अमेरिकामा लोक गायक जयनन्द लामा प्रति श्रद्धाञ्जलि

अमेरिका । वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामा प्रति अमेरिकामा एक कार्यक्रम गरि श्रद्धाञ्जलि व्यक्त गरिएको छ ।
काठमाडौं स्थित आफ्नै घरमा गाडी पार्क गरेपछि बाहिर निश्कने क्रममा लडेर लामाको निधन भएको थियो । लामाको १३ औं पूण्य तिथिमा न्यूयोर्कमा रहेको धर्महाउसमा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न भएको हो ।
श्रद्धाञ्जलि कार्यक्रममा बौद्धधर्मगुरु आचार्य दावासाङपो योल्मोपाले मोलमपाठ गरेका थिए । यस्तै कार्यक्रममा उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुबाट स्वर्गीय लामाको तस्वीरमा खादा अर्पण गरेका थिए ।

सहभागी संघसंस्थाका प्रतिनिधिहरुले नेपालको लोकगीत संगीतको क्षेत्रमा स्वर्गीय लामाको योगदानको बारेमा चर्चा गरेका थिए ।
लामो समय देखि न्युयोर्कमा रहदै आएका सामाजिक अभियान्ता इन्द्र तामाङ तथा उनकी श्रीमति राधिका तामाङको सक्रियतामा शोक सभा आयोजना भएको हो ।
‘यो कार्यक्रमलाई सफल बनाउन अत्यन्तै महत्वपूर्ण योगदान दिनुहुने शेष ग्लानज्यू तथा तामाङ सोसाइटी अफ अमेरिकाको सम्पूर्ण पदाधिकारीहरुलाई आभार प्रकट गर्दछौं ।’ इन्द्र र राधिकाले संयुक्त रुपमा आभार व्यक्त गरेका छन् ।

