फिफाले पनि लगायो रुसमाथि प्रतिबन्ध
अमेरिका । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुस माथि प्रतिवन्धको घोषणा गरेको छ । फिफाद्वारा आइतवार जारी विज्ञप्तिमा युक्रेन माथिको आक्रमणको निन्दा समेत गरिएको छ ।
‘पहिलो र मुख्य कुरा, युक्रेनमा रुसले गरेको आक्रमणको फिफाले निन्दा गर्न चाहन्छ । हिंसा कहिल्यै समाधान होइन र फिफाले युक्रेनमा के भइरहेको छ त्यसबाट प्रभावित सबै मानिसहरूप्रति आफ्नो गहिरो ऐक्यबद्धता व्यक्त गर्दछ।’ विज्ञप्तिमा भनिएको छ ।
फिफाले शान्ति पुनर्स्थापनाका लागि तुरुन्तै रचनात्मक वार्ता सुरु गर्न आह्वान गरेको छ। फिफाले युक्रेनी फुटबल संघ र युक्रेनी फुटबल समुदायका सदस्यहरूसँग नजिकको सम्पर्कमा रहेको जनाएको छ ।
फिफाले तीन बुद्दामा रुसमाथि प्रतिवन्ध लगाएको छ । ‘रुसको भूमिमा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाइने छैन, “घरेलु” खेलहरू तटस्थ क्षेत्रमा र दर्शकविना खेलाइनेछ। विज्ञप्तीमा भनिएको छ ।
यस्तै रूसको नाममा कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्न पाइने छैन । ‘रुसबाट प्रतिनिधित्व खेलाडीले “रूसको फुटबल संघ’ नाममा प्रतियोगितामा भाग लिनेछ ।
तेस्रो रूसको फुटबल संघका टोलीहरूले भाग लिने खेलहरूमा रूसको झण्डा वा राष्ट्रियगान प्रयोग गरिने छैन । अर्को सूचना नभए सम्म यो प्रतिवन्ध कायम नै रहने पनि फिफाले जनाएको छ ।