डिस्का ओपन २०२६ : आर्थिक संकलनका लागि आयोजित कार्यक्रममा सात हजार बढी उठ्यो
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / डिस्का ओपन २०२६ का लागि आर्थिक संकलन गर्न आइतबार साँझ पेन्सिल्भेनियाको ह्यारिषबर्गमा आयोजित कार्यक्रममा सात हजार अमेरिकी डलर भन्दा बढी रकम संकलन भएको छ ।
ड्रुक इन्टरनेशनल सितोरियो कराते डो एसोसिएसन (डिस्का) को आयोजनामा जुन २७ तारिख ह्यारिसबर्गमा डिस्का ओपन हुँदै छ । नेपाली भाषी भूटानी समुदायमा ‘सामुदायिक कराते’ अवधारणामा सन् २०१६ मा डिस्का स्थापना भएको हो ।
नेपाल स्थित शरणार्थी शिविरमा पहिलो कराते स्कुल स्थापना गरि झण्डै दुई दशक निःशुल्क कराते सिकाएका रण राई डिस्काको प्रमुख प्रशिक्षक छन् ।
डिस्काले सन् २०२४ देखि ‘डिस्का ओपन’ शुरु गरेको हो । ह्यारिसबर्गमा रहेको डिस्काको प्रमुख डोजोमा आयोजित आर्थिक संकलन कार्यक्रम कराते खेलाडीको मादल र बाँसुरी वादन बाट शुरु भएको थियो ।
त्यस पछि कराते खेलाडीहरूले नै नेपाली कला संस्कृति झल्काउने मौलिक नृत्य समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भूट्नीज कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) पूर्व अध्यक्ष टेक गुरुङले डिस्काले गर्दै आएको कामको प्रशंसा गरेका थिए ।
‘साँच्चै नै हाम्रो नानीहरूले वाद्यवादन देखि मार्शलआर्ट सहित धेरै बौद्धिक विकास हुने कुराहरू डिक्कामा सिक्नु भएको रहेछ भन्ने कुराको जानकारी पाए यो साँच्चै नै विशेष ठाउँ स्थान नै रहेछ ।’ टेक गुरुङले भने ।
उनले रण राईले करातेमा लामो समय सम्म योगदान दिएको भन्दै डिस्का ओपनको सफलताको कामना व्यक्त गरे ।
कार्यक्रममा अभिभावहरूको तर्फबाट रात्रि भोजको समेत आयोजना गरिएको थियो ।
‘सात हजार ५२ डलर संकलन भयो’ डिस्काका निवर्तमान कोषाध्यक्ष टेक नेपालले समाज टाइम्स सम्म भने,’यो अपेक्षा भन्दा राम्रो हो’ दुई घण्टाको कार्यक्रममा यति रकम संकलन हुनु ।’
कार्यक्रममा गायक गणेश गुरुङले समेत प्रस्तुति दिएका थिए । डिस्का प्रमुख प्रशिक्षक रण राईले प्रतियोगिता सम्पन्न गर्न सहयोगको लागि कार्यक्रम आयोजना गरिएको र अभिभावक बाट राम्रो सहयोग पाएको बताए ।
कार्यक्रम वीरेन गुरुङले सञ्चालन गरेका थिए ।

















