्,’ एउटा नेपाली छोरोले अमेरिकामा पाएको सम्मानले त्यो बेला छाति फुलेर आउछ, अरबौ डलर कमाए भन्ने हुन्छ ।’